मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ चैत ११ शनिबार १०:३९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरको बेलडाँडीमा १५ शय्याको अस्पताल निर्माण हुँदै 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ चैत ११ शनिबार १०:३९:००

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण भईरहेको छ । बेलडाँडी गाउँपालिका २ बेलडाँडी बजार नजिकै अस्पताल निर्माण भईरहेको छ । 

०७७ सालमा सरकारले देशभरीका ३ सय ९६ पालिकामा १५ शय्याका आधारभूत अस्पताल बनाउने योजना अनुरुप बेलडाँडीमा स्थानीय सरकारले अस्पताल निर्माण कार्य चालु आर्थिक बर्ष ०७९/०८० देखि नै शुरु गरेको हो । 

तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीले १७ मंसिर ०७७ मा एकसाथ शिलान्यास गरेका थिए । तर, बेलडाँडीमा तत्तकालिन एमाले नेतृत्वकै स्थानीय सरकारले अस्पताल निर्माण कार्य अघि नबढाएपछि काँग्रेस नेतृत्वको स्थानीय सरकारका पालामा अस्पताल निर्माण कार्य अघि बढेको छ । ०७९ जेठ पहिलो सातादेखि काँग्रेस नेता हरिचन्द्र राना नेतृत्वको स्थानीय सरकारले अस्पताल निर्माण कार्य अघि बढाएको हो ।

राना नेतृत्वको बेलडाँडी स्थानीय सरकार गठन भएको सात महिनापछि अस्पताल निर्माण कार्य अघि बढेको छ । १५ बेडको अस्पताल निर्माणका लागि बङगामुखी बैजनाथ जेभीले ६ मंसिर ०७९मा सम्झौता गरेको छ । 

दुई बर्षभित्रै अस्पताल निर्माण गरिसक्ने गरी निर्माण कम्पनी बङलामुखी बैजनाथ भेजीले पालिकासंग सम्झौता गरेको छ । १६ करोड, ५१ लाख, ६२ हजार, ५७७ रुपैयाँमा आगामी ६ मंसिर ०८१ सम्ममा निर्माण कार्य सक्ने सम्झौता गरेको छ । 

बेलडाँडी गाउँपालिकाका प्रवक्ता गजबहादुर विष्टले सम्झौतापछि पुषदेखि निर्माण कार्य शुरु गरेको बताए । प्रवक्ता विष्टका अनुसार शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टले अस्पतालको शिलान्यास गरे  । 

अस्पताल शिलान्यास गर्दै विष्टले समयमै गुणस्तरिय भवन निर्माण गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । प्रदेश सभा सदस्य विष्टले संविधान अनुरुप स्वास्थ्य अधिकार जनताको मौलिक अधिकार भएकाले भवन निर्माणसंगै अस्पताल संचालनका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।

बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले अस्पताल निर्माण कार्य तिव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिए । गाउँप्रमुख रानाले अस्पताल निर्माणमा पालिकाबाट पुर्ण सहयोग रहने बताए । 

यसअघि बेलडाँडीमा प्राथमिक स्वास्थ्य केन्द्र मार्फत आधारभूत स्वास्थ्य सेवा प्रदान भईरहेको छ । अस्पताल निर्माण भएसंगै बेलडाँडीका स्थानीय जनताले गाउँमै विशेषज्ञ सहितको स्वास्थ्य सेवा पाउने गाउँ प्रमुख रानाको भनाई छ । अस्पताल निर्माण हुन थालेपछि स्थानीय समेत हर्षित भएका छन् ।