
माछा मार्ने क्रममा शुक्रबार बिहान स्याङ्जामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।
बिहान २ बजे वालिङ नगरपालिका– ६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पवलसिंह लामाले बताए। प्रहरीले माछा मार्न गएका अन्य चारजनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा वालिङ– ६ थापाडाँडा बस्ने ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नगरपालिका– १० बस्ने ३७ वर्षका दीपेन्द्र अधिकारी, पर्वतको पैँयु गाउँपालिका घर भई हाल वालिङ– ६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षीय अनिल चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका– ६ घर भई सोही ब्लक उद्योगमा काम गर्ने ६० वर्षीय बलदेव राना रहेका छन्।
प्रहरीले माछा मार्न प्रयोग हुने तार, रड र बाँसका भाटा नियन्त्रणमा लिएको छ। शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा राखिएको छ।