१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Sunday, 11 May, 2025
रासस मस्को
२o८o भदौ २६ मंगलबार १२:२५:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

उत्तर कोरियाली नेता रुसमा

Read Time : > 1 मिनेट
रासस, मस्को
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार १२:२५:oo

उत्तर कोरियाली नेता किम जोङ उन सवार रेल रुसी भूमिमा प्रवेश गरेको रुसी राज्य समाचार समिति रिया नोवोस्तीले जनाएको छ।

नेता किम चढेको रेल उत्तर कोरियाबाट प्रिमोर्स्की क्षेत्रमा प्रवेश गरेको तस्बिर पनि रिया नाेवोस्तीले सार्वजनिक गरेको छ। दक्षिण कोरियाली रक्षा मन्त्रालयले भने सोमबार नै नेता किम चढेको रेल रुसी भूमिमा प्रवेश गरेको विश्वास आफूलाई भएको बताएको थियो।

रुसी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाली नेता किमले यसै साताको अन्त्यमा आफ्ना समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। चार वर्षपछि उनले गरेको पहिलो विदेश भ्रमण हो यो। 

रातभर यात्रा गरेर नेता किम भ्लादिभोस्तोक पुग्न लागेका छन्। सशस्त्र फौजका साथ उनी यात्रामा छन्। उनका साथ वरिष्ठ सैनिक अधिकारी पनि छन्। द्विपक्षीय सैन्य सम्बन्ध तथा हातहतियार आपूर्तिका सम्बन्धमा छलफल गर्न उनीहरूलाई पनि भ्रमण दलमा समावेश गरिएको बताइएको छ। राष्ट्रपति पुटिन हाल वार्षिक आर्थिक मञ्चमा भाग लिने सिलसिलामा भ्लादिभोस्तोकमा छन्।

प्रतिरक्षा विश्लेषकहरूका अनुसार मस्कोले उत्तर कोरियाबाट हातहतियार र एन्टिट्यांक मिसाइलहरू लिएर रुसबाट उपग्रह र आणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बी प्रविधि चाहेको छ। यद्यपि, क्रेमलिनले वैश्विक एवं क्षेत्रीय मामिलामा दुई देशका नेताले वार्ता गर्ने बताएको छ। पश्चिमा प्रतिबन्धबाट पिरोलिएको प्योङयाङले मस्कोसँग खाद्यान्नलगायत अन्य मानवीय सहायताका निम्ति अनुरोध गर्ने बताइएको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सञ्चारमाध्यमलाई दुई नेताले ‘संवेदनशील’ विषयमा छलफल गर्ने बताएका छन्। ‘छिमेकीका रूपमा यो स्पष्ट छ,  हाम्रा देशबीच संवेदनशील क्षेत्रमा सहयोग हुन्छ जुन सार्वजनिक खपतको विषय हुनुहुँदैन। छिमेकी देशका लागि सामान्य हो,’ उनले भनेका छन्।

दुवै नेताबीचको वार्तामा अमेरिकी चेतावनीको बेवास्ता हुने प्रवक्ता पेस्कोभले पत्रकारहरूलाई बताए। ‘उत्तर कोरियालगायत हाम्रा छिमेकीसँग हामीले विकास गर्ने सम्बन्धसँग वासिंगटनको चेतावनीको कुनै अर्थ छैन। दुई देशको हितमा त्यो केन्द्रित हुनेछ,’ वासिंगटनले युक्रेन द्वन्द्वका लागि उत्तर कोरियाले मस्कोलाई हतियार उपलब्ध गराएमा प्योङयाङले त्यसको मूल्य चुकाउनुपर्ने अमेरिकी चेतावनीबारे जिज्ञासको जवाफमा उनले स्पष्ट गरे।