
‘दोस्रो मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्त’ राष्ट्रिय प्रतियोगिता कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भएको छ।
७२औँ मदन स्मृति तथा मदनजयन्तीका सन्दर्भमा मदन भण्डारी स्पोर्टस् एकेडेमी रिङ रेस्लिङ विभागको आयोजनामा आगामी जेठ १३ गते उक्त प्रतियोगिता हुन लागेको हो।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका उपाध्यक्ष तेजविक्रम बस्नेतले ‘सबैका लागि खेलकुद’ भन्ने नाराका साथ प्रदेश तथा राष्ट्रियस्तरको प्रतियोगिता हुन लागेको जानकारी दिए।
विश्वमा मात्रै नभई नेपालमा समेत रिङ रेस्लिङ खेलको सबै उमेर समूहबीच उत्तिकै क्रेज रहेको बताउँदै उनले प्रतियोगितामा महिला र पुरुष खेलाडीबीच विभिन्न क्याटोगरीमा प्रतिस्पर्धा हुने जानकारी दिए।
प्रतियोगिताअन्तर्गत लाइटवेटतर्फ सिजे वर्ल्ड र कम्ब्याटको रोचक भिडन्त हुनेछ । यस्तै, महिलातर्फ तन्नु र आकृति भिड्नेछन्।
यस्तै, ट्याग टिम भिडन्त टुप्पी ग्याङले सुजलको टिमसँग तथा एक्स हिरोबीच तथा हार्डकोर भिडन्तमा चट्टान र स्पाइडर म्यान उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
यता लाइटवेटमा डेभिड र साइनले एक–अर्काको सामना गर्नेछन्। योसँगै नुवाकोटे टाइगर र किङ रोबाेर्ट हेभिवेटतर्फ रोचक भिडन्त हुने आयोजक संस्थाले जनाएको छ।
प्रतियोगितामा लाइट वेटतर्फको विजेताले नगद रु. ५० हजार, ट्याग टिम च्याम्पियनले नगद रु. ५० हजार, लेडिजवेट च्याम्पियनले नगद रु. ६० हजार, मिडलवेट च्याम्पियनले नगद रु. ७० हजार, हार्डकोर च्याम्पियनले नगद रु. ७५ हजार र हेभिवेट च्याम्पियनले नगद रु. एक लाख पाँच हजार प्राप्त गर्नेछन्।
साथै सबै विजेतालाई नगदका साथमा मेडल, प्रमाणपत्र च्याम्पियन बेल्ट प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताले कर्णाली प्रदेशवासी खेलप्रेमीहरूको ध्यान आकृष्ट गर्न सफल हुनुका साथै कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदको प्रचारप्रसारमा समेत सहयोग पुग्ने विश्वास लिएको उपाध्यक्ष बस्नेत बताए।
आयोजकका अनुसार प्रतियोगितामा दर्शकहरूका लागि प्रवेश निःशुल्क रहनेछ।
कर्णाली खेलकुद् परिषद् विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा एकेडेमीका उपमहासचिव सुवर्ण श्रेष्ठ, सचिव सन्जु महर्जन, मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य टीका विष्टलगायतको सहभागिता थियो।