Skip This
Skip This

अवैध उत्खननले बस्तीमा जोखिम बढ्यो

२०७५ पौष ११ बुधबार ०६:४९:००

इन्द्रावती नदीमा भइरहेको अवैध उत्खननले चौतारा साँगाचोकगढी नगरपालिकाको बस्ती नै जोखिममा परेको छ । नदीबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननले ११ र १४ नम्बर वडाको भीमटार, कान्लेफेदी र कमेरेफाँटका ५० परिवार उच्च जोखिममा परेका हुन् ।  बढ्दो नदी दोहनले कान्लेफेदी र कमेरेफाँटको दुई सय रोपनी धानखेत इन्द्रावतीको भंगालोमा पर्ने खतरा बढेको स्थानीय बिमलराज गिरीले बताए । इन्द्रावती नदी किनारको बन्देउदेखि झ्याँडीखोला सीमासम्म १२ वटा स्काभेटरले दिनहुँ नदीजन्य पदार्थ निकालिरहेका छन् । बस्ती नै जोखिममा पर्ने गरी ढुंगागिट्टीको निकासी हुँदा पनि स्थानीय जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् ।

 अनुमतिविनै नदी उत्खनन
केही ठेकेदारले स्थानीय तहबाट अनुमति लिएर नदी उत्खनन गरेका हुन् । तर, नदी क्षेत्रमा करिब एक दर्जनजति स्काभेटर र जेसिबीले विनाअनुमति नै नदी दोहन गरिरहेको पाइएको छ । अवैध उत्खननले स्थानीयका ५० घर र सय व्यक्तिको दुई सय रोपनीभन्दा धेरै खेत जोखिममा परेको छ ।  नदी किनारबाट एक सय मिटर पर बस्ती छ । नदीको दोहनले बस्ती जोखिममा परेपछि स्थानीयले उत्खनन रोक्न माग गरेका छन् । स्थानीयले बढ्दो नदी दोहन रोक्न चौतारा साँगाचोकगढी नगरपालिका र जिल्ला समन्वय समितिलाई पटक–पटक निवेदनसमेत दिएका छन् । तर, जतिनै आग्रह गरे पनि सम्बन्धित निकायले नदी दोहन रोक्नेतर्फ चासो देखाएकाे छैन । 
 बस्ती उठीवास हुने डर
नदी किनार क्षेत्रका अधिकांश जनप्रतिनिधि आफैँले स्काभेटर भाडामा लिएर अवैध उत्खनन गरिरहेकोसमेत पाइएको छ । ‘खेतीयोग्य जमिन जोगाउन हामीले आन्दोलन गरिरहेका छौँ,’ स्थानीय कृष्ण माझीले भने, ‘अवैध उत्खननले माझीबस्तीकै उठीवास हुने अवस्था आइसक्यो । स्थानीयतह, जिसस र प्रहरी प्रशासनलाई पटक–पटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएको छैन ।’ अबैद्य उत्खनन् नरोकिएपछि स्थानीयले खोलामै गएर विरोध गर्ने गरेका छन् । बालुवा उत्खनन गर्ने ठेकेदार र स्थानीयबीच वेलावेलामा झडपसमेत हुँदै आएको छ । स्थिति तनावग्रस्त भएपछि स्थानीयले प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाललाई निवेदन दिएर नदी उत्खनन रोक्नसमेत माग गरेका छन् । 

 उत्खननमा वडाध्यक्षकै संलग्नता
नदीको अवैध उत्खननमा वडा नम्बर १४ का अध्यक्ष शेरबहादुर श्रेष्ठको समेत संलग्नता रहेको आरोप स्थानीयले लगाएका छन् । वडाध्यक्षकै संलग्नतामा नदी दोहन हुँदा रोक्न कठिन भएको गुनासो स्थानीयले गरेका छन् । श्रेष्ठले बालुवा–गिट्टीमा लाखौँ लगानी गरेका स्थानीयको भनाइ छ ।  जिसस र जिल्ला वनका कर्मचारीले क्रसर व्यवसायी र ठेकेदारसँग मोटो रकम खाएर मापदण्डविपरीत नदी उत्खनन गर्न अनुमति दिएको भीमटारका कृष्ण माझीले बताए । ‘आफैँले भोट दिएर जिताएका नेताले पैसा कमाउने लोभमा ठेकेदारसँग मिलेर मनोमानी ढंगले नदी दोहन गरेपछि गुनासो पोख्ने ठाउँ नै छैन,’ माझीले भने । 

स्थानीय जनप्रतिनिधि कोहीले नयाँ क्रसर स्थापना गरेका छन् भने कतिपयले बालुवा उत्खननमा लगानी गरेका छन् । बन्देउदेखि कमेरेसम्म पाँच स्थानमा क्रसर स्थापना भएका छन् । साँगाचोक निवासी बछलादेवी एग्रिगेट प्रालिका प्रोप्राइटर इन्द्रराज गिरीले मनोमानी ढंगले बालुवा, ढुंगा उत्खनन गरिरहेकाले बस्ती जोखिममा परेको स्थानीयले बताए ।