१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
रमेश सुवेदी काठमाडाैं
Invalid date format o६:१६:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिसी प्रिमियर कप फाइनल ‘रिजर्भ डे’मा

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१६:oo

फाइनल ‘रिजर्भ डे’मा जाँदा युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको छ, आज यहीँबाट ब्याटिङ गर्दै छ । धारिलो  बलिङ गरेको नेपालको सहजै जित निकाल्ने योजना छ । वर्षाका कारण खेलै नभए नेपाल वरीयताअनुसार सीधै एसिया कपमा छनोट हुनेछ ।

एसिसी प्रिमियर कपको फाइनल खेल मंगलबार ‘रिजर्भ डे’मा हुने भएको छ । घरेलु टोली नेपाल र युएईले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । तर, पहिलो ब्याटिङको क्रममा इनिङ्सको २७.३ ओभरपछि खेल रोकियो । वर्षाका कारण खेल अगाडि बढाउन नसकिएपछि फिल्ड अम्पायर विनोद बाबु र राहत अलीले दिउँसो ३ बजेपछि नेपाल र युएईबीचको फाइनल खेल रिजर्भ डेमा गर्ने निर्णय गरे । खेल रोकिँदा टस हारी पहिलो ब्याटिङ गरेको युएईले आज १०६–९ को स्थितिबाट बिहान ९ बजे खेल सुरु गर्नेछ । 

इनिङ्सको १६औँ ओभर चलिरहँदा पहिलोपटक वर्षाले खेल रोकियो । यसवेला युएई ६०–६ को कमजोर अवस्थामा थियो । निरन्तर वर्षा भइरहँदा प्राविधिकहरूले आउटफिल्ड र मुख्य पिचलाई त्रिपालले ढाकेका थिए । दोस्रोपटकको भारी वर्षाले खेल रोकिँदा हजारौँ दर्शक निराश हुँदै घर फर्किए । एसियन क्रिकेट परिषद् (एसिसी)ले फाइनल खेलमा पनि वर्षा हुने भएपछि ‘रिजर्भ डे’ (रोकिएको खेल अर्काे दिन हुने) नियम बनाएको छ । यसअघि दुई सेमिफाइनल र तेस्रो स्थानको खेल पनि वर्षाले प्रभावित भएका थिए । 

आज पनि वर्षा भए के हुन्छ ?
युएईको पूरा इनिङ्सपछि नेपालले लक्ष्य पछ्याउनेछ । मंगलबारसमेत वर्षा हुने पूर्वानुमान गरिएको छ । वर्षाले खेल रोकिएको खण्डमा एसिसीले विजेता टोली घोषणा गर्न विभिन्न नियम बनाएको छ । रिजर्भ डेमा पनि वर्षा हुँदा खेलको छिनोफानो सुपर ओभरबाट हुन सक्छ । डिएलएस प्रणालीबाट नतिजा निकाल्न दोस्रो इनिङ्सको खेल २० ओभर पूरा हुनुपर्छ । यो अवस्थामा दोस्रो ब्याटिङ गरेको टोलीले नयाँ लक्ष्य प्राप्त गर्नेछ । दोस्रो ओभरको खेल २० ओभर नहुँदा खेलको नतिजा सुपर ओभरबाट हुने प्रावधान रहेको छ । 

सुपर ओभरसमेत खेल खेलाउन नसक्ने अवस्था भए ‘नो रिजल्ट’का आधारमा विजेता घोषणा हुनेछ । फाइनलको नो रिजल्टमा एकदिवसीय वरीयताका आधारमा विजेता घोषणा हुनेछ । नेपाल र युएईले आइसिसीको एकदिवसीय वरीयता प्राप्त गरेका छन् । यस्तो समीकरणमा नेपाल आइसिसीको एकदिवसीय वरीयतामा युएईभन्दा माथि रहेकाले सीधै एसिया कप खेल्नेछ । नेपाल वरीयतामा १४औँ र युएई १९औँ स्थानमा रहेका छन् । एसिसी प्रिमियर कपको विजेताले सेप्टेम्बरमा हुने एसिया कपको समूह ‘ए’मा भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ । नेपाल र युएईको लक्ष्य नै एसिया कप खेल्ने हो ।

