मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ चैत १ बुधबार ०७:३६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दैनिक दुई झोलुंगे पुल बनाउने लक्ष्य, तर दुई दिनमा एउटा निर्माण

Read Time : > 1 मिनेट
२०७९ चैत १ बुधबार ०७:३६:००

सरकारले चालू आर्थिक वर्ष ०७९/८० मा वार्षिक सात सय ३० अर्थात् दैनिक औसत दुइटा नयाँ झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । तर, चालू आवको पुस मसान्तसम्म कार्यान्वयन भने निकै सुस्त देखिएको छ । स्थानीय पूर्वाधार विकासबाट प्राप्त तथ्यांकअनुसार चालू आवको पुस मसान्तसम्म ९२ वटा झोलुंगे पुल निर्माण गरिएको छ । सरकारको लक्ष्यअनुसार अर्धवार्षिक समयमा ५० प्रतिशत अर्थात् तीन सय ६५ वटा झोलुंगे पुल बन्नुपर्ने हो । तर, लक्ष्यको १२.६० प्रतिशत मात्रै झोलुंगे पुल निर्माण भएको विभागले जनाएको छ । 

सरकारले यो वर्ष औसत एक दिनमा दुईवटा झोलुंगे पुल बनाउने लक्ष्य लिएको थियो । तर, दुई दिनमा एउटा मात्रै झोलुंगे बनेको विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार हालसम्म देशभर १० हजार चार सय ५३ वटा झोलुंगे पुल सञ्चालनमा छन् । गत आवमा देशभर पाँच सय ९४ वटा झोलुंगे पुल बनेको थियो । चालू आवमा गत आवको भन्दा बढी झोलुंगे पुल निर्माण गर्न सकिने सरकारको विश्वास थियो । तर, लक्ष्यअनुसार झोलुंगे पुल बन्ने सम्भावना न्यून देखिएको विभागका तुइन तथा झोलुंगे पुल महाशाखाका प्रमुख प्रवेश रेग्मीले बताए । 

‘विभिन्न कारणवश अहिले लक्ष्यअनुसार झोलुंगे पुल निर्माण हुन सकेको छैन । यद्यपि, अहिले लट्ठालगायतका आवश्यक सामग्री खरिद गरिरहेका छौँ । कतिपय पुलको ठेक्का लगाउने काम भइसकेको छ भने कतिपयको तयारी अन्तिम चरणमा पुगेको छ । कतिपय झोलुंगे पुलहरू निर्माणका चरणमा पनि छन्,’ उनले भने, ‘यद्यपि, यो आवमा लक्ष्यअनुसार झोलुंगे पुल निर्माण त हुँदैन होला । तर, असार मसान्तसम्म पुग्दा पाँच सयभन्दा बढी झोलुंगे पुल निर्माण हुन सक्छन् ।’

विभागका अनुसार यो आवमा ५० वटा झोलुंगो पुल निर्माण गर्न नयाँ ठेक्का व्यवस्थापन गरिएको छ । साथै, झोलुंगे पुल निर्माणका लागि आवश्यक लट्ठा तथा बुल डग ग्रिप खरिद गर्ने प्रक्रिया पनि अघि बढाएको छ । तर, नेपालमा कति झोलुंगे पुल चाहिन्छ भन्ने विषयमा अहिलेसम्म खास अध्ययन भइसकेको छैन । हालसम्म स्थानीयको मागअनुसार झोलुंगे पुल बनाइँदै आइएको छ । अहिले त्यसका लागि आवश्यक विवरण संकलन गर्ने काम भइरहेको विभागको भनाइ छ । सम्भवतः त्यसका लागि २५ सयदेखि तीन हजारसम्म नयाँ झोलुंगे पुल आवश्यक पर्ने बताइएको छ । यद्यपि, यसका लागि आवश्यक अध्ययन भइरहेको महाशाखका प्रमुख रेग्मीले बताए । 

विभागका अनुसार थप आठ सयवटा नयाँ झोलुंगे पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । त्यसमा हालसम्म एक सय ६० वटा पुलको निर्माण गर्ने गरी ठेक्का सम्झौता भइसकेको छ । डिपिआर तयार भएका अन्य झोलुंगे पुल निर्माणका लागि ठेक्का लगाउने तयारी भइरहेको विभागको भनाइ छ ।