मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत ३ शुक्रबार ०७:५७:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्वकपको ढोका कति कठिन ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत ३ शुक्रबार ०७:५७:००

आइसिसी पुरुष विश्वकप प्रतियोगिता आगामी अक्टोबरदेखि नोभेम्बरसम्म भारतमा आयोजना हुँदै छ । त्यसमा १० राष्ट्र सहभागी हुनेछन् । सात राष्ट्र छनोट भइसकेका छन् । विश्वकपमा सहभागिताका लागि तीनवटा बाटो छन् । पहिलो, सुपर लिग । सुपर लिगमा शीर्ष वरीयताका १३ टिम छन्, जसबाट उत्कृष्ट सात राष्ट्र सीधै विश्वकप प्रतियोगिताका लागि छानिन्छन् ।

पछिल्ला तीन वर्षमा खेलिएका खेलको आधारमा सुपर लिगबाट भारत, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अस्ट्रेलिया, बंगलादेश, पाकिस्तान र अफगानिस्तान छनोट भइसकेका छन् । सुपर लिगको आठौँ स्थानमा रहने राष्ट्र पनि सीधै विश्वकपमा पुग्नेछ । आठौँ राष्ट्रको चयन हुन भने बाँकी छ । सुपर लिगका केही खेल बाँकी रहेकाले श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका र आयरल्यान्ड आठौँ स्थानको प्रतिस्पर्धामा छन् । 

बाँकी दुई राष्ट्र क्वालिफायरबाट विश्वकपमा पुग्नेछन् । क्वालिफायरमा दश राष्ट्र सहभागी हुन्छन् । सुपर लिगमा रहेका १३ मध्ये पुछारमा रहेका पाँच राष्ट्र सीधै विश्वकप क्वालिफायर पुग्छन् । यस्तै, डिभिजन लिग २ मा रहेका सातमध्ये शीर्ष तीन राष्ट्र पनि सीधै क्वालिफायरमा पुग्छन् । बाँकी दुई राष्ट्र प्लेअफबाट छानिन्छन् ।

प्लेअफमा भने १२ एसोसिएट राष्ट्रहरू रहेको च्यालेन्ज लिगको शीर्ष दुई र डिभिजन लिग २ को चौथोदेखि सातौँ स्थानमा रहेका चार गरी ६ राष्ट्रबीच प्रतिस्पर्धा हुन्छ । त्यहाँबाट शीर्ष दुई टोली विश्वकप क्वालिफायर पुग्छन् । यसरी आएका दश राष्ट्रबीच हुने प्रतिस्पर्धामा शीर्ष दुई स्थान प्राप्त टोली विश्वकपमा सहभागी हुन्छन् । 

बिहीबार युएईलाई पराजित गरेपछि डिभिजन लिग २ को तेस्रो स्थानमा रहँदै नेपालले विश्वकप क्वालिफायरमा स्थान सुरक्षित गरेको हो । अहिलेसम्म नेपालसँगै जिम्बावे, नेदरल्यान्ड, स्कटल्यान्ड र ओमानले क्वालिफायरमा स्थान सुरक्षित गरिसकेका छन् । स्कटल्यान्ड र ओमान डिभिजन लिग २ को पहिलो र दोस्रो स्थानमा रहँदै पुगेका हुन् । जिम्बावे र नेदरल्यान्ड भने सुपर लिगको १२औँ र १३औँ स्थानमा रहँदै पुगेका हुन् ।

यही लिगमा रहेका श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका र आयरल्यान्डमध्ये एक सीधै विश्वकपमा पुग्नेछ भने बाँकी तीन राष्ट्र क्वालिफायरमा पुग्नेछन् । विश्वकप क्वालिफायर दुईवटा समूहमा बाँडेर खेलाइन्छ । दुवै समूहका शीर्ष तीन–तीन राष्ट्र सुपर सिक्समा पुग्छन् । सुपर सिक्समध्ये उत्कृष्ट दुई राष्ट्रले विश्वकप खेल्न पाउनेछन् ।

हामीसँग विश्वकप खेल्ने योजना छ  : मोन्टी देसाई, प्रशिक्षक, नेपाल
टोलीमा सबैको एउटै सोचाइ भएको छ । पछिल्लो समय सबै खेलाडीले आफ्नो भूमिका उत्कृष्ट रूपमा निर्वाह गर्दै आएका छन् । त्यसैले हामी बलियो हुँदै आएका छौँ । युएई बलियो टिम हो । त्यति ठूलो लक्ष्य पूरा गरेर खेलाडीले क्षमता प्रदर्शन गरेका छन् । त्यसो त जितका लागि हामी मानसिक रूपमा पहिल्यै तयार थियौँ । खेलाडीमा विश्वास गर्नुपर्ने हुन्छ । हामीसँग विश्वकप खेल्ने योजना छ । त्यसअघि केही छिमेकी देशले सहयोग गरे हामीलाई सहज हुनेछ । 

विश्वकप छनोट खेल्ने सपना पूरा भएको छ  : रोहितकुमार पौडेल, कप्तान, नेपाल
विश्वकप छनोट खेल्ने सपना थियो । आजको जितले त्यो सम्भव भएको छ । यो नतिजा सबै खेलाडीको मिहिनेत हो । सुरुमा हामीलाई एकदिवसीय मान्यता जोगाउने चुनौती थियो । त्यसलाई पूरा गर्‍यौँ, एक दिवसीय मान्यता कायम राख्यौँ । लिग–२ का सबै खेलमा टिमको उत्कृष्ट प्रदर्शन रह्यो । पछिल्ला १२ मध्ये ११ खेलमा जित हात पार्‍यौँ । टिमको विश्वासले यो सम्भव भयो । अब जिम्बावेमा हुने विश्वकप क्वालिफायरमा सहभागी हुन्छौँ, त्यहाँ पनि हामीले राम्रो खेल्नुपर्छ । त्यहाँ टेस्ट मान्यता प्राप्त बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

नेपालको उपलब्धि

  • सन् २०१० विश्व डिभिजन–५ विजेता
  • सन् २०१२ आइसिसी विश्व डिभिजन–४ विजेता
  • सन् २०१२ एसिसी ट्रफी च्याम्पियन 
  • सन् २०१३ आइसिसी विश्व डिभिजन–३ विजेता 
  • सन् २०१३ विश्वकप छनोट (डिभिजन २ बाट) 
  • सन् २०१३ टी–२० विश्वकप छनोट
  • सन् २०१४ टी–२० विश्वकपमा सहभागी
  • सन् २०१४ विश्वकप छनोटमा नवौँ स्थान
  • सन् २०१५ एसिसी टी–२० कपमा सहभागी 
  • सन् २०१८ एकदिवसीय मान्यता प्राप्त
  • सन् २०१८ आइसिसी विश्वकप छनोटमा आठौँ स्थान
  • सन् २०२३ एकदिवसीय मान्यता पुनः प्राप्त
  • सन् २०२३ आइसिसी विश्वकप छनोटमा स्थान