मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३० मंगलबार
  • Thursday, 19 December, 2024
२o८o श्रावण ३० मंगलबार ११:o९:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पाल्पामा १० वर्षमा ७२७ ले गरे आत्महत्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ३० मंगलबार ११:o९:oo

देशैभर पछिल्लो समय आत्महत्याको दर बढ्दै गएको छ । पाल्पामा पछिल्लो दश वर्षको तथ्यांक अध्ययन गर्दा आत्महत्याको दर डरलाग्दो रूपमा बढेको पाइएको छ । १० वर्षमा यहाँ सात सय २७ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष ०७०/७१ मा पाल्पामा आत्महत्या गर्नेको संख्या ५४ थियो ।

०७१/७२ मा ५५ पुग्यो भने एक वर्षपछि नै आव ०७२/३ मा २० बढेर ७५ पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ । 
आव ०७३/७४ र ०७४/७५ मा आत्महत्या गर्नेको संख्या समान ६७–६७ रहेको थियो । यस्तै, आव ०७५/७६ मा आत्महत्या गर्नेको संख्या बढेर ९० पुगेको थियो । जुन १० वर्षको तथ्यांकमा सबैभन्दा बढी हो । यसैगरी आव ०७६/७७ मा ८३, आव ०७७/७८ मा ७६, आव ०७८/७९ मा ७५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । यस आर्थिक वर्षमा पनि आत्महत्या गर्नेको अनुपात घटेको छैन । जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्यांकअनुसार असार ३१ सम्ममा ८५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गरेका सात सय २७ मध्ये ६ सय १९ जनाले झुन्डिएर प्राण त्याग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी हेरम्ब शर्मा कट्टेलका अनुसार आव ०७९÷८० मा आत्महत्या न्यूनीकरणको अभियानस्वरूप सचेतनाका लागि ३५ वटा कार्यक्रम गरिएको छ । मानिसलाई समुदायमा भेला गरेर जीवनको महत्व बुझाउँदै प्रहरीले व्यावहारिक ज्ञान बाँड्ने गरेको एसपी कट्टेलले बताए ।

धेरै मानिसले स्वास्थ्यका कारण, एक्लोपनाको कारण, आवेशमा आएर र आर्थिक अभावले आत्महत्या गर्ने गरेको पाइएको उनको भनाइ छ । यस वर्ष प्रहरीले आत्महत्या न्यूनीकरणका लागि विशेष कार्य गर्ने योजना रहेको एसपी कट्टेलले बताए । उनले आफूहरूसँग आर्थिक स्रोतको अभाव हुने भएकाले स्थानीय सरकारसँग समन्वय गरेर समुदाय, विद्यालय र समूहमा सचेतनाको काम गर्ने योजना रहेको बताए । स्थानीय तहले कुनै न कुनै उपायको खोजी गरी आत्महत्या न्यूनीकरणका विषयमा काम गर्नुपर्ने उनको सुझाव छ ।

स्थानीय सरकारको बेवास्ता
सरकार अभिभावक हो भने आफ्ना नागरिकको जीवन बचाउने प्रयत्न गर्नु उसको पहिलो जिम्मेवारी हो । तर, स्थानीय सरकारले आत्महत्या रोकथामको विषयमा खासै सोच्ने फुर्सद पाएका छैनन् । रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले आत्महत्या न्यूनीकरणका लागि ठोस कदम चाल्न नसकेको र यसबारे आगामी आर्थिक वर्षमा काम गरिने बताए ।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले आत्महत्या न्यूनीकरणको विषय महत्वपूर्ण भए पनि ध्यान दिन नसकिएको, तर यस वर्ष काम गर्ने प्रतिबद्धता जनाए । उनले आर्थिक अभाव, बेमेल र ठूला महत्वकांक्षाले बढी आत्महत्या हुने गरेको औँल्याए ।

माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले आत्महत्या न्यूनीकरणका लागि सकारात्मक सोचको विकास गराउनु महत्वपूर्ण कुरा भएको बताउँदै यो वर्ष विद्यालय, आमा समूह र युवा क्लबलाई लक्षित गरेर सचेतना अभियान चलाइने बताए । माथागढीले पनि अहिलेसम्म ठोस काम गरेको छैन । बगनासकाली गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत आत्महत्याका सवालमा केही कार्यक्रम गरेको अध्यक्ष सरस्वती चिदी दर्लामीको भनाइ छ ।

प्रहरीसँगको समन्वयमा समेत केही सचेतनामूलक काम भएको भन्दै अध्यक्ष दर्लामीले यो वर्ष योजना बनाएर लाग्ने बताइन् । रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले मनोपरामर्श दाताबाट यस वर्ष विभिन्न समुदायमा सचेतनाको काम गर्ने योजना रहेको बताए । रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले चेतनाको कमी र बेरोजगारीले आत्महत्या बढेको बताउँदै यसको न्यूनीकरणका लागि मानिसहरूलाई व्यस्त बनाउनुपर्नेमा जोड दिए ।