
हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक पहिरोले अवरुद्ध भएको छ। सडकको लमजुङ खण्डमा पर्ने घोप्टेभिर, रामबजार र च्याम्चेमा पहिरो खस्दा बिहीबार बिहान साढे ५ बजेबाट सडक अवरुद्ध भएको हो।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर पुरुषोत्तम अधिकारीले बिहान साढे ५ बजेबाट सडक अवरुद्ध भएको बताए। उनका अनुसार पहिरो सफा गर्न बिहानबाटै मेसिन परिचालन भएको र बिहान ८ बजेसम्ममा बाटो सञ्चालन हुनेछ।
यता, बेँसीसहर नगरपालिका– ६ खरखरे भिरमा ठूलो पहिरो गएकाले पहिरो खुलाउन भने समय लाग्नेछ । वर्षायाममा दैनिकजसो पानी पर्दा सडकका विभिन्न ठाउँमा झरिरहने पहिरोले बेँसीसहरदेखि खुदीसम्मको यात्रा झनै जोखिम र कष्टपूर्ण बन्ने गरेको छ।
बर्सेनि पहिरोले पटकपटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन्। विशेषगरी बेँसीसहर हुँदै विभिन्न स्थानमा जाने मनाङ र मर्स्याङ्दी गाउँपालिकाका बासिन्दा यो सडक बन्द हुँदा समस्यामा पर्ने गरेका छन्।