१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
आत्महत्याको बाटो रोजेका जितबहादुर र उनको शोकाकुल परिवार । तस्बिर : नयाँ पत्रिका
समाचार प्रिन्ट संस्करण

जितबहादुर आत्महत्या प्रकरण : न्याय नपाइने हो कि भन्ने चिन्तामा परिवार

Read Time : > 1 मिनेट
२०८० बैशाख २८ बिहीबार ०९:२०:००

धादिङको ज्वालामुखी गाउँपालिका– ७ चैनपुरका जितबहादुर बयलकोटीले २० वैशाखमा विष सेवन गरे । भोलिपल्ट चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा उनको ज्यान गयो । जितबहादुरका बुबा कृष्णबहादुरका अनुसार कक्षा १२ को परीक्षामा सहभागी हुने तयारीमा रहेका जितबहादुरले अध्ययन गर्ने विद्यालयमा दुई हजार एक सय रुपैयाँ शुल्क तिर्न बाँकी थियो । शुल्कको जोहो गर्न नसकेपछि उनले विद्यालय प्रशासनसँग पछि शुल्क बुझाउने गरी भए पनि प्रवेशपत्र मागेका थिए । तर, नपाएपछि निराश भएर फर्किएको राति विषसेवन गरेका थिए ।

शारीरिक अपांगता भएका कृष्णबहादुर र उनको परिवारका लागि यो घटनाले बज्रपात परेको छ । गत २२ भदौमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेपछि जसोतसो ज्यान बच्यो, तर कृष्णबहादुर अरूको सहारामा पुगे । शारीरिक अपांगताकै कारण उनले छोराको दाहसंस्कारमा सहभागी हुन सकेनन् । जितबहादुरको किरिया उनका ठूलाबुबा र मिलन मिजार र ठूलीआमा धनकुमारी बसेका छन् । अपांगता भएकाले छोराको न्यायका निम्ति उनी दौडधुप गर्न पनि नसक्ने अवस्थामा छन् । त्यसैले पनि उनमा न्याय नपाइएने हो कि भन्ने निराशा देखिन्छ । 

त्यसो त परिवारले घटनालगत्तै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको थियो । तर, त्यसयता कृष्णबहादुरले थप सोधपुछ गर्न सकेका छैनन् । घरमै भेटिएका कृष्णबहादुरले नयाँ पत्रिकासँग भने, ‘प्रहरी अनुसन्धान भइरहेको छ । भरतपुरबाट पोस्टमार्टम रिपोर्ट मगाएका छौँ । थप जानकारी लिन र दिन परे हामी बोलाउँछौँ भनेका छन् । म प्रहरीको अनुसन्धानपछिको दोषीले दण्ड पाउने र छोरोले न्याय पाउने आशामा छु । तर, हामी निमुखाले न्याय पाउँदैनौँ कि भन्ने डर पनि लागिरहन्छ ।’ उजुरी दर्ता भएपछि प्रहरीले जितबहादुरका भाइ गोरेसँग दाजुका विषयमा सोधपुछ गरेको थियो । ‘कुनै केटीसँग माया–प्रेम थियो कि, घरमा झगडा हुन्थ्यो कि, आत्महत्या गर्न कसैले दबाब दिएको थियो कि भनेर सोध्नुभएको थियो,’ गोरेले भने, ‘दाइले आत्महत्या गरेपछि मैले नै प्रहरीमा उजुरी दिएको हुँ । आत्महत्या गर्नुपर्ने अरू कुनै कारण देखेको छैन । त्यसैले प्रहरी अनुसन्धानले न्याय दिलाउला कि भन्ने आशा छ ।’ उनले विद्यालयबाट प्रवेशपत्र नपाउँदा निराश भएर दाइले आत्महत्या गर्ने निर्णयमा पुगेको हुन सक्ने आफूलाई लागेको प्रहरीलाई बताएको जानकारी दिए । 

प्रहरी भन्छ– अनुसन्धान जारी छ
गोरे बयलकोटीको उजुरीपछि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले यसबीच घटनालाई लिएर विद्यालयको व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षकहरू, मृतकको परिवारका सदस्य तथा घटनास्थलनजिकका स्थानीयसँग सोधपुछ गरिएको जानकारी दिए । यसैगरी, मृतकको मोबाइल परीक्षणका लागि ल्याबमा पठाउने प्रक्रिया अघि बढेको तथा पोस्टमार्टमलगायत अस्पतालका रिपोर्ट पनि संकलन गरिरहेको एसपी मिश्रले जानकारी दिए । जितबहादुरको आत्महत्या घटनापछि चैनपुर गाउँ शोकमा छ । गाउँवासी र जितबहादुरका सहपाठीले यो पीडा भुल्न सकेका छैनन् ।