मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २५ बिहीबार
  • Thursday, 19 December, 2024
२o८o श्रावण २५ बिहीबार १७:४४:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

रोल्पाका स्थानीय तहलाई विपत् सूचना प्रणालीसम्बन्धी तालिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २५ बिहीबार १७:४४:oo

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रोल्पाका स्थानीय तहमा कार्यरत सूचनाप्रविधि अधिकृत र विपत् सम्पर्क व्यक्तिलाई तालिम दिएको छ।

रोल्पा सदरमुकाम लिबाङमा तीन दिनसम्म सञ्चालित तालिममा राष्ट्रिय विपत् सूचना प्रणाली स्थानीयकरणसम्बन्धी जानकारी दिइएको थियो। प्रशिक्षार्थीका रूपमा सहभागी गंगादेव गाउँपालिकाका सूचनाप्रविधि अधिकृत प्रेम वलीले तालिम ढिलो गरी प्राप्त गरे पनि यसको भरपूर उपयोग गर्ने बताए।

‘यस विषयमा अलि पहिले नै तालिम दिनुपर्थ्यो, ढिलो प्राप्त भयो,’ वलीले भने, ‘अब सकेसम्म पालिकाबाट राम्रो गर्ने कोसिस गर्छौँ।’ प्राधिकरणले निर्माण गरेको राष्ट्रिय विपद् सूचना प्रणालीलाई सबै स्थानीय तहबाट सुचारु गर्ने गरी अभिमुखीकरण गरिरहेको छ। विपदसँग सम्बद्ध सबै क्षेत्रमा अभिमुखीकरण र अभ्यासपछि सूचना प्रणाली व्यस्थित तरिकाले अगाडि बढाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता तथा उपसचिव ध्रुवबहादुर खड्काले बताए।

जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिमा ‘युजर’ र ‘पासवर्ड’ दिएर दैनिक अभिलेखीकरण गर्ने गरी यो सफ्टवेयरको निर्माण गरिएको प्रशिक्षक तथा प्रदेश मन्त्रालयका अधिकृत प्रदीप गौतमले बताए। जनप्रतिनिधिलाई पनि अभिमुखीकरण गरेर यसको महत्वबारे जानकारी दिनुपर्ने प्रशिक्षार्थीहरूको भनाइ थियो। सो विषयमा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले भने, ‘गर्छौं भन्ने कमिटमेन्ट गर्नुस् र काम अघि बढाउनुस्, जनप्रतिनिधिले सहयोग गर्नुहुन्छ।’ कुनै समस्या भए गृह मन्त्रालयअन्तर्गतका काममा समन्वय र सहयोगका लागि आफू प्रतिबद्ध रहेको प्रजिअ घिमिरेले बताए।

नेपाल रेडक्रस सोसाइटीको समन्वय, अस्ट्रेलियन आड्रा, युएनएफपिएलगायतको सहयोगमा आयोजित तालिमकै सन्दर्भमा रोल्पाका ४९ विपद् प्रभावित घरहरूको विवरण सफ्टवेयरमा इन्ट्री गरिएको नेपाल रेडक्रस सोसाइटीका वरिष्ठ कार्यकारी अधिकृत नगेन्द्र अर्यालले जानकारी दिए।

सम्भावित विपद्को अवस्था अध्ययन र न्यूनीकरणका लागि पनि नयाँ सफ्टवेयरको माध्यमबाट योजना निर्माण गर्न सकिने युएनएफपिए रोल्पाका संयोजक केदार रानाले बताए। रोल्पामा अहिले पनि एम्बुलेन्स अभाव रहेको र रेडक्रसमार्फत हुन सक्ने मानवीय सहयोगका लागि सक्दो पहल गर्ने नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य विभाग प्रमुख नौलसिंह पुनले बताए।