नेपालको सानदार प्रदर्शन
नेपालले ३.१ ओभरमा पहिलो विकेट हात पार्‍यो । तीव्र गतिका बलर सोमपाल कामीले ११ रनमा खेलिरहेका कप्तान मुहम्मद वासिमलाई पेभिलियन फर्काए । ४.५ ओभरमा युएईले दोस्रो विकेट गुमायो । आठ रन जोडेका भृत्या अरविन्दालाई करण केसीले विकेटकिपर आसिफ शेखबाट क्याच गराए । ८.१ ओभरमा तेस्रो विकेट गुमाएको युएई दबाबमा देखियो । अर्का ओपनर आर्यनलाई करणले आरिफको हातबाट क्याच गराए । इनिङ्सको ९.१ ओभरमा युएई ३५–४ को अवस्थामा रह्यो । रोहन मुस्तफालाई सन्दीप लामिछानेले कुशल मल्लबाट क्याच गराए । 

ह्याट्रिकको प्रतीक्षामा ललित
टस जितेर फिल्डिङ रोजेको नेपाली बलरले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । नेपाली सबै बलरले घातक बलिङ गरेका कारण नै बलियो युएईको ब्याटिङ कमजोर देखिएको हो । बलिङमा मात्र नभएर नेपाली खेलाडीले फिल्डिङमा समेत उत्कृष्ट प्रदर्शन गरे । नेपालका ललित राजवंशीले सर्वाधिक तीन विकेट लिएका छन् । ललित अहिले ह्याट्रिकनजिक छन् ।

वर्षाले खेल रोकिनुअघि ललितले इनिङ्सको २७.२ ओभरमा आसिफ खानलाई आरिफ खानबाट क्याचआउट गराए । त्यसपछि इनिङ्सको २७.३ ओभरमा उनले जाहुर खानलाई आसिफबाट क्याचआउट गराउँदै लगातार बलमा विकेट लिए । रिजर्भ डेमा ललितले नै बलिङ गर्नेछन् । उनले फ्याँकेको पहिलो बलमै विकेट लिँदा ह्याट्रिक पूरा हुनेछ । अहिलेसम्म ललितले ४.३ ओभरमा एक मेडनसहित पाँच रन खर्चिएका छन् । 

एसिया कप अन्योलमा 
त्रिवि मैदानमा नेपाल र युएई सेप्टेम्बरमा एसिया कपमा सहभागी हुन प्रतिस्पर्धा गरिरहेका छन् । तर, पाकिस्तानमा एसिया कप २०२३ हुने वा नहुने भन्ने अन्योलपूर्ण स्थिति उत्पन्न भएको छ । प्रतियोगितामा सहभागी भारतले पाकिस्तानमा गएर नखेल्ने अडान राखेको छ ।

पाकिस्तानबाहेक अन्य राष्ट्र (तटस्थ भूमि)मा आफू खेल्न राजी भएको भारतीय पक्षको भनाइ छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले पाकिस्तानमा आफ्ना खेलाडीले भाग नलिने जनाएको छ । पाकिस्तानले भने प्रतियोगिता आफ्नै भूमिमा हुनुपर्ने र आयोजना गर्न तयार भएको जनाएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले आफ्नो अडान त्यागेको छैन । 

पिसिबीले गत महिना भएको एसियन क्रिकेट काउन्सिल (एसिसी)को बैठकमा एसिया कपका लागि हाइब्रिड मोडल प्रस्तुत गरेको थियो । जसअन्तर्गत अन्य टोलीले पाकिस्तानमा खेल्नेछन् भने भारतीय टोलीले अर्को देशमा खेल्ने प्रस्ताव गरेको छ । गत महिना पिसिबीका अध्यक्ष नजम सेठीले हाइब्रिड मोडल प्रस्तुत गर्दा एसिसीका अध्यक्ष जय शाहले सोही मोडलमा चासो देखाएका थिए । 

शाहले एसिया कपको स्थल टुंगो लगाउन काउन्सिलले अन्य सहभागी देशको सुझावको प्रतीक्षा गरिरहेको बताएका थिए । ‘हामी २०२३ को एसिया कपका लागि स्थान र भारत–पाकिस्तान खेलको बारेमा स्पष्टतालाई अन्तिम रूप दिन अन्य राष्ट्रको प्रतिक्रियाको पर्खाइमा छौँ,’ शाहले भनेका छन् । यसैबीच, भारतीय मिडियाले एसिया कप सेप्टेम्बरमा पाकिस्तानमा हुन नसक्ने र युएईले आयोजना गर्न सक्ने दाबी गरेका छन् । श्रीलंकाले प्रतियोगिता आयोजनाका लागि तयार रहेको धारणा राखेको छ । यता, पाकिस्तानले एसिया कप पाकिस्तानमै आयोजना गर्नुबाहेक अन्य कुनै पनि विकल्पको पक्षमा आफूहरू नरहेको स्पष्ट पारेको छ । भारत र पाकिस्तानबीचको यही खिचातानीले एसिया कप आयोजना अन्योलमा परेको हो ।