
तस्बिरमा भरतपुर– ६, अमरबस्तीका किसान बाबुनन्द यादव बारीमा उत्पादन भएको गाँजर संकलन गरेर बजार पठाउने तयारीमा छन् । अहिले पश्चिम चितवनका किसान गाँजर उखेल्न, पखाल्न र बजार पठाउन व्यस्त रहेको भेटिन्छन् ।
अरू बालीको तुलनामा मिहिनेत र स्याहार धेरै नचाहिने भएकाले किसानको रोजाइमा परेको गाँजरखेती यस क्षेत्रमा निकै फस्टाएको छ । भरतपुरको फूलबारी, गीतानगर, गोपालगञ्जा, श्रीपुर, मंगलपुरलगायतका क्षेत्रमा व्यावसायिक रूपमा गाँजरखेती हुँदै आएको छ । विशेषतः पानी नजम्ने क्षेत्रमा विगतमा धान काटेपछि मसुरो, गहुँ छर्ने चलन भए पनि अहिले सकेसम्म यस्ता जमिनमा किसानले गाँजर लगाउने गरेका छन् ।
काठमाडौं, पोखरा, बुटवलबाट व्यापारी गाडी नै लिएर गाँजर किन्न यहाँ आउँछन् । एक कट्ठामा आठदेखि २० क्विन्टलसम्म किसानले गाँजर उत्पादन गर्छन् । अहिले १२ रुपैयाँ केजीमा यहाँको जाँगर बिक्री भएको छ ।