मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुभ फर्वार्ड पार्टीका नेता एवं प्रधानमन्त्रीका दाबेदार पिता लिम्जारोइनरात १५ मेमा बैंककस्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलनमा सहभागी हुँदै । तस्बिरः अथित पेराओङमेथा/रोयटर्स
हेलन रिगान
२०८० जेठ ८ सोमबार ०८:२३:००
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

थाइल्यान्डमा नयाँ सरकार गठनमा सेनाको संस्थागत अवरोध

पछिल्लोपटक सन् २०१४ मा सत्ता कब्जा गरेको जुन्ता शासकले लोकप्रिय मत जसले ल्याए पनि सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा आफूलाई निर्णायक राखेर संविधानको पुनर्लेखन गरेका छन् 

Read Time : > 3 मिनेट
हेलन रिगान
२०८० जेठ ८ सोमबार ०८:२३:००

थाइल्यान्डका मतदाताले देशको सेना समर्थित सरकारलाई एउटा शक्तिशाली सन्देश दिएका छन्– तिमीसँग शासनको जनादेश छैन ।आफ्नो सुधारवादी प्लाटफर्मका लागि युवा थाईबीचमा ठूलो प्रशंसा बटुल्न सफल प्रोग्रेसिभ मुभ फर्वार्ड पार्टीले सबैभन्दा धेरै सिट र सबैभन्दा धेरै लोकप्रिय मत जितेको छ भने २० वर्षदेखि थाइल्यान्डमा एउटा लोकप्रिय शक्ति रहेको प्रमुख प्रतिपक्षी फेउ थाई पार्टी दोस्रो बन्यो ।

दशकौँदेखि वेलावेलामा जननिर्वाचित सरकारहरूलाई ‘कु’मार्फत सत्तापलट गर्दै शासन गर्दै आएको रूढीवादी सैन्य समर्थित संस्थापनलाई यी दुई पार्टीले मिलेर धुलो चटाइदिएका छन् । ‘यो थाइल्यान्डको सैन्य अधिनायकवादी शासनको तिरस्कार हो । यो राजनीतिमा सैन्य प्रभुत्वको अस्वीकारोक्ति हो’, निर्वाचन परिणामप्रति संकेत गर्दै चुलालोङकर्न विश्वविद्यालयका राजनीतिक वैज्ञानिक थिटिनान पोंगसुधिरकले भने ।

विगत दुई दशकयता जबजब थाईवासीले मतदान गर्न पाए तीनले सेना समर्थित शासनका विरुद्धमा उभिने राजनीतिक दललाई अत्यधिक समर्थनसहित मतदान गरेका छन् । किर्तिमानी मत खसेको गत आइतबारको मतदानमा पनि यो परम्पराले निरन्तरता पायो । तर, ऐतिहासिक विजयका बाबजुद देशलाई नेतृत्व कसले दिनेछ भन्नेचाहिँ निश्चित छैन । किनभने, सन् २०१४ मा पछिल्लोपटक सत्ता कब्जा गरेको जुन्ता शासकले लोकप्रिय मत चाहे जसले जितोस् सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरामा आफूलाई निर्णायक राखेर संविधानको पुनर्लेखन गरेका छन् ।

निर्वाचनमा कुनै पनि विपक्षी दलले सरकार बनाउन आवश्यक ३७६ सिटको स्पष्ट बहुमत हासिल गर्न सकेका छैनन् । उनीहरूले बहुमत सुनिश्चित गर्न अन्य दलहरूको समर्थन प्राप्त गर्नुपर्ने हुन्छ । तर, त्यो बाटो सहज छैन । 

‘कु’को दुष्चक्र
थाहा पाउनुपर्ने पहिलो विषय के भने सरकार बनाउन इच्छुक कुनै विपक्षी पार्टी वा गठबन्धनले सिनेटको शक्तिशाली समूहलाई आफ्नो पक्षमा पार्न सक्नुपर्छ । वर्तमान जुन्ता संविधानअन्तर्गत थाइल्यान्डको गैरनिर्वाचित २५० सिटे सिनेटको चयन सम्पूर्ण रूपले सेनाले गर्छ र त्यसले यसअघि सेना समर्थित उम्मेदवारलाई नै मतदान गरेको छ । किनभने कुनै पनि पार्टीलाई प्रधानमन्त्री चयन गर्न संयुक्त सदन ( ७५० सिट)को बहुमत चाहिन्छ, यसको मतलब विपक्षी दलहरूलाई अर्को नेता चयन गर्न र सरकार गठन गर्न तल्लो सदनको झन्डै तीन गुणा मत चाहिन्छ ।

