
अर्थतन्त्रमा छाएको चरम मन्दीले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) पनि प्रभावित भएको छ । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा विदेशी लगानी प्रतिबद्धता ३८ प्रतिशतले घटेको छ ।
चालू आवको फागुनसम्म उद्योग विभागमा विदेशी लगानीका एक सय ५९ उद्योग दर्ता भएका छन् । ती उद्योगमा २० अर्ब ५६ करोड लगानीको प्रतिबद्धता गरिएको छ । गत वर्षको साउनदेखि फागुनसम्म विभिन्न देशबाट ३३ अर्ब १३ करोड लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । यस वर्षको फागुनमा मात्रै एक अर्ब ९३ करोड विदेशी लगानी प्रतिबद्धता आएकोमा गत फागुनमा दुई अर्ब दुई करोड विदेशी लगानी प्रतिबद्धता आएको थियो ।
आठ महिनाको अवधिमा विभागले ४३ वटा सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) स्वीकृत गरेको छ । जसमा १० अर्ब ६५ करोड रुपैयाँ विदेशी लगानी गर्ने प्रतिबद्धता गरिएको छ । फागुन महिनामा मात्रै एक अर्ब ५२ करोड विदेशी लगानी प्रतिबद्धता गरिएका आठवटा एसपिए स्वीकृत भएको विभागले जनाएको छ ।
आठ महिनाको अवधिमा दर्ता भएका विदेशी लगानीका उद्योगमध्ये एक सय ३४ साना, २२ मझौला र दुईवटा ठूला रहेका छन् । प्रस्तावित कुल विदशी लगानीमध्ये सेवा क्षेत्रमा ७०.४४ प्रतिशत, पर्यटनमा ६१.३८ प्रतिशत, पूर्वाधारमा ५.३ प्रतिशत, सूचना प्रविधिमा ७.५ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा १६.१० प्रतिशत आउने भएको छ ।