१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १५:४५:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकीले आज मुख्यमन्त्री पाउने, कांग्रेसका पाण्डेको दाबी पेस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४५:oo

गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दाबी पेस गरेका छन्।

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय आज ४ बजे सकिँदै छ। गण्डकीमा कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि पहिले कसले नेतृत्व गर्ने भन्नेमा दुवै दलले दाबी गरेपछि नयाँ सरकार गठनमा ढिलाइ भएको हो। अन्ततः कांग्रेसले नेतृत्व गर्ने सहमति भएको हो।

सरकारको नेतृत्वलाई लिएर गठबन्धनमा रहेका दलहरूबीचको किचलोका कारण प्रदेश प्रमुख पृथ्वीमान गुरुङले समेत तीन दिनसम्म सरकार गठन आह्वान गर्न सकेका थिएनन्। सोमबार केन्द्रमा सहमति भएसँगै प्रदेश प्रमुखले मंगलबार संविधानको धारा १६८ को (२) अनुसार बिहीबार ४ बजेसम्मको समय दिएर सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए।

बिहीबार कांग्रेस र माओवादी केन्द्र संसदीय दलका नेताको बैठकपछि सरकारको दाबीका लागि पाण्डे गएका हुन्। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। पाण्डेलाई कांग्रेस, माओवादी र एक स्वतन्त्र सांसदको समर्थन रहेको छ।

६० सदस्य प्रदेश सभामा बहुमतको सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक हुन्छ। प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुखसहित आठ, राप्रपाका दुई र एक स्वतन्त्र सांसद छन्।

यसअघि गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री थिए। गत २५ पुसमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

एमाले, माओवादी र राप्रपाको समर्थन रहेका अधिकारी १० चैतमा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए। उनी ९ वैशाखमा विश्वासको मत लिन असफल भएका थिए। अधिकारी पदमुक्त भएको ६ दिनमा गण्डकीले नयाँ मुख्मन्त्री पाउन लागेको हो।