थाइल्यान्डमा सांसद प्रतिबन्धित, दलको विघटन र सरकार सत्ताच्यूत हुने गरेका छन् । थाइल्यान्ड सन् १९३२ यता एक दर्जन सफल ‘कु’को साक्षी बनिसकेको छ, जसमा पछिल्ला १७ वर्षका दुई ‘कु’ पनि पर्छन् । स्वतन्त्र भनिने निर्वाचन आयोग, भ्रष्टाचार निवारण आयोग र संवैधानिक अदालतमा सेनाको हाबी छ

सिनेटको मत सन् २०१९ मा ‘कु’ गरेका सैन्य नेता प्रयुत्त चान–ओ–चाले पाएका थिए, जसले फेउ थाई सबैभन्दा ठूलो पार्टी हुँदासमेत उनको पार्टीको गठबन्धलाई प्रधानमन्त्रीका लागि चाहिने पर्याप्त सिट जुटाइदिएको थियो । प्रोग्रेसिभ मुभमेन्टको जितमा अन्य चुनौती पनि छन् । परिवर्तनको एजेन्डा अघि सारेका दलहरूले शक्तिशाली अनुदारवादी संस्थापन सेना, राजशाही तथा प्रभावशाली अभिजात्य वर्गसँग दुस्मनी साधेका छन् । 

थाइल्यान्डमा सांसदहरूले प्रतिबन्धको सामना गरेका छन्, दल विघटन र सरकार सत्ताच्यूत हुने गरेका छन् । थाइल्यान्ड सन् १९३२ यता एक दर्जन ‘कु’को साक्ष्य बनिसकेको छ, जसमा पछिल्ला १७ वर्षका दुईवटा कु पनि पर्छन् । र, स्वतन्त्र भनिने निर्वाचन आयोग, भ्रष्टाचार निवारण आयोग र संवैधानिक अदालत सबैमा संस्थापन पक्ष हाबी छन् ।

‘नतिजा गतिलो हुँदैनथ्यो वा सेना समर्थक दलहरूले केही बढी सिट ल्याएका हुन्थे भने धाँधली कि प्रयास गरेर यो मार्जिनलाई उल्ट्याउने प्रयास पनि हुन्थ्यो होला । तर, निर्वाचन परिणाम एकदमै सुस्पष्ट भएकाले यसलाई उल्टाउन एकदमै गाह्रो छ,’ थिटिनानले भने, ‘मतलाई उल्ट्याउने कोसिस भयो भने जनआक्रोश र विरोध हुनेछ ।’
मुभ फर्वार्डको पूर्ववर्ती फ्युचर फर्वार्ड पार्टीले सन् २०१९ को चुनावमा तेस्रो धेरै सिट जितेको थियो । लगत्तै यो पार्टीका थुप्रै नेतालाई राजनीतिमा नै प्रतिबन्ध लगाइयो र अदालतले उनीहरूले निर्वाचनका आचारसंहिता उल्लंघन गरेको फैसला गरेपछि त्यो पार्टी विघटन नै गरियो ।

छोटो अवधिका लागि त्यो निर्णयले जुन्ता सरकारका लागि फ्युचर फर्वार्ड पार्टीबाट उत्पन्न खतरा समाप्त गरिदियो । तर, यसले धेरै तरिकामा आइतबारको ऐतिहासिक मतदानका लागि जग बसालेको थियो । फ्युचर फर्वार्ड पार्टी विघटन भएपछि सन् २०२० मा थाइल्यान्डभर युवा नेतृत्वमा विरोध प्रदर्शन सुरु भए र एउटा पूरै नयाँ पुस्ताको युवा राजनीतिज्ञहरूको जन्म भयो, जसमध्ये केही युवा नेताले पहिले निषेधित विषय ‘राजतन्त्रको सुधार’बारे बहस गर्ने तत्परता देखाएका छन् ।

