
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारहरूले बाँच्ने गरी पारिश्रमिक पाउनुपर्नेमा सरकार सकारात्मक रहेको बताएकी छिन्।
आइतबार न्यूनतम पारिश्रमिक निर्धारण समितिले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएकी हुन्। अहिलेको परिस्थितिअनुसार कसैको पनि सेवा, सुविधा पुग्ने किसिमको नरहेको उनको भनाइ छ।
‘अहिलेको परिस्थितिअनुसार कसैको पनि सेवा, सुविधा पुग्नेखालको छैन। अन्यत्र क्षेत्रमा तलब वृद्धि हुँदा पनि श्रमजीवी पत्रकारलाई दिने गरिएको न्यूनतम पारिश्रमिक बाँच्न गाह्रो हुने खालको छ भन्ने छ, यसमा हामी हेर्नेछौँ,’ उनले भनिन्।
मन्त्री शर्माले नीति तथा कार्यक्रममा पनि समानुपातिक विज्ञापनको कुरा उठाएको भन्दै समानुपातिक विज्ञापनले पनि न्यूनतम पारिश्रमिकको कतिपय कुरालाई समेट्ने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘एकद्वार प्रणालीको कुरा पनि गरिसकेका छौँ। यसले विज्ञापनमा हुने चुहावटहरू त्यो मिडिया हाउसमा सीधा पुग्नेछ। बीचको चुहावट रोकिएर कानुनले काट्नेबाहेक सबै पैसा मिडिया हाउसमा पुग्दा राम्रो हुन्छ।’