
कर्णाली प्रदेश सरकारले प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू पेस गरेको छ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले बिहीबार आगामी आ.व.को बजेटका सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू पेस गर्दै सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने बताए। आगामी आर्थिक वर्षमा सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रदेश सरकारको लक्ष्य छ। त्यसका लागि प्रदेश सरकारले विशेष नीति लिएको मन्त्री सिंहले जानकारी दिए।
‘स्वास्थ्य जनशक्ति, उपकरण र स्वास्थ्य सामग्रीको सहज आपूर्ति एवं उपलब्धताको सुनिश्चित गरी विभिन्न किसिमका महामारी तथा रोगको रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारको उचित प्रबन्ध मिलाइनेछ,’ उनले भने, ‘त्यसका लागि अत्यावश्यक औषधीको नियमित आपूर्तिको व्यवस्था मिलाइनेछ। आगामी आर्थिक वर्षदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालाहरूको सहकार्यमा कर्णाली प्रदेशभित्रका सबै नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षणलाई अभियानको रूपमा सञ्चालन गर्ने नीति लिइनेछ।’
आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच स्थापना गर्न आवश्यक पर्ने पूर्वाधार विकास, जनशक्ति र उपकरणको व्यवस्थापन गरी विद्यमान स्वास्थ्य प्रणालीको सुदृढीकरण गरिने मन्त्री सिंहले बताए। ‘दुर्गम स्थानका बासिन्दाका लागि टेलिमेडिसिन तथा घुम्ती स्वास्थ्य शिविरहरूका साथै जटिल अवस्थाका बिरामीलाई आकस्मिक उद्धारमार्फत उपचार सेवाको व्यवस्था मिलाइनेछ,’ उनले भने, ‘आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथीजस्ता परम्परागत चिकित्सा पद्धतिलाई संस्थागत गर्न यससम्बन्धी संस्थाहरूलाई औषधी उत्पादन तथा अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने नीति लिइनेछ।’
योग र ध्यानजस्ता पूर्वीय प्राचीन विज्ञानलाई आम नागरिकको दैनिक जीवनचर्याको रूपमा विकास गर्न सम्बद्ध निकायसँग सहकार्य गरिने मन्त्री सिंहले बताए।