Skip This
सुरु भयो ‘नाडा अटो सो २०२३’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:२५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुरु भयो ‘नाडा अटो सो २०२३’

चारपांग्रे, दुईपांग्रे, कमर्सियल भेहिकल, बैंक तथा वित्तीय संस्था, लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जालगायतका एक सय २० स्टल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:२५:oo

देशको अर्थतन्त्र सुधारोन्मुख हुनाले अटोमोबाइलको व्यापार बढ्दै जाने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । मंगलबारदेखि भृकुटीमण्डमा सुरु भएको ‘नाडा अटो सो २०२३’ उद्घाटन गर्दै उनले सुस्ताएको आर्थिक गतिविधि बिस्तारै बढ्दै जाने बताएका हुन् ।

अर्थमन्त्री डा. महतले वर्ष दिनदेखि रोकिएको कित्ताकाट खुला गरिएका कारण घरजग्गा कारोबार पनि अब बढ्ने ठोकुवा गरे । ‘पछिल्लो समय विदेशी विनिमय सञ्चिति बढेको छ, पर्यटक पनि बढ्दै छन्,’ उनले भने, ‘अब आर्थिक गतिविधि बढ्ने ठोस आधार तयार हुन थालिसकेको छ ।’ कोभिड महामारीपछि सुस्ताएको गाडीको व्यापार पनि अब बढ्ने उनको भनाइ थियो । उनले अर्थतन्त्रमा समस्या निम्तिनुमा पैसा खर्च नहुनुलाई पनि प्रमुख कारणका रूपमा लिए । मान्छेसँग पैसा भएर पनि खर्च नगर्दा अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ थियो । उद्यमी–व्यवसायीले पनि आत्मबल बढाएर खर्च गर्न डराउँदा पैसा प्रणालीमा नघुमेर अर्थतन्त्र चलायमान हुन नसकेको उनले बताए ।   

अब देशमा विद्युतीय सवारीसाधनको युग सुरु भएको उनको भनाइ थियो । उनले देशभित्रै सवारीसाधन एसेम्बल सुरु गर्न व्यवसायीलाई सुझाव पनि दिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देश श्रीलंकाजस्तै टाट पल्टिँदै छ भन्ने त्रास देखाएर नीति ल्याइँदा अटो व्यवसाय खुम्चिएको बताए । अटो व्यवसाय खुम्चिँदा राज्यको राजस्वमा समेत असर परेको उनको भनाइ थियो । उच्च ब्याजदरका कारण निजी क्षेत्रले लगानी बढाउन नसकेको बताउँदै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले भने, ‘सरकारले पनि निजी क्षेत्रको मनोबल बढाउन कुनै कदम चाल्न सकेन ।’ देशको नियामक निकायले निजी क्षेत्रलाई खाली दुःख मात्र दिने काम गरेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको गुनासो थियो । 

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सवारीसाधनलाई विलासी वस्तुको सूचीबाट हटाएर अतिआवश्यक वस्तुको सूचीमा राख्न अर्थमन्त्री डा. महतलाई आग्रह गरे । उनले देशमा बिजुली गाडीको प्रवद्र्धन गर्नका लागि इभीमा करको नीति स्थिर बनाउन पनि सुझाव दिए । अर्थमन्त्रीले पनि बिजुली गाडीमा धेरै कर नबढ्ने आश्वासन दिएका छन् । सवारीसाधनमा कर्जाको जोखिमभार घटाएर पुरानै ७५ प्रतिशत कायम गर्न अध्यक्ष थापाले सुझाव दिए ।

मंगलबारदेखि सुरु भएको नाडा अटो सो ३१ भदौसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा थुप्रै ब्रान्डका विद्युतीय कार सार्वजनिक गरिएको छ । अधिकांश अटोमोबाइल कम्पनीले विद्युतीय सवारीसाधन प्रदर्शनीमा राखेको देखिन्छ । विद्युतीय दुईपांग्रे पनि प्रदर्शनीमा राखिएको छ । नाडाका अनुसार अटो सोमा १६ ब्रान्डका चारपांग्रे, २२ ब्रान्डका दुईपांग्रे, सात ब्रान्डका कमर्सियल भेहिकल, नौवटा बैंक तथा वित्तीय संस्था र ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जालगायतका एक सय २० स्टल छन् । प्रदर्शनीमा करिब २० अर्ब रुपैयाँको कारोबार हुने नाडाको अनुमान छ ।