१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २४ आइतबार
  • Sunday, 11 May, 2025
श्रवण थापा सर्लाही
२o८o भदौ २४ आइतबार १९:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मलंगवामा सर्वपक्षीय सद्भाव र्‍याली

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८o भदौ २४ आइतबार १९:o८:oo

सर्लाहीको मलंगवामा दुई फरक समुदायबीच भएको विवाद समाधानको लागि सद्भाव र्‍याली निकालिएको छ।

गत शुक्रबार राति कृष्णाष्टमी पूजाको मूर्ति सेलाएर फर्कने क्रममा मलंगवा नगरपालिका–३ स्थित नगरपालिका चोकमा दुई समुदायमा युवाबीच झडपको अवस्था सिर्जना भएको थियो। विवादपछि नगरपालिका क्षेत्र शनिबार दिनभरि तनावग्रस्त बनेको थियो।

दुई समूह हिन्दु र मुस्लिम युवा एक अर्काविरुद्ध झडपमा उत्रिएका थिए। दिनभर हिन्दु मन्दिर तथा मुस्लिम मदरसाहरूमा समेत उत्तेजक भिडले नाराबाजी गर्दै तोडफोड गरेका थिए। सोही क्रममा दुवै समूहले व्यक्तिगत तथा सार्वजनिक सम्पतिमा समेत क्षति पुर्‍याएका प्रहरीले जनाएको छ।

आक्रोशित समूहले नगरपालिकाअन्तर्गत ठाउँ-ठाउँमा टायर बाल्ने तथा फरक समुदायको घरहरूमा समेत ढुंगामुडा गरेका जिल्ला प्रहरीका डिएसपी दीपेन्द्र पंजियारले जानकारी दिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले शनिबार १ राउन्ड हवाई फायर गर्नुका साथै १६ सेल बढी अश्रुग्यास प्रहार गरेको थियो।

आन्दोलित समूह प्रहरीमाथि नै खनिन थालेको भन्दै जिल्ला सुरक्षा समितिले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु जारी गरेको थियो। अवस्था सामान्य बन्दै गएपछि जिल्ला सुरक्षा समितिले मलंगवा नगर क्षेत्रमा आइतबार बिहान ८ बजेबाट २७ गते रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

सो अवधिमा नगर क्षेत्रमा कुनै पनि किसिमको सामाजिक सद्भावमा खलल पुग्ने कार्य गर्न, पर्चा पम्प्लेट टाँस्न, माइकिङ गर्न, समूहमा भेला हुन निषेध गरिएको छ।

निषेधाज्ञाबीच आइतबार बिहानैदेखि फेरि जिल्लाका विभिन्न स्थानमा आन्दोलनका कार्यक्रम सुरु भएका थिए। आन्दोलनरत पक्षले प्रहार गरेको ढुंगा लागेर प्रहरीको सवारीमा समेत क्षति पुगेको छ। घटना थप उग्र बन्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयस्थित जिल्ला सुरक्षा समितिले सर्वपक्षीय बैठक गरेको हो। छलफलबाट जनजीवन सामान्य बनाउन दुईबुँदे सहमति गर्‍यो।

जिल्ला सुरक्षा समितिका प्रमुखसमेत रहेका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको अध्यक्षतामा सम्पन्न बैठकको निर्णयअनुसार सर्वपक्षीय सद्भाव र्‍याली निकालिएको हो।

बैठकले सबै समुदायका अगुवाहरूले आ–आफ्ना समुदायलाई संयमता अपनाउन आग्रह गर्ने, अटेर गरी सामाजिक सद्भाव बिगार्ने आपराधिक कार्य गर्नेलाई कारबाहीको लागि सबै पक्षले पहल गर्ने निर्णयसमेत भएको छ।

बैठकले भाद्र २२ र २३ गते भएको घटनाको व्यवस्थापन सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गर्ने र समितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यलयमा प्रतिवेदन पेस गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउनेसमेत सहमति भएको छ।