
मन्थली नगरपालिका– ५ सुनारपानीको साखापानीमा माटोको ढिस्को झरेर पुर्दा तीनजना घाइते भएका छन्। बिहीबार दिउँसो दसैँको लागि घर पोत्न कमेरो माटो जोहो गर्न गएका उनीहरूलाई माटोको ढिस्को झरेर पुरेको हो।
खन्दै गरेको माटोको ढिस्को झर्दा सुनारपानीका करिब ७० वर्षीय कृष्णबहादुर सार्की, ३० वर्षीय कृष्णबहादुर बसेल र ५५ वर्षका आइते सार्की घाइते भएका छन्।
माटो खन्दै गर्दा ढिस्को झरेर पुरेको देखेपछि स्थानीयहरूले तत्काल घटनास्थलबाट उद्धार गरेर उनीहरूलाई उपचारको लागि मन्थली अस्पताल पुर्याएका मन्थली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नविक कार्कीले जानकारी दिए।
अहिले उनीहरू तीनैजना खतरामुक्त रहेको मन्थली अस्पतालका डा. केशव धामीले जानकारी दिए। रामेछापमा वर्षेनी चाडबाडको वेला यस्ता घटनाहरू हुने गरेका छन्।