मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ८ सोमबार
  • Wednesday, 12 March, 2025
२o८o श्रावण ८ सोमबार १८:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालिञ्चोकका होटेलको अनुगमन, जनैपूर्णिमाभित्र अनिवार्य मेनु राख्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ८ सोमबार १८:१३:oo

होटेल व्यवसायीहरूले महँगो शुल्क लिने गरेको गुनासो बढेपछि दोलखाको सरकारी टोलीले कालिञ्चोकको कुरी क्षेत्रमा सञ्चालित होटेलहरूको अनुगमन गरेको छ।

जिल्ला समन्वय समिति, कालिञ्चोक गाउँपालिका, प्रमुख जिल्ला अधिकारीलगायतको सरकारी टोलीले सोमबार समग्र कालिञ्चोक क्षेत्रको अनुगमन गर्दै होटेल व्यवसायीहरूलाई जनैपूर्णिमाभित्र अनिवार्य रूपमा मेनु राख्न निर्देशन दिएको छ। कुरीमा सञ्चालित कतिपय होटेलहरूले अहिलेसम्म परिकारसहितको मूल्यसूची नराखेको र ग्राहकसँग आफ्नै ढंगले रकम लिएको गुनासो आएपछि संयुक्त अनुगमन गरी मूल्यसूची राख्न निर्देशन दिइएको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले जानकारी दिए।

उनका अनुसार कतिपय होटेल व्यवसायीहरूले मूल्यसूचीबिना व्यापार गर्दै आएको, जसका कारण ग्राहकवर्गमा अन्योलता सिर्जना भएकाले उचित मूल्यसहितको सूची प्रत्येक टेबलमा राखिनुपर्ने जनाएका छन्।

अनुगमनका क्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले करोडौँको लगानीमा बनेका होटेलमा मेनु नहुनु दुःखद् भएको बताउँदै तोकिएको समय (भदौ १४ सम्म) सबै होटेलहरूले आ–आफ्नो मूल्यसूची नराखे नियमअनुसार कारबाही गरिने चेतावनी दिए। उनले मेनु व्यावसायिक दृष्टिले पनि अपरिहार्य रहेको जनाउँदै यसमा प्रशासनले ताकेता गर्नुपर्ने विषय नभएको प्रस्ट पारे।

अनुगमन टोलीले कालिञ्चोक मन्दिरभित्र क्षेत्रफल ओगटेर राखिएका त्रिशूल तथा अन्य पूजासामग्रीहरू अन्यत्र व्यवस्थापन गर्न र मन्दिर परिसरसँग जोडेर बनाइएका संरचनाहरूसमेत हटाउन निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी धमलाले जानकारी दिए। कुरीमा साना ठुला गरी झन्डै ७० हाराहारीमा होटेलहरू सञ्चालनमा छन्।