
सत्तारुढ कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि ठूल्ठूला भ्युटावर र सिटी हलको आवश्यकता नभएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्।
सांसद कार्कीले देशको कुनै एउटा ठाउँमा भएपनि ऐतिहासिक हरित र सांस्कृतिक सहर निर्माण गर्ने काममा ध्यान दिन सरकारलाई सुझाब दिए।
गरिब आवास कार्यक्रमलाई झारा टार्ने ढंगले अघि नबढाउन पनि सरकारलाई सचेत गराए। गाउँलाई सुविधासम्पन्न र व्यवस्थित गाउँ निर्माण गर्ने दिशामा सरकारको ध्यान जानुपर्ने सांसद कार्कीको भनाइ थियो।
उनले भने, ‘अहिले भ्युटावरका, ठूल्ठूला सिटी हलको अहिले आवश्यकता छैन। र, अहिलेको ध्यान दलित, विपन्न र सीमान्तकृत नागरिकलाई आवास केवल बजेटमा उल्लेख गर्नेजस्तो झारा टार्ने आवास होइन। देशले अनुभूत गर्ने किसिमको आवास बनाउनेमा सहरीमन्त्रीको ध्यान जरुरी छ। त्यतातर्फ ध्यान जाओस् भन्ने म चाहन्छु।’
सांसद कार्कीले स्वच्छ खानेपानी पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।