१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २० शनिबार
  • Sunday, 11 May, 2025
२o८o जेठ २० शनिबार १७:o२:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

५० बढी नेपाली ओलम्पियन पोखरामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २० शनिबार १७:o२:oo

विश्वका विभिन्न देशमा सम्पन्न भएका ओलम्पिक खेलमा सहभागी नेपाली ओलम्पियनहरू पोखरामा भेला भएका छन्। नेपाली ओलम्पियनहरूको छाता संस्था नेपाल ओलम्पियन संघको आयोजना तथा पोखरा महानगरपालिका खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको समन्वयमा भएको दोस्रो ओलम्पियन पुनर्मिलन तथा ओलम्पियन सम्मान कार्यक्रममा सहभागी हुन उनीहरू पोखरामा भेला भएका हुन्।

सन् १९६४ देखि २०२० सम्म भएको ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने ओलम्पियनहरूलाई एक थलोमा सहभागी गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजक संघका अध्यक्ष दीपक विष्टले जानकारी दिए। नेपालले पहिलोपटक सन् १९६४ मा जापानको टोकियोमा सम्पन्न ओलम्पिकबाट औपचारिक रूपमा ओलम्पिकमा सहभागिता जनाएको थियो। सन् १९६३ मा नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)को सदस्यता प्राप्त गरेको थियो।

६ दशकको अन्तरालमा ९० जना नेपाली खेलाडीहरूमध्ये ८८ जनाले ग्रीष्म र २ जनाले शीतकालीन ओलम्पिकमा सहभागिता जनाएका छन्। उनीहरूमध्ये १० जनाको मृत्यु भैसकेको छ। केही ओलम्पियनहरू हाल विदेशमा छन्। नेपालका पहिलो ओलम्पियन क्या. रामप्रसाद गुरुङसहित ५० जना बढीको कार्यक्रममा सहभागिता रहेको विष्टले जानकारी दिए। कार्यक्रममा विश्व ओलम्पियन संघका प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ।

कार्यक्रमअन्तर्गत शनिबार बिहान प्रभातफेरी सम्पन्न भएको छ। पोखराको प्रमुख पर्यटकीय स्थल लेकसाइडमा भएको प्रभातफेरीपछि बाराहीघाटमा आयोजित स्वागत कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले खेलाडीहरूलाई स्वागत गरेका थिए। स्वागत पछि आचार्यले पोखरालाई खेल पर्यटनको हबका रूपमा विकास गर्न पोखरा महानगरपालिकाले विभिन्न योजनाहरू अघि सार्दै निरन्तर लागिरहेको बताए। 

ओलम्पियनहरूलाई स्वागतपछि फेवा डुंगा व्यवसायी संघको समन्वयमा फेवातालमा डुंगा सयरसहित तालबाराही मन्दिरको दर्शन गराइएको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए।

शनिबार साँझ गण्डकी प्रदेशका मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा पुर्नमिलन तथा सम्मान कार्यक्रम हुनेछ भने २१ गते संघको वार्षिक साधारण सभासँगै गण्डकी प्रदेशका खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरूसँग ओलम्पियनहरूले अन्तर्क्रिया गर्ने गोदारले जानकारी दिए। यसअघि गत असारमा काठमाडाैंमा पहिलो ओलम्पियन पुनर्मिलन तथा सम्मान कार्यक्रम सम्पन्न भएको थियो।

सर्भिस टू सोसाइटी, सर्भिस टू ओलम्पियन भन्ने नाराका साथ विश्वभरका ग्रीष्म र शीतकालीन ओलम्पियनहरूको छाता संगठनका रूपमा विश्व ओलम्पियन संघको स्थापना भएको थियो। सोही संघमा सदस्य राष्ट्रका रूपमा नेपाल ओलम्पियन्स संघको गठन भएको थियो। खेल जीवनपछि पनि विभिन्न कार्यक्रममार्फत सामाजिक काममा आबद्ध हुन ओलम्पियनहरूलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ पुनर्मिलनलगायत अन्य कार्यक्रमको आयोजना गरिएको हो।