
सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन्। बुधबार सम्बन्धित सरोकारवालासँग निर्माणाधीन संसद् भवनको भौतिक प्रगतिको विवरण लिँदै उनले असन्तुष्टि जनाएका हुन्।
सभामुख घिमिरेले आफूले केही महिनाअघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थिक प्रगति कम रहेको पाएको, तर अहिले आर्थिक र भौतिक प्रगति बराबर भए पनि भौतिक प्रगति उल्लेख्य हुन नसकेको बताए। निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ६६ प्रतिशत र आर्थिक प्रगति ६३ प्रतिशत रहेको छ।
‘हिजो पैसा खर्च गर्न नसकिएको र अहिले यही आर्थिक वर्षलाई लिँदा ९० प्रतिशत भौतिक प्रगति भएको र ८८ प्रतिशत आर्थिक प्रगति भएको भनेपछि पेमेन्ट बढ्दै गयो, तर भौतिक प्रगति कमजोर देखिएको छ,’ उनले भने।
सभामुख घिमिरेले हिउँदे अधिवेशन निर्माणाधीन संसद् भवनबाट सञ्चालन गर्ने गरी काम गर्न निर्देशन दिए पनि अहिलेसम्मको प्रगतिले हिउँदे अधिवेशन सञ्चालन गर्न नसकिने स्पष्ट रहेको बताए।