मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ चैत १७ शुक्रबार १८:२८:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

ताप्लेजुङमा २१ चैतदेखि औद्योगिक, कृषि तथा पर्यटन मेला

Read Time : > 1 मिनेट
२०७९ चैत १७ शुक्रबार १८:२८:००

स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुको पहिचान तथा प्रर्बद्धनका लागि ताप्लेजुङमा औद्योगिक कृषि तथा पर्यटन मेला आयोजना हुने भएको छ । कोशी प्रदेशका स्थानीय स्तरमा उत्पादित तथा नेपालका मुख्य कृषि वस्तुहरु राखिने मेला चैत २१ देखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

स्थानीय स्तरमा उत्पादन भई १४ जिल्लाको पहिचान खुल्ने र स–साना व्यवसाय प्रवद्र्धनको लागि मेला कोषेढुङ्गा सावित हुने आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ र घरेलु कार्यालय ताप्लेजुङले जनाएको छ ।

मेलाको मुख्य प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, फुङलिङ नगरपालिकासहित ताप्लेजुङका सबै स्थानीय तह र कोशी प्रदेशको खेलकुद विकास बोर्ड रहने घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिए 

भारतीका अनुसार मेलामा परम्परागत पेशा व्यवसायको प्रत्यक्ष अवलोकन, मौलिक खाद्य महोत्सव, अन्तराष्ट्रिय कञ्चनजंघा फोटो प्रदर्शनी, ताप्लेजुङका पर्यटकीय गन्तव्यको जानकारी र कृषि, पशु, वन तथा जडिबुटीजन्य उत्पादनको प्रदर्शनी हुनेछ । 

यस्तै पर्यटन प्रवद्र्धनमा केन्द्रित रहेर कविता प्रतियोगिता र दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागितामा सांस्कृतिक तथा सांगितिक कार्यक्रम हुने अध्यक्ष भारतीले बताए । महोत्सवका बेला होमस्टे प्रवद्र्धन कार्यक्रमलाई बिशेष प्राथमिकता दिईने र नवआगन्तुकलाई होमस्टेमा खाने–बस्ने प्रवन्ध गर्ने आयोजक संस्थाको तयारी रहेको छ ।

डोको क्यारी रन प्रतियोगितासमेत आयोजना हुने बताइएको छ । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । कविता प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पाउने छन् ।

त्यसैगरीm स्थानीय तहमा लोप हुन लागेका डोको बुन्ने प्रतियोगिताका बिजेताले १० हजार, उपबिजेताले ५ हजार र फस्ट रनरअपले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । सहभागी सबैले नगद ५ सयका दरले प्रोत्साहन रकम पाउने छन् ।

मेलामा नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले टपरी बुन्ने प्रतियोगिता समेत राखिएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेले २ हजार, द्वितीय हुनेले १ हजार र तृतीय हुनेले नगद ५ सय रुपैयाँ पाउनेछन् ।