मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १२ आइतबार ११:२९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मौसम परिवर्तनमा देखिन्छन् यस्ता समस्या 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १२ आइतबार ११:२९:००

मौसम परिवर्तन भइरहेको अहिलेको समयमा मानिसहरू विभिन्न रोगबाट संक्रमित भइरहेका छन् । अहिले धेरैजसोमा विशेषगरी भाइरल ज्वरो ‘मौसमी फ्लु’को संक्रमण देखिएको छ । विगतको तुलनामा यसपटक मौसमी फ्लु निकै कडा देखिएको छ । ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, छाती दुख्ने, रुघाखोकी, टन्सिललगायत समस्या लिएर मानिसहरू अस्पताल आउने क्रम बढेको छ । गर्मी बढ्दै जाँदा अझै धेरै समस्या देखिन सक्ने भएकाले हामीले आफ्नो जीवनशैलीमा विशेष ध्यान दिन जरुरी छ । 

इन्फ्लुएन्जा 
मौसम परिवर्तनको समय धेरैमा देखिने समस्या इन्फ्लुएन्जा हो । तापक्रममा हुने उतारचढावको असरस्वरूप यस्तो समस्या देखिन्छ । बिरामीमा ज्वरो, रुघाखोकी आउने, जिउ दुख्नेलगायत समस्या देखिन्छ । दिनभरको चर्को घाम र बिहान–बेलुकी चिसो हुने अहिलेको समयमा यस्ता रोगका बिरामी बढ्ने गरेका छन् । यसबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ, चिसो हावाबाट शरीरलाई जोगाउनुपर्छ । नियमित रूपमा साबुनपानीले हात धुनुपर्छ । त्यस्तै, भाइरल ज्वरो आएका मानिसको सम्पर्कबाट टाढा रहनुपर्छ । आफूलाई ज्वरो आएको छ भने पनि अन्यसँग भेट्नुहुँदैन । हाछ्युँ आउँदा बाहुलीले छोपेर गर्नुपर्छ । सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, नियमित रूपमा मास्क लगाउने, बालबच्चा र वृद्धवृद्धालाई भिडभाडमा नलैजाने, घरमै पकाएको खानेकुरा विशेषगरी हरियो सागसब्जी, फलफूल र झोलिलो पदार्थ खाने गर्नुपर्छ । 

डेंगु 
गर्मी बढ्दै जाँदा लामखुट्टेले सताउने गर्छ । अहिले तराईका जिल्लामा लामखुट्टेको टोकाइबाट दुःख दिन थालिसकेको छ । एडिज प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगुले मानिसलाई निकै गलाउँछ । उच्च ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिब्रोको स्वाद बिग्रने, भोक कम लाग्ने, शरीर कटकट खानेलगायत विभिन्न समस्या देखिन्छन् । डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । लामखुट्टेको टोकाइबाट देखिने अर्को समस्या मलेरिया पनि हो । यसबाट बच्न पनि घरको सरसफाइमा विशेष जोड दिनुपर्छ । घरवरपरको खाल्डाखुल्डी समयमै पुर्नुपर्छ । पानी जम्न दिनुहुँदैन । गर्मीमा झुलको प्रयोग अनिवार्य गर्नुपर्छ वा लामखुट्टे भगाउने धुपको प्रयोग गर्नुपर्छ । झाडी तथा जंगलमा निस्कँदा पूरै बाहुला भएको कपडा मात्रै लगाएर निस्कनुपर्छ ।  

झाडापखाला
यस मौसममा खानपान राम्रो नहुँदा झाडापखालाको समस्या देखिन्छ  । विशेषगरी बालबालिकामा यो समस्या धेरै देखिने गरेको छ । यसबाट बच्न शुद्ध र उमालेको पानी मात्रै पिउनुपर्छ । बासी खाना खानुहुँदैन । घरमै पकाएका खानेकुरा खानुपर्छ । बजारमा पाइने जंकफुड तथा अस्वस्थकर खानेकुरा खानुहुँदैन । 

स्क्रब टाइफस
एक प्रकारको संक्रमित किर्नाको टोकाइबाट स्क्रब टाइफस लाग्छ ।  यस्तो किर्ना जुम्राजस्तै सानो हुन्छ । मुसाको कान वा अन्य जीवजन्तुमा यो किर्ना देखिन्छ र मानिसमा सर्छ । यस्ता किर्नाले टोकेमा १०४ डिग्रीसम्म ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, खोकी लाग्ने, गर्दन र घाँटीवरपर मसिना बिबिरा आउने, धेरै पसिना आउने, ग्रन्थिहरू सुन्निदै जाने गर्छ । यस मौसममा जंगल वा झाडीमा जाँदा किर्नाले टोकेर यो रोग लाग्ने गर्छ । त्यसैले फोहोर ठाउँमा सकभर जानुहुँदैन । झाडी भएका ठाउँमा जाँदा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । घर सफा राख्नुपर्छ । 

सिओपिडी दम
सिओपिडी दम जाडो मौसममा मात्रै नभएर मौसम परिवर्तनको समयमा पनि विकराल समस्याका रूपमा देखिने गरेको छ । विशेषगरी, प्रदूषण र धुलो–धुवाँका कारण यो समस्या देखिन्छ । यस्तो समस्या धेरैजसो वृद्धवृद्धामा देखिने गरेको छ । धूम्रपान गर्नेहरूमा पनि यो समस्या देखिने जोखिम रहन्छ । सिओपिडी दमका कारण श्वासप्रश्वासमा समस्या आउने, खोकी निरन्तर लाग्ने, छातीको संक्रमण देखिने, खुट्टा सुन्निनेलगायत समस्या देखिन्छन् । त्यसैले प्रदूषित ठाउँमा जानुहुँदैन । धूम्रपान गर्नुहुँदैन । 

कस्तो खानपान गर्ने ?
शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउनका लागि नियमित व्यायाम र सन्तुलित खानपान जरुरी हुन्छ । गेडागुडी, हरियो सागपात, झोलिलो खानेकुरा, फलफूल, अन्डालगायत पौष्टिक आहार लिनुपर्छ । घरमै बनाइएका स्वस्थ खानेकुरा खानुपर्छ । अत्यधिक चिल्लो, पिरो र जंकफुडबाट टाढै बस्नु राम्रो हुन्छ ।