Skip This
नेपालमा फैलँदै चिनियाँको अपराध सञ्जाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख २८ शुक्रबार o६:१३:oo
Read Time : > 6 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालमा फैलँदै चिनियाँको अपराध सञ्जाल

Read Time : > 6 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o६:१३:oo

सुन तस्करी, कल बाइपास, मानव तस्करी, अनलाइन ठगीदेखि विदेशी मुद्राको अवैध कारोबारलगायतका अपराधमा चिनियाँ नागरिकको संगठित सञ्जाल नेपालमा बढ्दै गएको छ, जसले देशको अर्थतन्त्र मात्र होइन, राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिएको छ 

करिब एक क्विन्टल सुन तस्करीमा संलग्न चिनियाँ गिरोह महिनौँदेखि काठमाडौंमा थियो । तस्करीको सुन लुकाउने, गाल्ने र त्यसलाई नयाँ सामानमा प्याकिङ गरेर ओसारपसार गर्न उनीहरूले बालुवाटार, लाजिम्पाट, नयाँबजार, टोखालगायतका ठाउँमा सञ्चालन गरेका अखडाबारे सुरक्षा निकायसहित सिंगो राज्यसंयन्त्र नै बेखबर थियो । पर्यटक तथा बिजनेस भिसामा लामो समयदेखि नेपालमा बस्दै आएका दर्जनौँ चिनियाँ यस्तो अपराधमा संलग्न रहेको तीन साता लामो राजस्व अनुसन्धान विभाग तथा प्रहरी अनुसन्धानको निष्कर्ष छ । 

सुन तस्करीमा एक चिनियाँ र चिनियाँ मूलका अन्य दुई विदेशी नागरिक पक्राउ परिसकेका छन् । अन्य नौ चिनियाँको पहिचान भएको छ । भन्सारका कर्मचारीदेखि राजनीतिक दलसम्म सम्बन्ध बनाएका उनीहरूले नेपाललाई कसरी अपराधको ट्रान्जिट बनाउँदै आएका छन् भन्ने यो घटनाले थप उजागर गरेको छ । 

सुन तस्करी मात्र होइन, कल बाइपास, मानव तस्करी, अनलाइन ठगीदेखि विदेशी मुद्राको अवैध कारोबारजस्ता गम्भीर अपराधमा समेत चिनियाँ नागरिक नेपालमा बारम्बार पक्राउ पर्दै आएका छन् । पछिल्लो दुई महिनाको घटना विवरण हेर्दा पनि नेपालमा उनीहरूको फैलँदो आपराधिक सञ्जालको तस्बिर प्रस्ट देखिन्छ । 

गत १६ साउनमा एक लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक होङ होङ पक्राउ परेका थिए । एयर चाइनाको विमानबाट चीन जाने क्रममा विमानस्थलको प्रहरी चेकिङमा उनी पक्राउ परे । बरामद रकमको उनले स्रोत खुलाउन सकेका छैनन् । आपराधिक गतिविधिको रकम उनले लैजाने प्रयास गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

गत २७ असारमा चिनियाँ नागरिक जोनसोन उपनाम भएका लियाङ जुन पक्राउ परे । उनले नेपाली युवालाई थाइल्यान्डमा रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याई बन्धक बनाएका थिए । सयौँ नेपाली युवालाई चिनियाँ गिरोहले म्यानमारमा बन्धक बनाई अनलाइन ठगीका काममा लगाउँदै आएको मानव बेचबिखन ब्युरोका एसएसपी जीवनकुमार श्रेष्ठले बताए । गत वर्ष पनि ब्युरोले यस्तो अपराधमा संलग्न दुई चिनियाँलाई पक्राउ गरेकामा उनीहरू हाल कारागारमा छन् । 

गत २३ जेठमा चिनियाँ गिरोहको अर्काे अपराध बाहिर आयो । जाओ झिङपिङले नेपालमा कल तथा एसएमएस बाइपासको धन्दा चलाउँदै आएका थिए । सिआइबीले पक्राउ गरेपछि उनी अहिले जेलमा छन् । उनलाई सहयोग गर्ने चिनियाँ नागरिक लि जेन र यु लान पनि पक्राउ परे, तर धरौटीमा रिहा भए । चिनियाँलाई सघाउने अन्य ११ नेपालीलाई समेत सिआइबीले मुद्दा चलाएको थियो । 

गत २१ जेठमा पनि अर्का एक चिनियाँलाई पक्राउ गरिएपछि उनको नेपालमा करोडौँको अवैध कारोबार खुल्यो । मलेसिया जान लागेका फेङ चाङवेन विमानस्थलमा पक्राउ परेका थिए । उनीबाट नौ लाख नेपाली, ४० लाख ५० हजार कम्बोडियन रियललगायत विभिन्न देशका मुद्रा बरामद भएको थियो । थप अनुसन्धानको क्रममा सिटिजन बैंकमा रहेको उनको खातामा करोडौँ रकमसमेत भेटिएपछि राजस्व अनुसन्धान विभागले त्यसमाथि थप अनुसन्धान गरिरहेको छ । विदेशी मुद्रा तथा हुन्डीको कारोबारमा उनीहरू संलग्न छन् । 

