
चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले शिष्टाचार भेट गरेका छन्।
अध्यक्ष तिमिल्सिनासँग चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङले पिपुल्स बिल्डिङमा शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटमा अध्यक्ष तिमिल्सिनाले चीनको औद्याेगिक सहर सांघाईको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने र सांघाईबाट काठमाडौं र पोखरा सीधा उडानको प्रसंग उठाएका थिए।
सीधा उडान हुँदा नेपाली व्यापारी पनि सोझै आउन सक्छन् र यहाँबाट धार्मिक पर्यटकहरू लुम्बिनी जान सक्ने र अन्य पर्यटक पोखरा जान सक्ने उनको भनाइ थियो।
अध्यक्ष तिमिल्सिनाले पोखरा महानगरले सांघाई सहरसँग भगिनी सम्बन्ध राख्ने चाहना व्यक्त गरेको त्यहाँका अधिकारीहरूलाई जानकारी गराएका थिए।
चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङले सांघाई सबैभन्दा ठूलो आर्थिक केन्द्र भएको र यसले चीन र नेपालबीचको अन्तरसम्बन्ध बढाउने, अर्थतन्त्र, संस्कृति, पर्यटन र जनजीविकाका क्षेत्रमा दुई स्थानबीचको सहयोगको प्रवाहलाई अझ प्रगाढ बनाउने र दुई देशका जनतालाई फाइदा पुर्याउन मैत्रीपूर्ण आदानप्रदानलाई निरन्तर विस्तार गर्ने बताए।
भेटमा नेपालको संसदीय प्रतिनिधिमण्डलका सदस्य साथै चीनको सांघाईका नेसनल पिपुल्स कङ्ग्रेसको स्थायी समितिका सदस्य, राष्ट्रिय जनकांग्रेसको विदेश मामिला समितिका उपाध्यक्ष तथा राष्ट्रिय जनकांग्रेसको चीन–नेपाल मैत्री समूहका उपप्रमुख वाङ के र सांघाई म्युनिसिपल पिपुल्स कंग्रेसको स्थायी समितिका महासचिव सी जियाङगाङलगायत सहभागी थिए।