
निरन्तर ढुंगा खस्न थालेपछि पहिरो पन्छाउन सकस
संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्ग मुग्लिन–नारायणगढ सडक भीषण पहिरोका कारण अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६, नाम्सी पुलनजिकै सोमबार राति सवा ८ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । राति अबेरसम्म ढुंगा झर्दा सडक डिभिजन भरतपुरले पहिरो पन्छाउन सकेको छैन ।
सडक डिभिजनका इन्जिनियर सागर कार्की क्षेत्रीले भने, ‘एउटा–एउटा एक्स्काभेटर र जेसिभीसँगै दुईवटा रोडर पहिरो पन्छाउन लगिएको छ । तर, ढुंगा खसिरहेकाले पन्छाउन सकिएको छैन ।’
जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार मंगलबार दिउँसो मात्र पहिरो हटाउन असम्भव छ । ‘एकदमै ठुलो पहिरो छ, ढुंगा खस्ने क्रम रोकिएको छैन । ज्यान जोखीममा राखेर रातिमा कसरी काम गर्ने ?मंगलबार पनि दिनभर नै लाग्छ होला । ’
सडकमा पहिरो खसेपछि काठमाडौंबाट छुटेका र काठमाडौंका लागि आउँदै गरेका सवारीसाधान बीचबाटोमै अलपत्र परेका छन् । सवारीसाधनलगायत यात्रुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको एसपी कार्कीले बताए । यो सडकमा यात्रुवाहक र मालवाहक गरेर दैनिक ११ हजार सवारीसाधन गुडछन् ।