एक वर्षमा ४२ चिनियाँ पक्राउ 
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा मात्र नेपालमा ४२ चिनियाँ पक्राउ परेका छन् । जब कि यो वर्ष विभिन्न अपराधमा पक्राउ पर्ने कुल विदेशी (भारतीयबाहेक)को संख्या एक सय ३१ थियो । 

चिनियाँ नागरिक सबैभन्दा धेरै ठगीमा नौजना पक्राउ परेका छन् । त्यस्तै, अवैध औषधिको कारोबारमा आठ, संगठित अपराधमा पाँच, अभद्र व्यवहारमा पाँच, कल बाइपासमा तीन, अवैध मुद्रा कारोबारमा दुईजना पक्राउ परेका छन् । जबर्जस्ती करणी, चोरी, वन अपराध, बैंकिङ कसुरमा पनि चिनियाँ नागरिकको संलग्नता देखिएको छ । 

पक्राउ पर्ने विदेशीको संख्या केलाउँदा नेपालमा विभिन्न किसिमका अपराधमा चिनियाँको सक्रियता बढेको देखिएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । यसकै आधारमा चिनियाँ नागरिकमाथि निगरानी बढाइएको उनको भनाइ छ । आर्थिक वर्ष ०७८/७९ मा १३ तथा ०७७/७८ मा १६ चिनियाँ नेपालमा पक्राउ परेको प्रहरीको तथ्यांक छ ।

अध्यागमनसम्बन्धी कसुरमा कारबाही पर्नेमा पनि धेरै चिनियाँ नै छन् । पर्यटक भिसामा नेपालमा आएर लामो समयसम्म उनीहरू बस्ने गरेका छन् । पर्यटकका रूपमा एक वर्षमा पाँच महिनाभन्दा धेरै बस्न पाइँदैन । तर, धेरै चिनियाँ पर्यटक भिसाका रूपमा पाँच महिनाभन्दा लामो समय बस्छन् । पर्यटकको आवरणमा उनीहरू लामो समय बसेर अवैध गतिविधिमा सक्रिय हुने गरेका छन् । 

विदेशी नागरिकमाथि नियमन र कारबाहीको सरकारी प्रणाली कमजोर हुँदा चिनियाँहरूले त्यसको फाइदा उठाएका हुन् । अध्यागमन विभागका निर्देशक खिललाल भुसालले विदेशीमाथि अनुगमनका लागि पर्याप्त स्रोत र जनशक्ति नभएको बताए । यसलाई प्रभावकारी बनाउने तयारी भइरहेको उनको भनाइ छ । 

एटिएम ठगीदेखि मानव तस्करीसम्ममा पनि संलग्न
अवैध कल सेन्टर चलाएर ठगी गर्ने नौ चिनियाँसहित १९ जनालाई प्रहरीले गत १३ चैतमा काठमाडौंबाट पक्राउ गरेको थियो । अनलाइन व्यापारमा उच्च प्रतिफलको प्रलोभनमा उनीहरूले धेरै नेपालीलाई ठगी गरेका थिए । नेपालीको खाता प्रयोग गरी सो समूहले ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको छानबिनमा खुलेको थियो । 

गत फागुनमा बालयौन दुव्र्यवहारको आरोपमा याङ ली मिङलाई सिआइबीले पक्राउ गर्‍यो । बिजेनस भिसामा नेपालमा बस्दै आएका उनले सामाजिक सञ्जालमार्फत बालबालिकासँग नजिकिएर दुव्र्यवहार गर्दै आएका थिए । 

विद्युतीय चुरोटभित्र लुकाएरसमेत चिनियाँले सुन तस्करी गरेको घटनाको सिआइबीले यतिवेला अनुसन्धान गरिरहेको छ । विमानस्थलस्थित भन्सार कार्यालयबाट विद्युतीय चुरोटभित्र रहेको सुन चोरी भएपछि यसको रहस्य खुलेको थियो । सुन चोरी गर्नेलाई प्रहरीले पक्राउ गरे पनि तस्करहरू अझै समातिएका छैनन् । सुन ल्याउने चिनियाँ भोलिपल्टै फर्किएका थिए । उनको राजनीतिक नेतृत्वसँग पनि सम्पर्क देखिएको छ । 

०७९ को वैशाखमा अध्यागमन विभागले २२ जना चिनियाँलाई पक्राउ गरेको थियो । अध्यागमनले उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाएकोमा प्रहरीले दबाबको भरमा उनीहरूलाई कारबाही नगरी छाडिदिएको थियो । अवैध कल सेन्टरबाट आपराधिक सञ्जाल चलाएको सूचनाका आधारमा पक्राउ परेपछि कारबाहीविना नै तत्कालै छुट्नुले उनीहरूको पहुँच प्रस्ट हुन्छ । 

७ पुस ०७६ मा प्रहरीले चिनियाँ आपराधिक अखडामा छापा हानी एक सय २२ जनालाई एकैपटक पक्राउ गरेको थियो । उनीहरूलाई नेपालमा कारबाही नगरी प्लेन चार्टर गरी चीन लगिएको थियो । चीन सरकारकै आग्रहमा सो अप्रेसन भएको थियो । उनीहरूले चिनियाँ नागरिकलाई नै ठगी गर्दै आएकाले त्यसमा चीनले चासो देखाएको थियो । सुन तस्करीलगायत अन्य संगठित अपराधमा भने चीनले चासो दिएको छैन । गत वर्ष जेठमा चार चिनियाँ नागरिक तीन करोड ८९ लाख रुपैयाँसहित नागढुंगामा पक्राउ परेका थिए । त्यो रकम सुन तस्करीबापतकै कारोबार भएको आशंका गरिएको छ । 

०७८ को असारमा बाघको छालासहित ठमेलबाट चिनियाँ नागरिक समातिएका थिए । ठमेलमा होटेल चलाउने सो चिनियाँ समूहले अवैध जुवादेखि डलर तस्करीसम्मका काम गर्दै आएको खुलेको थियो । विगतमा एटिएम ह्याकिङमा पटक–पटक चिनियाँ पक्राउ परेका थिए । त्यस्तै, अवैध डलर लैजान खोज्ने क्रममा पनि पक्राउ पर्दै आएका छन् । नेपालमा महँगो दरमा डलर साटेर चीन लैजाने गरेको घटना विगतमा देखिएका छन् । वन्यजन्तुसम्बन्धी अपराधमा पनि विगतमा धेरै चिनियाँ नेपालमा पक्राउ परेको प्रहरी प्रवक्ता डिआइजी कडायत बताउँछन् । 

मानव तस्करीमा पनि उनीहरू पटक–पटक पक्राउ परेका छन् । विवाहको आवरणमा नेपाली युवतीलाई चीन तस्करी गरेको घटनामा विगतमा चिनियाँ पक्राउ परेकामा पछिल्लो समय म्यानमार तथा लाओस तस्करीमा चिनियाँहरू सक्रिय देखिएका छन् । नेपाल बस्न मात्र उनीहरूले बिजनेस भिसा लिएको र व्यापारको आवरणमा आपराधिक सञ्जाल चलाउँदै आएको देखिन्छ । नेपालमा अवैध अस्पताल चलाएर पनि ठगी गरेको घटनामा विगतमा चिनियाँमाथि कारबाही भएको छ । ०७४ को फागुनमा सिआइबीले यस्ता १३ चिनियाँ चिकित्सकलाई पक्राउ गरी कारबाही गरेको थियो । 

सुन तस्करीमा पनि दर्जनौँ चिनियाँ नेपालमा पक्राउ परेका छन् । विमानस्थलबाट मात्र होइन, सडकमार्ग हुँदै सुन तस्करी गर्ने क्रममा पनि चिनियाँ प्रक्राउ परेको प्रहरीको तथ्यांक छ । सुरुमा तातोपानी नाका र पछि रसुवा नाकाबाट चिनियाँले सुन ल्याउँदै आएका थिए । ०७४ मा बरामद भएको ८८ किलो सुनका नाइके पनि ठमेलमा होटेल चलाउने चिनियाँ नागरिक भएको खुलेको थियो । सुन बरामद भएलगत्तै उनीहरू भागेका थिए । 

विदेशीमाथि नियमन र कारबाही गर्ने जिम्मेवारी अध्यागमन विभागको हो । तर, विभागले पर्यटक भिसामा मात्र होइन, बिजनेस भिसामा बस्दै आएका विदेशीलाई समेत निगरानी गर्न सकेको छैन । विभागको पछिल्लो तथ्यांकअनुसार बिजनेस भिसामा मात्र हाल तीन सय २९ जना चिनियाँ नेपालमा छन् । भिसाकै लागि सानो व्यापार गर्ने र त्यसको आवरणमा अन्य अपराधमा संलग्न हुने गरेका छन् । नेपालमै बस्न कतिपयले नेपाली महिलासँग बिहे गरेर म्यारिज भिसा लिएका छन् । 

पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीले नेपालमा लामो समयदेखि चिनियाँ आपराधिक गतिविधिमा संलग्न हुँदै आएको बताए । ‘कुनै समय पाकिस्तानीले नेपाललाई यस्तो अखडा बनाएका थिए, अहिले त्यो क्रम रोकिएको छ,’ उनले भने, ‘हाम्रो राज्यसंयन्त्रको कमजोरीको फाइदा उठाउँदै उनीहरूले नेपाललाई अखडा बनाएका हुन् ।’ विमानस्थलको सुरक्षा चुस्त बनाउने र विदेशी नागरिकमाथि अनुगमनको संयन्त्र बनाउन जरुरी रहेको उनी बताउँछन् । 

चिनियाँले आपराधिक कारोबारको रकम हुन्डीबाट तथा नेपालमा अवैध रूपमा डलर साटेर लैजाने पनि गरेका छन् । यसले नेपालको वैदेशिक मुद्रा सञ्चितिमा पनि धक्का लाग्दै आएको छ । सय केजी सुन तस्करी गर्ने समूह हुन्डी, अवैध विदेशी मुद्रासम्बन्धी अपराधमा पनि संलग्न देखिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना बताउँछन् । जसकारण अन्तर्देशीय अपराध रोक्न नेपाल सरकारले नै चीन सरकारसँग संवाद गर्न ढिला भइसकेको उच्च प्रहरी अधिकारी बताउँछन् । 

राजधानीका सुरक्षा संवेदनशील ठाउँमै चिनियाँ तस्करका अखडा 

चिनियाँ गिरोहले काठमाडौंमा सुरक्षा दृष्टिकोणले संवेदनशील ठाउँका घरहरू भाडामा लिएर संगठित रूपमा सुन तस्करी, हुन्डीलगायत अपराधको सञ्जाल चलाउँदा पनि सुरक्षा निकायले सुइँकोसमेत पाएन । यसबाट राज्यको सूचना संयन्त्रको नाजुक अवस्था उजागर भएको छ । गत ३ साउनमा तस्करीको करिब क्विन्टल सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागले बालुवाटार, लाजिम्पाट, ठमेल, नयाँबजार, पानीपोखरी, कपुरधारा, धुम्बाराही, टोखालगायत स्थानमा चिनियाँ गिरोहका यस्ता अखडा फेला पारेको छ ।

पक्राउ परेकामध्ये गिरोहको उच्च तहमा आबद्ध दावा छिरिङ ठमेलमा भियना होटेल चलाउँथे भने कपुरधारामा बंगला भाडामा लिएर बस्दै आएका थिए । सामान्य होटेल चलाउने उनको जीवनशैली अर्बपति व्यापारीको जस्तो भएको उनको घरमा छापा हान्न गएका राजस्व अनुसन्धान विभागका एक अधिकारी बताउँछन् ।

त्यस्तै, तस्करी गिरोहमै आबद्ध थुप्तेन छिरिङ पानीपोखरीस्थित कम्फर्ट हाउजिङको अपार्टमेन्टमा मासिक ६० हजार भाडा तिरेर बस्दै आएका थिए । उनको अपार्टमेन्टमा पनि अनुसन्धान अधिकारीले छापा हानेका छन् । चिनियाँ गिरोहका नाइकेहरू लाजिम्पाटमा एक घर भाडामा लिएर बस्दै आएका थिए । त्यहीँ बस्दै आएका चिनियाँ जिक्विङ लिन पक्राउ परिसकेका छन् ।  

त्यस्तै, एक चिनियाँले धुम्बाराहीस्थित ग्रिनहिल सिटी हाउजिङभित्रको घर भाडामा लिएका थिए । मासिक डेढ लाख भाडा तिरेर उनी त्यहाँ बस्दै आएको अनुसन्धानमा खुलेको छ । गिरोहले टोखामा लिएको घरमा त तस्करीको सुन लुकाउने, गाल्ने र पुनः प्याक गरी बाँडफाँट गर्नेसम्मका काम गरिन्थ्यो । त्यहाँ सुन गाल्नेदेखि प्याकिङ गर्ने मेसिनसमेत जडान गरिएका थिए ।

त्यस्तै, बालुवाटार र नयाँबजारमा पनि उनीहरूको सुन लुकाउने गोदाम फेला परिसकेको छ । नेपाल प्रहरीका पूर्वएआइजी बमबहादुर भण्डारीले चिनियाँहरूको गतिविधिले देशको इन्टेलिजेन्स निकाय थप सक्रिय हुनुपर्ने देखाएको बताए । ‘नेपालमा बस्दै आएका विदेशीहरूमाथि निगरानी गर्ने र सबै सुरक्षा निकायबाट आउने सूचनालाई नियमित विश्लेषण गर्नुपर्ने जरुरी छ,’ उनले भने, ‘राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरीलगायत सबैले यसमा ध्यान दिनु जरुरी छ ।’ 

ad
ad