१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १७ बुधबार
  • Saturday, 10 May, 2025
२o८o श्रावण १७ बुधबार १८:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकविरुद्ध जाहेरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १७ बुधबार १८:२३:oo

कक्षाकोठामै यौन दुर्व्यवहार गरेको आरोपमा छात्राहरूले शिक्षकविरुद्ध प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्।

पनौती नगरपालिका– २ मा अवस्थित कुशादेवी माध्यमिक विद्यालयका शिक्षक छविरमण गौतमविरुद्ध ११ छात्राहरूले सामूहिक रूपमा इलाका प्रहरी कार्यालय बनेपामा किटानी जाहेरी दिएका हुन्।

मंगलबार बेलुकी जाहेरी परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए। उनका अनुसार जाहेरी दर्ता भएर आवश्यक प्रक्रिया अघि बढिसकेको छ। विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिको पदाधिकारी र अभिभावकको रोहबरमा किटानी जाहेरी प्रहरीले दर्ता गरेको हो।

गणित विषयका शिक्षक गौतमले पटक-पटक छात्राहरुमाथि यौन दुर्व्यवहार गर्दै आएको बताइएको छ। यसअघि पनि उनलाई यस्तै प्रकृतिको घटनामा माफी माग्न लगाएर उन्मुक्ति पाएको स्थानीयले मंगलबार वडामा भएको भेलामा बताएका थिए।

घटना भएको ५ दिनपछि किटानी जाहेरी दर्ता भएको हो। कक्षा १० मा पढ्ने छात्राहरूले गत शुक्रबार विद्यालयमा शिक्षक गौतमले यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा सामूहिक निवेदन दिएका थिए।

सोही निवेदनका आधारमा विद्यालय व्यवस्थापन समितिको बैठकले गौतमलाई स्पष्टीकरणसमेत सोधेको छ। स्पष्टीकरण चित्त बुझ्दो नभएपछि आइतबारदेखि नै विद्यालयमा हाजिर नगराउने निर्णय गरिएको समितिका अध्यक्ष श्रीकृष्ण थापाले जानकारी दिए। शिक्षक गौतम आइतबारदेखि विद्यालयको सम्पर्कमा नरहेकाे उनले बताए।

मंगलबार नै पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको विषयमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। शिक्षा, युवा तथा खेलकुद शाखाबाट घटनामा संलग्न शिक्षकलाई विभागीय कारबाहीको प्रक्रिया अघि बढाइसकिएको विज्ञप्तिमा उल्लेख छ।