मिर्गौलाबाट मूत्रथैली हुँदै मूत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने कीटाणुको संक्रमण नै पिसाबको संक्रमण हो । यौनांगको सरसफाइ नगर्दा पिसाबको संक्रमण हुने जोखिम रहन्छ । शरीरको कुनै भागमा भएको संक्रमण पिसाब नलीमा पुग्यो भने पनि संक्रमण हुने गर्छ । लामो समयसम्म पिसाबको संक्रमण भइरह्यो भने मिर्गौलामा पिप जम्नेलगायत समस्या हुन्छ र थप जटिलता आउँछ ।
जोखिम समूह
पिसाबको संक्रमण सबै उमेरसमूहका मानिसलाई हुन सक्छ । पुरुषमा पिसाब थैलीबाट पिसाब फर्केर माथि जान्छ, पिसाब राम्ररी निख्रेको छैन वा पिसाब नली साँघुरो छ भने संक्रमण हुने जोखिम धेरै हुन्छ ।
पुरुषलाई भन्दा महिलालाई पिसाबको संक्रमण बढी हुने गर्छ । महिलाको पिसाब नली सानो हुन्छ भने पुरुषको नली लामो हुने भएकाले बाहिरी संक्रमण पुरुषलाई कम हुने हुन्छ । महिलामा नली सानो हुने, महिनावारी हुने नली र दिसा गर्ने नली सँगसँगै हुने भएकाले बाहिरी संक्रमण छिटो हुने सम्भावना हुन्छ ।
महिलालाई बाहिरी संक्रमण बढी हुनुको कारण कुनै एक नलीमा भएको इन्फेक्सन अर्कोमा सजिलै सर्नु पनि हो । महिलालाई एकपटक संक्रमण भएपछि प्रायः दोहोरिरहन्छ । औषधि खाँदा ती गन्थ्रीमा कीटाणु सुषुप्त अवस्थामा बस्छन् र बिस्तारै औषधिको काम कम हुन थालेपछि ती कीटाणु फेरि सक्रिय हुन थाल्छन् र संक्रमण दोहोरिरहन्छ ।
बालबच्चाको ख्याल गरौँ
पिसाबको संक्रमणबाट बालबालिकालाई जोगाउनका लागि केही कुराहरूमा विशेष ध्यान दिनुपर्ने हुन्छ । कम उमेरका बच्चालाई डाइपर समयमै फेरिदिनुपर्छ । बच्चामा पिसाब फेर्न जाँदा पूरै पिसाब नफेर्ने बानी हुन सक्छ, उनीहरूको पिसाब क्लियर भए–नभएको विषयमा अभिभावकले सोध्नुपर्छ । पिसाब क्लियर हुने गरी फेर्ने बानीको विकास गराउनुपर्छ ।
बालिकालाई पिसाब फेरिसकेपछि मूत्रप्रणालीको बाहिरी अंग सफा गर्न सिकाउनुपर्छ । कतिपय बच्चाहरू पिसाब रोकेर बस्छन् । मूत्रथैलीमा पिसाब थिग्रेर बस्दा त्यहाँ ब्याक्टेरिया फैलने खतरा हुन्छ । त्यसैले पिसाब रोकेर बस्नुहुँदैन भनेर सिकाउनुपर्छ । बच्चामा संक्रमणका कुनै लक्षण देखिएमा तत्कालै युरोलोजिस्टसँग सम्पर्क राख्नुपर्छ ।
संक्रमण भएको कसरी थाहा पाउने ?
- पिसाब पोल्ने
- छिनछिनमा पिसाब लाग्ने
- पिसाब चुहिने
- कम पिसाब हुने
- पिसाब गर्दा रगत जाने
- पिसाब गरेपछि पनि तल्लो पेट भारी हुने, दुख्ने
- कोखा दुख्ने, कामज्वरोसहित उच्च ज्वरो आउने आदि ।
संक्रमणबाट कसरी बच्ने ?
- सरसफाइमा ध्यान दिने
- शौचालय सधैँ सफा राख्ने
- महिनावारीको समयमा प्याड समय–समयमा परिवर्तन गरिरहने
- तीन–तीन महिनामा पिसाबको जाँच गर्ने
- प्रशस्त पानी पिउने
- पिसाबसम्बन्धी कुनै पनि समस्या देखिएमा स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने ।