मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १३ सोमबार ०६:३६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भुटानी शरणार्थीका नाममा करोडौँ असुली : उजुरी दिएको एक वर्षपछि तीनजना पक्राउ

पैसा असुले पनि शरणार्थी बनाएर विदेश पठाउन नसकेपछि पीडितहरू प्रहरीमा पुगेका थिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १३ सोमबार ०६:३६:००

 गृह मन्त्रालयकै सहयोगमा भुटानी शरणार्थीको परिचयपत्र बनाएर विदेश लैजाने भन्दै पैसा असुलेको घटनामा बल्ल प्रहरीले अनुसन्धान सुरु गरेको छ । उजुरी परेको करिब एक वर्षपछि यसमा संलग्नहरू पक्राउ पर्न थालेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरेको छ । यो संगठित ठगीको घटनामा गृह मन्त्रालयकै केही अधिकारीको समेत संलग्नता रहेको प्रहरी अधिकारी बताउँछन् । 

चार वर्षअघि गृह मन्त्रालयले दर्ता छुट भएका भुटानी शरणार्थीको विषयमा एक अध्ययन समिति गठन गरेको थियो । समितिले चार सय २९ जना छुट भएको प्रतिवेदन दियो । जसमा गैरशरणार्थीलाई पनि राखिएको र सोही आधारमा ठूलो आर्थिक चलखेल भएको स्रोत बताउँछ । पैसा असुले पनि शरणार्थी बनाएर विदेश पठाउन नसकेपछि पीडितहरू प्रहरीमा पुगेका थिए । प्रतिव्यक्ति १० लाखका दरले त्यतिवेला पैसा उठाइएको थियो । जसमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसमेत मुछिएका थिए । उनले समेत कतिपय व्यक्तिलाई भेटेर आफूले सहयोग गर्ने बताएका थिए ।

उनका छोरा नीरज राईले पैसा नै लिएको भनेर उजुरी परेको छ । त्यतिवेला उच्चपदस्थ व्यक्तिलाई समेत बुझाउन पैसा उठाइएको थियो । आश्वासनअनुसार नै गृह मन्त्रालयले त्यतिवेला समिति बनाएपछि ढुक्क भएर सर्वसाधारणले पैसा बुझाएका थिए । गृह मन्त्रालयकै पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा भुटानी शरणार्थीको स्थायी तथा दीर्घकालीन समस्या समाधानको विषयमा अध्ययन समिति गठन भएको थियो । समिति गठन नै त्यतिवेला चलखेलका आधारमा भएको गृह मन्त्रालय स्रोत बताउँछ ।

दबाबकै कारण तत्कालीन गृहसचिव प्रेमकुमार राईले समिति बनाएका थिए । जसमा सदस्यसमेत गिरोहकै प्रभावमा छानिएको थियो । सदस्यमा गृहकै एक अधिकृत र एक कानुन व्यवसायी सदस्य थिए । विवादपछि सो प्रतिवेदन कार्यान्वयन रोकिएको छ ।

डेढ वर्षअघि प्रतिवेदन कार्यान्वयन अघि बढाउने प्रयास भए पनि सो असुलीबारे खुलेपछि रोकिएको मन्त्रालयका एक अधिकारी बताउँछन् । प्रहरीले गत वर्ष नै अनुसन्धान थाले पनि दबाबका कारण अभियुक्तलाई पक्राउ गर्न सकेको थिएन । सो गिरोहका सदस्यमध्ये एक सन्देश शर्मालाई पक्राउ गरेर पनि दबाबको भरमा छाडिएको अपराध अनुसन्धान कार्यालयका एक अधिकृत बताउँछन् । पैसा उठाउने र राजनीतिक नेतृत्वलाई बुझाउने उनै थिए ।