ती आह्वानले जहाँ राजतन्त्रबारे खुला बहस गर्नु जेल जानु हुन्थ्यो, त्यस्तो मुलुक थाइल्यान्डलाई अकस्मात उत्तेजित बनायो । धेरै युवा नेताहरू जेलमा परे वा विरोध प्रदर्शनका लागि अभियोगको सामना गरिरहेका थिए । तर, केही नेताले आइतवारको लोकप्रिय मतदानमा विजयी हुने गरी मुभ फर्वार्ड पार्टी निर्माण गर्नतर्फ लागे । यसले सैन्य संस्थापनलाई अब आफ्नो घोषणापत्रमा राजतन्त्रको सुधारलाई एजेन्डाका रूपमा राखेको पार्टीसँगको राजनीतिक लडाइँमा सम्मुख गराएको छ ।

विज्ञहरूले अर्को कु महँगो हुनेछ अझ यस्तो जनादेश प्राप्त पार्टी विघटन त ‘भयावह’ नै हुने विज्ञहरूको कथन छ । ‘पार्टी विघटन गर्नु एकदमै कठोर कदम हुनेछ । यदि विघटन नगरेर नै मुभ फर्वार्ड पार्टीलाई बाहिर राख्न सकिन्छ भने अनुदारवादीहरूले त्यसै गर्न रुचाउनेछन् । किनभने यो कदम जनमतलाई उल्ट्याउनेजतिको कठिन र खतरापूर्ण हुँदैन’, लोवी इन्स्टिच्युटका दक्षिणपूर्वी एसिया कार्यक्रमका निर्देशक सुसाना प्याटनले भने, ‘तर, तपाईं विघटनको सम्भावनालाई पनि नकार्न सक्नुहुन्न ।’

परिवर्तनका लागि प्राप्त मतलाई बेवास्ता गर्न सकिँदैन
मुभ फर्वार्डको आकर्षण युवा मतभन्दा पर गएको छ जसमा उसले आफ्नो जग बसाएको छ । अनौपचारिक नतिजाले यो पार्टीले बैंककका ३३ सिटमध्ये ३२ सिट मुभ फर्वार्डले कब्जा गर्ने देखाएका थिए, जुन परम्परागत रूपमा कन्जरभेटिभ पार्टीको गढ थियो । ‘यसले यो देखाउँछ कि सहरी क्षेत्रमा बसोवास गर्ने मानिस लगभग एक दशकदेखिको सैन्य सरकारबाट वाक्कदिक्क भइसकेका छन्,’ प्याटन भन्छन्, ‘उनीहरू केही फरक छनोट गर्न चाहन्छन् र मुभ फर्वार्ड युवाहरूको पार्टी मात्र होइन, बरु यसले वास्तवमा समर्थनको फराकिलो हिस्सालाई पनि आकर्षित गर्न सक्छ । ’

मुभ फर्वार्डको आमूल परिवर्तनकारी एजेन्डामा सेनाको सुधार, सेनाको बजेट घटाउने, यसलाई थप पारदर्शी र जवाफदेही बनाउने, साथै संवैधानलाई परिवर्तन गरेर सेना र राजतन्त्रलाई संविधानमातहत ल्याउने कुरा समावेश छन् ।लोकरिझ्याइँवादी फेउ थाई पार्टीमाथिको यो पार्टीको जित पनि उल्लेखनीय छ ।

अपदस्थ प्रधानमन्त्री थाक्सिन सिनावात्रासँग जोडिएको यो पार्टीले सन् २००१ यता चुनाव हारेको यो पहिलोपटक हो । र, फेउ थाईको मुभ फर्वार्डसँगको पराजयले लोकप्रियतावादी थाक्सिनसँग साइनो गाँसिएका पार्टीहरूलाई संस्थापनको विरुद्धमा खडा गर्ने राजनीतिको पुरानो गोलचक्करप्रति मतदाताहरू दिक्क भइसकेको देखाउँछ । ‘थाइल्यान्डको दुई दलीय प्रणाली सन् २०१९ मै भत्किन सुरु गरेको भए पनि यो निर्वाचनमा पनि यो भत्किने क्रम जारी छ,’ प्याटनले भने ।
 सिएनएन