Skip This
मूलपानी मैदानमा अन्तर्राष्ट्रिय खेल हुँदै
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:४५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मूलपानी मैदानमा अन्तर्राष्ट्रिय खेल हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:४५:oo

मूलानी क्रिकेट मैदानको निर्माणकार्य भइरहेको छ । यहाँ सामान्य किसिमको घरेलु क्रिकेट प्रतियोगिता भने सञ्चालन हुँदै आइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान नभएकाले यसअघि आइसिसी र एसिसीका कुनै पनि खेल मूलपानीमा भएका थिएनन् । तर, १८ मार्चदेखि सुरु हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने भएको छ । एसिसीले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार मूलपानी मैदानमा १० वटा अन्तर्राष्ट्रियस्तरका खेल हुनेछन् । एसिसीका अनुसार घरेलु टोली नेपालले मूलपानीमा एक खेल खेल्नेछ । 

नेपालले आउँदो वर्षको ११ वैशाखमा साउदी अरेबियासँग यस मैदानमा प्रतिस्पर्धा गर्नेछ । एसिसीका अनुसार बाँकी सबै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले मलेसिया र ओमानसँग त्रिवि मैदानमा खेल्ने एसिसीले जनाएको छ । मूलपानी क्रिकेट मैदानको निर्माण राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गरिरहेको छ । राखेपले मूलपानीमा क्रिकेट रंगशाला निर्माणको गुरुयोजना ०६० सालमा गरेको थियो । यद्यपि, राखेपले १९ वर्ष समय लगाउँदा पनि यसलाई पूर्णता दिन सकेको छैन । १३ हजार दर्शक क्षमता भएको मूलपानी मैदानको कार्य केवल ३५ प्रतिशत मात्र सम्पन्न भएको छ ।

परिषद्ले सुनकोसी आर एन्ड सी जेभी कन्स्ट्रक्सनलाई ठेक्का दिएको छ । सुनकोसीले पटक–पटक ठेक्का सम्झौता थप्दा पनि मूलपानी क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन सकेको छैन । पछिल्लो सम्झौता १४ मंसिर ०७७ मा भएको थियो । पछिल्लो सम्झौताअनुसार ठेक्का पाएको कम्पनी सुनकोसीले आउँदो असारसम्म काम पूरा गर्नुपर्छ ।

मैदान र पिच तयार हुँदै
नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले एसिसी प्रिमियर लिगलाई मध्यनजर गरी मैदान तयारी भइरहेको जानकारी दिएका छन् । ‘अहिले हामीले मूलपानी मैदानमा पिच तयार गरिरहेका छौँ,’ पाठकले नयाँ पत्रिकासँग भने, ‘प्रतियोगिताअघि मैदान र पिच तयार हुनेछ ।’  त्रिवि क्रिकेट मैदानमा खासै केही समस्या नभएको उनले बताए । ‘हामीलाई त्रिवि मैदानमा त्यस्तो केही पनि समस्या छैन, त्यहाँ सहजै रूपमा खेल सञ्चालन गर्न सक्छौँ,’ पाठकले भने, ‘हामी मुख्य गरी मूलपानी मैदानलाई बढी केन्द्रित गरी काम गरिरहेका छौँ ।’

विजेताले एसिया कप खेल्ने
एसिसी प्रिमियर कप विजेताले पाकिस्तानमा सेप्टेम्बरमा हुने एसिया कप क्रिकेट प्रतियोगितामा खेल्न अवसर पाउनेछ । प्रिमियर कपको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।