
सिराहा नगरपालिका– २१ मलियाटोलमा करेन्ट लागेर ४० वर्षीय तपेश्वर यादवको मृत्यु भएको छ। विद्युत् प्राधिकरण सिराहा वितरण केन्द्रले छाडेको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो।
मलियाटोलमा सिँचाइ गर्न अवैध रूपमा हुक लगाएर मोटर जडान गरी विद्युत् चुहावट भइरहेको थियो। प्राधिकरणको टोलीले उक्त मोटर नियन्त्रणमा लिएर मोटर जडान गर्न प्रयोग गरेको केही तार त्यसै छाडिदिएका थिए।
सोही तारबाट करेन्ट लागेर यादवको मृत्यु भएको भन्दै परिवार र आफन्तले वितरण केन्द्रको कार्यालयअगाडि टायर बालेर प्रर्दशन गरेका छन्।
उक्त चुहावट नियन्त्रण कार्यमा खटिएका कर्मचारीलाई कारबाही र उचित क्षतिपूर्ति नदिएसम्म आन्दोलन जारी राख्ने मृतकका आफन्त कैलाशकुमार यादवले बताए। ‘सिँचाइ गरेको मोटर र तार दुवै लिएर जानुपर्थ्यो,’ यादवले भने, ‘आधा तार भुइँमै छाडेर गयो। खेतमा गएको वेला करेन्ट लागेर मृत्यु भयो।’
यता सिराहा वितरण केन्द्रका इन्जिनियर उदयकुमार कर्णले चुहावट भएको सूचनाको आधारमा कर्मचारी खटिएको बताएका छन्। घटनाबारे विस्तृत विवरण आएपछि मात्रै प्रतिक्रिया दिन सक्ने उनले बताए।