सुनसरीमा गत आर्थिक वर्ष ०७९/८० मा अघिल्लो वर्षभन्दा सवारी दुर्घटनाको दरमा कमी आएको छ । एक दशकयता हरेक वर्ष निरन्तर बढिरहेको भए पनि विभिन्न सचेतनाका कार्यक्रमहरू, प्रभावकारी ट्राफिक व्यवस्थापन, राजमार्ग आसपासका हाटबजार व्यवस्थापनलगायतका कारणले दुर्घटनाको दरमा कमी आएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ।
यस वर्ष तीन हजार पाँच सय १० वटा सवारी दुर्घटना भएको छन् । अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा तीन हजार आठ सय २० वटा सवारी दुर्घटना भएको थियो । तुलनात्मक रूपमा ८.११ प्रतिशतले सवारी दुर्घटनामा कमी आएको छ ।
हालको ट्राफिक व्यवस्थापनको अवस्थाबारे जानकारी दिँदै कोसी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोले दुर्घटना, घाइते तथा मृत्यु हुनेको अनुपातसमेत घटेको बताए। आर्थिक वर्ष ०७८/७९ मा कोसी प्रदेशमा पाँच सय ३१ जनाले ज्यान गुमाएका थिए भने आर्थिक वर्ष ०७९/८० मा चार सय १२ ले ज्यान गुमाए । यो २२.४१ प्रतिशतले कम हो । त्यसैगरी गम्भीर घाइतेको दरमा पनि ३२.६६ प्रतिशतले कमी आएको महतोले बताए। ०७८/७९ मा एक हजार दुई सय तीनजना गम्भीर घाइते भएकोमा आव ०७९/८० मा आठ सय १० जना गम्भीर घाइते भएका छन् । सामान्य घाइते हुनेको दरमा पनि करिब १२ प्रतिशतले कमी आएको छ ।
कारबाही राजस्वमा वृद्धि, तीन लाखभन्दा बढीलाई कारबाही
कोसी प्रदेशमा कारबाहीको दरमा भने वृद्धि भएको छ । कार्यालयले आर्थिक वर्ष ०७९/८० मा तीन लाखभन्दा बढीलाई कारबाही गरेको छ । आर्थिक वर्ष ०७८/७९ मा दुई लाख ६९ हजार आठ सय २३ जनालाई कारबाही गरेकोमा आर्थिक वर्ष ०७९/८० मा ११.८७ प्रतिशत बढी अर्थात् तीन लाख एक हजार आठ सय ७१ जनालाई कारबाही गरेको छ।
मापसे कारबाहीमा करिब ६४ प्रतिशतले वृद्धि भएको छ । कारबाही राजस्वमा समेत ११.४२ प्रतिशतले वृद्धि भएको छ । ट्राफिक प्रहरी प्रमुख एसपी महतोका अनुसार आर्थिक वर्ष ०७९/८० मा २० करोड सात लाख ३५ हजार पाँच सय कारबाही राजस्व संकलन गरेको छ । आव ०७८/७९ मा १८ करोड एक हजार ५९ हजार मात्रै राजस्व संकलन गरेको थियो ।
ट्राफिक व्यवस्थापन र सचेतनाका कार्यक्रम बढाउँदै
कार्यालयले दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक व्यवस्थापन र सचेतनाका कार्यक्रमहरू बढाइरहेको छ । आर्थिक वर्ष ०७८/७९ मा झन्डै चार लाखजना लाभान्वित हुने गरी १९ हजार आठ सय ३३ पटक सचेतनाका कार्यक्रम गरेको थियो।
गत आर्थिक वर्ष ०७९/८० मा करिब ३५ प्रतिशतले वृद्धि गरी ६ लाखभन्दा बढी लाभान्वित हुने गरी २६ हजार ६ सय ६४ पटक सचेतना कार्यक्रम गरेको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बाटोमा जथाभावी रोकेर राखेको मालवाहक सवारीलाई समेत ह्विल लकको प्रयोग गरी कारबाही गर्न थालिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी प्रमुख एसपी महतोका अनुसार विराटनगरमा राडर गनसहितको सिसिक्यामेरा राखिएको, लापसे चेक गर्न थालिएको, सडक चिह्न थप गरिएको, एकतर्फी बाटो कार्यान्वयन, कन्भेक्स स्टिकर टाँस, पकेट निर्माणलगायतका क्रियाकलापले समेत दुर्घटनामा कमी आएको हो ।
कार्यालयले प्रदेशमा सबैभन्दा बढी दुर्घटना हुने ६ स्थानमा राडर गनसहितको सिसिक्यामेरा राख्न पहल गरिरहेको जनाएको छ । गत १ साउनबाट सुनसरीको इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले बैंकमार्फत जरिवाना दाखिला गर्नुपर्ने व्यवस्था सुरु गरेको छ । पहिलो चरणमा विराटनगर, धरान, इटहरी, बिर्तामोड र दमक क्षेत्रभित्र जरिवाना भुक्तानीमा बैंकिङ प्रणाली लागू गरिएको हो ।
नियम उल्लंघन गरेबापत ट्राफिक प्रहरीले जारी गर्ने २४ घन्टे पुर्जीमा उल्लेख गरिएको राजस्वबापतको रकम बैंकिङ प्रणालीमार्फत दाखिला गर्नुपर्ने जनाइएको छ । त्यसपछि मात्र प्रहरीले कारबाहीका लागि सम्बन्धित व्यक्तिबाट नियन्त्रणमा लिएका कागजपत्र फिर्ता गरिने महतोले जानकारी दिए ।
१ साउनबाटै सवारीचालकले नियम उल्लंघन गरेको अभिलेख व्यवस्थित गर्न ‘ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम’समेत लागू गरिएको छ । यो प्रणालीअन्तर्गत अभिलेखमा चालकले पटकपटक गरेका कसुरको विवरण उल्लेख हुनेछ । पाँचपटकभन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरिनेछ ।