१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
अभिषेकविक्रम शाह
२o८१ बैशाख २४ सोमबार १o:३७:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

पर्यटक भित्र्याउन अक्षम्य अलमल

Read Time : > 4 मिनेट
अभिषेकविक्रम शाह
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:३७:oo

नेपालले कनेक्टिभिटी बढाउन र पर्यटन प्रवर्द्धनको ठोस नीति बनाएर कार्यान्वयन गर्न नसक्दा उचित लाभ लिन सकिएको छैन 

काेभिड महामारीले करिब शून्यमा झरेको पर्यटन उद्योग बिस्तारै तंग्रिन खोजिरहेको छ । पूरै लयमा फर्किन अझै समय लाग्ने देखिन्छ । ०७२ मा भूकम्पले खस्किएको पर्यटन चाँडै रिकभर भएको थियो । तर, कोभिडको प्रभाव भने लम्बिँदै गइरहेको छ । नेपालको पर्यटन कोभिडअघिकै अवस्थामा फर्किन अझै कम्तीमा दुई वर्ष लाग्ने देखिन्छ । 

सन् २०२२ मा पर्यटक आगमन ५० प्रतिशत रिकभर भएको तथ्यांक पर्यटन बोर्डले सार्वजनिक गरेको छ । तर, तीन वर्षसम्म महामारीले थला परेको होटेल तथा पर्यटन उद्योग लयमा फर्किने सुरसार छैन । अहिले पनि एकाधबाहेक धेरै होटेल करिब २५ प्रतिशत अकुपेन्सीमा मात्रै सञ्चालन भइरहेका छन्, जब कि कुनै पनि होटेल ‘ब्रेकइभन’मा चल्न ४० प्रतिशतभन्दा बढी अकुपेन्सी हुनुपर्छ । होटेलको आम्दानीले कर्मचारीलाई तलब खुवाउन सक्ने स्थिति छैन, बैंकको साँवा–ब्याजको किस्ता कसरी बुझाउने ? 

पर्यटक आगमन कम र उच्च ब्याजदरले अधिकांश होटेल संकटमा छन् । कतिपय होटेल÷रिसोर्ट बिक्रीका लागि राख्न थालिएको छ । निर्माणाधीन होटेलहरू ‘पोस्टपोन्ड’ भइरहेका छन् । यो पर्यटन क्षेत्रका लागि सुखद समचार होइन । कुनै पनि लगानीकर्ता डुब्ने र व्यवसायबाटै पलायन हुने अवस्था आउनुहुँदैन । 

कोभिडअघि पर्यटनमा चाँदीको घेरा देखिन थालिसकेको थियो । सन् २०१७ देखि ०१९ सम्म पर्यटक बढिरहेका थिए । सन् २०१९ मा झन्डै १२ लाख पर्यटक भित्रिए, जुन अहिलेसम्मकै उच्च थियो । सरकारले वर्षमै २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गर्‍यो । निजी क्षेत्रले पनि उत्साहित हुँदै पर्यटन क्षेत्रमा ठूलो लगानी खन्यायो । देशैभर नयाँ तारे होटेल खोल्ने र पुराना होटेलको क्षमता विस्तार गर्ने होडबाजी नै चल्यो । केबलकार, रिसोर्ट, बन्जी, जिपलाइनलगायत विभिन्न पर्यटकीय प्रडक्टमा ठूलो लगानी ओइरिएको छ ।

पर्यटनमा उज्ज्वल भविष्य देखेरै व्यवसायीले लगानी खन्याएका हुन् । ठूला घराना पनि यही वेला हस्पिटालिटी उद्योगमा प्रवेश गरे । उत्साहबीच सन् २०२० को सुरुवातदेखि नै विश्वभरि कोभिड फैलिन थाल्यो । ११ चैत ०७६ मा नेपालमा पनि लकडाउन भयो । सुरुमा केही हप्ता वा महिना मात्र कोभिड फैलिएला भन्ने अनुमानविपरीत दुई वर्षसम्म महामारी कम नहुँदा जुर्मुराउँदै गरेको नेपाली पर्यटन उद्योग गल्र्यामगुर्लुम ढल्यो । 

तीन वर्षसम्म कोभिडले थला परेको होटेल लयमा फर्किने सुरसार छैन । अहिले पनि एकाधबाहेक धेरै होटेलको अकुपेन्सी २५ प्रतिशत मात्रै छ । जब कि कुनै पनि होटेल ‘ब्रेकइभन’मा चल्न कम्तीमा ४० प्रतिशत अकुपेन्सी हुनैपर्छ ।
 

झन्डै दुई वर्ष पर्यटन पूरै शून्यमै रह्यो । २०२२ को मध्यदेखि पर्यटक आगमन बढ्न थालेको देखिन्छ । आन्तरिक पर्यटनमा पनि एक किसिमको माहोल सिर्जना भयो । एक वर्षमा ६ लाख १५ हजार पर्यटक भित्रिए । आन्तरिक मुभमेन्टसमेत बढेपछि पर्यटन उद्योगले केही राहत महसुस त गर्‍यो, तर पछिल्लो समय ह्वात्तै बढेका होटेल तथा रिसोर्टहरूमा यति पर्यटक नगन्यसरह नै हो । नेपालको पर्यटनमा खर्बौं लगानी भइसकेको छ । पछिल्लो समय ठूलो लगानीका तारे होटेल र केबलकार सञ्चालनमा आएका छन् । करिब ६० अर्ब लगानीका पाँचतारे होटेल निर्माण सकिएर सञ्चालनको अन्तिम तयारीमा छन् । आधा दर्जन हाराहारी केबलकार निर्माण तथा निर्माणको प्रक्रियामा छन् । काठमाडौं, धुलिखेल, नगरकोट, पोखरा, चितवन, भैरहवा–लुम्बिनीलगायतका ठाउँमा होटेलमा ठूलो लगानी भइसकेको छ । देशैभर होटेल, रिसोर्ट, केबलकार, बन्जी, जिपलाइनको बहार आइरहेको छ । तर, सोचेजस्तै पर्यटक नआउँदा खर्बौं लगानी डुब्ने डरले लगानीकर्ता आतंकित छन् । 

सम्भावनैसम्भावना तर बेवास्ता ः नेपालमा पर्यटकीय प्रडक्ट नभएर पर्यटक नआएका भने होइनन् । नेपाल पर्यटनका लागि ‘गड गिफ्टेड’ हो । धार्मिक, सांस्कृतिक, प्राकृतिक, साहसिक, वाइल्डलाइफ, ट्रेकिङका लागि नेपाल विश्वकै उत्कष्ट मुलुक हो । विश्वका ठूला हिमालदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी यहीँ छ । निजी क्षेत्रले पनि पर्यटकीय प्रडक्टमा ठूलो लगानी गरिसकेका छन् । तर, नेपालले कनेक्टिभिटी बढाउन र पर्यटन प्रवर्द्धनको ठोस नीति बनाएर कार्यान्वयन गर्न नसक्दा लाभ लिन सकिएको छैन ।

नेपाली अर्थतन्त्रका मुख्य खम्बामध्ये पर्यटन पनि एक हो । विदेशी मुद्रा भित्र्याउने प्रमुख माध्यम नै पर्यटन हुनुपर्थ्यो । अघिल्लो सरकारले २०२३–२०३३ लाई पर्यटन दशक घोषणा गरेर पर्यटन प्रवर्द्धन गर्ने भनेको थियो । तर, सरकार परिवर्तन भएसँगै पर्यटन दशक पनि सेलायो । अहिले नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६–२०२५) कार्यान्वयनमा छ । तर, पर्यटन प्रवर्द्धनमा कुनै ‘माखो’ मार्न सकेको देखिँदैन । एकातिर कोभिडले अन्योल ल्यायो । अर्कोतिर मन्त्रीहरू फेरिइरहँदा पनि दीर्घकालीन नीति र भिजन नै भएन । 

अघिल्ला पर्यटनमन्त्रीले पर्यटन क्षेत्र पुनरुत्थानका लागि ७३ बुँदे कार्ययोजना ल्याए । कोभिडबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न एक महिनादेखि दीर्घकालसम्म निरन्तरता दिइरहने योजना समेटिएका थिए । होमस्टे सञ्चालनदेखि पर्यटन नीति, हवाई नीति, राष्ट्रिय नीति, पर्यटन ऐन, पर्यटन बोर्ड ऐन, प्रतिलिपि अधिकार ऐन, पर्वतारोहण नियमावलीलगायतमा सुधार तथा संशोधन गरी पर्यटन पुनरुत्थान गर्ने घोषणा गरिएको थियो । पर्यटन उद्योगलाई विभिन्न सेवाशुल्कमा छुट तथा सहुलियत दिनेदेखि २०२३ मा १० लाख पर्यटक भित्र्याउने र पर्यटन क्षेत्रको पुनरुत्थानका लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई समेत निरन्तरता दिने कार्ययोजनामा उल्लेख थियो ।

पर्यटन मन्त्रालयले २०१५ मा देशभर ओझेलमा परेका एक सयवटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने भनेर घोषणा गर्‍यो । देशका विभिन्न ठाउँमा हिल स्टेसन प्रवर्द्धन गरेर पर्यटकीय गतिविधि बढाउने भन्यो । तर, घोषणा गरेपछि कार्यान्वयनमा खासै पहल गरेको देखिँदैन । सरकारले घोषणा गरेका नयाँ पर्यटकीय गन्तव्य र हिल स्टेसनहरू बत्ती, पानी, सडकलगायत पूर्वाधार निर्माण गर्नुपर्थ्यो । न्यूनतम पूर्वाधार बनाएर पर्यटक बढ्न थालेपछि निजी क्षेत्रले लगानी गरिहाल्थ्यो । सरकारले नयाँ गन्तव्यको लिस्ट निकालेर मात्र हुँदैन, कार्यान्वयन गर्न सक्नुपर्छ । 

कोभिडपछि तनहुँको मानुङकोट एकाएक भाइरल बन्यो । तर, अहिले गुमनामजस्तै छ । यदि सरकारले बत्ती, पानी, सडकलगायत सुविधा पुर्‍याएर निजी क्षेत्रका लागि लगानीका लागि आह्वान गरेको भए अहिले पनि मानुङकोट गुल्जार हुन्थ्यो ।  खासमा, नेपालमा हिल पर्यटन सफल हुन्छ । पहिला चन्द्रागिरि डाँडामा चार–पाँच सय मान्छे जान्थे होलान् । अहिले वर्षमै ८–१० लाख पुग्छन् । मनकामना पनि त्यही हो । काठमाडौंबाहिर पनि थुप्रै हिल स्टेसन तयार भइसकेका छन् । डाडाँमा भ्यु टावर होइन, त्यहाँ पुग्ने सडक, बत्ती, पानी र खान बस्नका लागि होटेल रिसोर्ट खोल्नुपर्छ । प्रकृतिको रानी रारा भनेर मात्र पुग्दैन । अहिले पनि त्यहाँ पुग्न कठिन छ । हवाई टिकट लिन लाइन बस्नुपर्छ । अझ उडानको टुंगो छैन । टिकट ब्ल्याकमा किन्नुपर्ने हुन्छ । सकड राम्रो हुनुपर्ने थियो, त्यो पनि भएन । त्यहाँ पुग्ने मात्र होइन, खानेबस्ने सुविधा पनि राम्रो हुनुपर्छ । नेपाल आउने अधिकांश पर्यटक आरामका लागि हो । शान्तसँग बस्ने, ट्रेकिङ गर्ने, मेडिटेसन गर्ने वातावरण हुनुपर्छ । स्ट्रेस फ्री हुनका लागि आउने पर्यटकलाई राम्रो ठाउँ देखाउने, मौलिकता देखाउने, मिठो परिकार खुवाउने हो नि । तर, यहाँ प्लेन डिले हुने, धुलो खाएर हिँड्नुपर्ने, खाल्डाखुल्डी सडकमा सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कुनै पर्यटक स्ट्रेस फ्री भएर घुम्न र आरामदायी यात्रा गर्न चाहन्छ । 

लुम्बिनी र पोखरामा एयरपोर्ट बने । एयरपोर्ट निर्माण सुरु भएपछि होटेल तथा रिसोर्टमा ठूलो लगानी भएको छ । तर, एयरपोर्ट सञ्चालनमा आएको ९ महिना बितिसक्दा पनि एउटा फ्लाइट हुन सकेको छैन । सरकार भैरहवामा एउटा फ्लाइट गरेर चित्त बुझाएर बसेको छ । पहिल्यै वर्कआउट गरेको भए त्यहाँ उडान पनि हुन्थे, होटेल पनि पाहुनाले खचाखच हुन्थे । एयरपोर्ट नचल्दा त्यहाँको ठूलो लगानी संकटमा परेको छ । दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारको के तयारी छ ? 

हाम्रो बाह्य कनेक्टिभिटी पनि कमजोर छ । युरोप, अमेरिका सीधा सम्पर्क स्थापित गर्न सकेका छैनौँ । युरोप अमेरिकाबाट नेपालमा आउँदा ३–४ ठाउँमा ट्रान्जिट गरेर आउनुपर्छ । त्यो सकसपूर्ण हुन्छ । धनाढ्य पर्यटक त्यो झन्झट लिन चाहाँदैनन् । खर्चालु पर्यटक ल्याउन नसक्नुको कारण पनि कनेक्टिभिटीको अभाव हो । अहिले अधिकांश उडान श्रम गन्तव्य मुलुकमा केन्द्रित देखिन्छ । हामीले मध्यपूर्व, युरोप, अमेरिकासम्म आफ्नो सीधा हवाई सम्पर्क बढाउनुपर्छ । हिजोका दिनमा नेपाल एयरलाइन्सले लन्डन, फ्र्यांकफर्ट, पेरिससम्म उडान गथ्र्यो । ती ठाउँको उडान सुचारु गर्न पहल गर्नुपर्छ । जति धेरै कनेक्टिभिटी बढ्छ, त्यति धेरै पर्यटक आउने हुन् । हाम्रो पहिलो फोकस चीन र भारतर्फ हुनुपर्छ । चीन र भारतका विभिन्न सहरबाट काठमाडौं, भैरहवा र पोखरामा उडान बढाउनुपर्छ । राज्यले मार्केटिङ र ब्रान्डिङमा सहयोग गर्नुपर्छ । निजी क्षेत्रले मात्रै ब्रान्डिङ गर्न सक्दैन । कम्बोडिया, भियतनामजस्ता देशले पर्यटनमा फड्को मार्दा नेपालले किन सक्दैन? 

पर्यटनलाई राष्ट्रिय उद्योग ः सरकारले पर्यटनलाई राष्ट्रिय उद्योग घोषणा गर्नुपर्छ । अन्य उद्योगसरह सेवा सुविधा पर्यटन उद्योगलाई पनि दिनुपर्छ । नेपालको खास उद्योग भनेकै पर्यटन हो । यसमा शतप्रतिशत भ्यालु एड गर्न सकिन्छ । कोभिडपछि अरू उद्योगले जति पनि छुट तथा सुविधा पाए, त्यति पर्यटन क्षेत्रले पाउन सकेन । राज्यले पर्यटन उद्योगलाई पनि माया गर्नुपर्छ । पर्यटनलाई नजिकबाट बुझेको र पर्यटनलाई माया गर्ने मान्छे नेतृत्वमा आउनुपर्छ । र, उसलाई पूरा कार्यकाल निर्बाध काम गर्न दिनुपर्छ ।

अहिले पर्यटनमा पनि वास्तविक डाटाको खडेरी छ । वास्तविक डाटा भयो भने नीति बनाउन र कमजोरी सुधार गर्न सहज हुन्छ । अहिले नेपाल आएका पर्यटकमध्ये धेरै विदेशमा नागरिकता लिएर बसेका नेपाली नै हुन् । नेपाल आउन भिसा लगाएपछि विदेशीमा गणना हुन्छन् । खै तिनको वास्तविक तथ्यांक ? अब हामी यति पर्यटक भित्रिए भन्दै अंक देखाएर मक्ख पर्नुहुँदैन । 
 

ad
ad