
मन्त्रालय बाँडफाँटमा रास्वपाको भाग नदेखिए पनि सत्तागठबन्धनभित्र उसका लागि तीन मन्त्रालय सुरक्षित राखिएको छ । गठबन्धन बैठकमा सहभागी एक नेताका अनुसार रास्वपाका लागि ठूला दलहरूबीच मन्त्रालय ‘होल्ड’गर्ने सहमति भएको छ । ‘त्यो माओवादी र कांग्रेसको जिम्मामा छ,’ ती नेताले भने, ‘रास्वपाको भागमा तीनवटा मन्त्रालय छ ।’
रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले प्रधानमन्त्री प्रचण्ड र सभापति रवि लामिछानेबीच सरकारमा जाने विषयमा संवाद भइरहेको बताए । ‘न्यूनतम साझा कार्यक्रम चित्तबुझ्दो भएको अवस्थामा हामी सरकारमा जान्छौँ,’ उनले भने । त्यस्तै, रास्वपा महामन्त्री मुकुल ढकालले यसअघि लिएको साबिकको मन्त्रालय पाएको अवस्थामा आफूहरू सरकारमा जान सकारात्मक रहेको बताए ।
यसअघि रास्वपाले गृहसहित शिक्षा र श्रम मन्त्रालय पाएको थियो । लामिछाने अहिले पनि आफ्नो नेतृत्वमा सरकारमा जान चाहन्छन् । तर, गैरसांसदलाई मन्त्री बनाउन नहुने मत गठबन्धन बैठकभित्र उठेपछि तत्काल रास्वपा सरकारमा सहभागी हुने अवस्था नबनेको एक नेताले बताए ।
कांग्रेस र माओवादीले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा चुनावी गठबन्धन गरेर जानुपर्ने प्रस्ताव रास्वपासँग राखेका छन् । तर, महामन्त्री ढकाल आफूहरू चुनावी गठबन्धनका लागि सहमत नभएको बताउँछन् । ‘हामी तीनवटै क्षेत्रमा उम्मेदवार उठाउँछौँ,’ उनले भने ।