
हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक पहिरोले अवरुद्ध भएको छ।
सडकको लमजुङ खण्डमा पर्ने बेँसीसहर नगरपालिका– ६ खरखरे र मर्स्याङ्दी गाउँपालिका– ४ च्याम्चेमा पहिरो खस्दा सोमबार बिहानदेखि सडक अवरुद्ध भएको हो। डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर पुरुषोत्तम अधिकारीले रातभर पानी परेकाले पहिरो सडकमा खसेपछि सडक अवरुद्ध भएको बताए।
उनका अनुसार पहिरो खुलाउन सडक विभागको मेसिनहरू तयारी अवस्थामा राखिएको छ। वर्षायाममा दैनिकजसो पानी पर्दा चण्डीस्थानको अक्करखोला, उत्तीसघारी र चिसापानीवरपर झरिरहने पहिरोले बेँसीसहरदेखि खुदीसम्मको यात्रा झनै जोखिम र कष्टपूर्ण बन्ने गरेको छ।
बर्सेनि पहिरोले पटकपटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन्। विशेषगरी बेँसीसहर हुँदै विभिन्न स्थानमा जाने मनाङ र मर्स्याङ्दी गाउँपालिकाका बासिन्दा यो सडक बन्द हुँदा समस्यामा पर्ने गरेका छन्।