
ओखलढुंगाको भुसुने जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको अविरल वर्षाका कारण जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका– ४ स्थित भुसुनेको जंगलमा शुक्रबार बिहान ६:३० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण करिब २५ मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।
पहिरोले सडक अवरुद्ध भएको क्षेत्रमा अस्थायी प्रहरी पोस्ट केतुकेबाट प्रहरी टोली खटिएको र अवरुद्ध सडक खुलाउनेबारे स्थानीय निकायसँग आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि ओखलढुंगा र सोलुखुम्बुबाट राजधानी काठमाडौं र तराईका जिल्लाका लागि छुटेका सयौँ सवारी ओखलढुंगाको मिलनचोक रमाइलोडाँडा क्षेत्रमै रोकिएका छन् । निरन्तरकोे वर्षाका कारण जिल्लाभरका ग्रामीण सडकमा पहिरोको जोखिम बढेको छ । अधिकांश सडक अवरुद्ध छन् ।