
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका– २ ढाकाबाङमा चारजनाको ज्यान जाने गरी खरबारीमा आगो लगाएको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।
खरबारीमा लगाएको आगो सामुदायिक वन हुँदै र गाउँमा पसेपछि निभाउने क्रममा चारजनाको ज्यान गएको थियो। गत वैशाख २६ गते दुईजना र २७ गते दुईजना गरी चारजनाको मृत्यु भएको थियो। एकजना पाल्पाको मिसन अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भएका छन्।
आगो लगाएको अभियोगमा भूमिकास्थान– २ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जंगली जनावरले सताएर आगो लगाएको उनीहरूले स्वीकार गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए।
‘मुलुकी अपराधसंहिता, २०७४ परिच्छेद १२, ज्यानसम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचेक्य्राइँ गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारबाहीको प्रक्रिया अघि बढाएका छौँ,’ उनले भने। अदालतबाट पाँच दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यता, सन्धिखर्क– ७ खाँचीकोटको सामुदायिक वनमा आगो लगाउने ४१ वर्षीय ईश्वरीप्रसाद न्यौपाने १० हजार धरौटीमा रिहा भएका छन् भने सन्धिखर्क– ३ खाँचीखर्कमा आगो लगाउने ५० वर्षीय मजुना निशालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।
नयाँ घाँस पलाउने भन्दै मानिसले आगजनी गरेको पाइएको डिभिजन वन कार्यालयका प्रमुख ईश्वरी पौडेलले बताए। ‘अर्घाखाँचीमा पछिल्लो दश वर्षयताकै सबैभन्दा बढी आगलागी भएको छ। यस वर्ष एक सय ७६ स्थानमा आगलागीका घटना भएका छन्,’ उनले भने।