
मकवानपुरको बकैया गाउँपालिकाका ११ जना भूमिहीनले जग्गाधनी पुर्जा पाएका छन् । पालिकाको वडा नम्बर ५ का भूमिहीन सुकमवासीलाई प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एक कार्यक्रमबीच शनिबार जग्गाधनी पुर्जा वितरण गरेका हुन् ।
जग्गाधनी पुर्जा पाउनेमा बकैया– ५ का शुक्रबहादुर भुलुन, नीरमाया भुलुन, फूलमाया भुलुन, सुवासकुमार विक, सुशीला विक, बाबुलाल थिङ, कमलबहादुर थिङ, कान्छीमाया पुलामी, हस्तबहादुर थिङ, लक्ष्मण थापा र विनोद वाइबा रहेका छन् ।
जग्गाधनी पुर्जा वितरण गर्दै मुख्यमन्त्री जम्कट्टेलले सरकार अव्यवस्थित बसोवासी र भूमिहीन सुकुमवासी समस्या समाधानका लागि गम्भीर रहेको बताए । उनले सरकारले देशभरका भूमिहीन सुकुमवासीले जग्गाधनी जग्गाधनी पुर्जा पाउने गरी काम गरिरहेको दाबी गरे ।
‘सरकार अव्यवस्थित बसोवासी र भूमिहीन सुकुमवासीको विषयमा गम्भीर छ । हामीले विगतदेखि नै भूमिहीन सुकुमवासीको मुद्दा उठाउँदै आएका थियौँ । अहिले कार्यान्वयनको चरणमा छ,’ उनले भने।
यस्तै, गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले हाललाई लगत समावेश भएका पालिकाका ६४ मध्ये ११ परिवारको मात्रै जग्गाधनी पुर्जा मुद्रण भएकाले ११ जनालाई वितरण गरिएको जानकारी दिए । बाँकी भूमिहीनले पनि छिट्टै जग्गाधनी पुर्जा पाउने अध्यक्ष लामिछानेले बताए ।