
जुम्लाको तिला गाउँपालिका– ७ स्थित पोखरी गाउँलाई उज्यालो गाउँ घोषणा गरिएको छ । तीन करोडभन्दा बढीको लागतमा सौर्य ऊर्जाबाट विद्युत् विस्तार भएसँगै पोखरी गाउँलाई शनिबार उज्यालो गाउँ घोषणा गरिएको हो ।
कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले रिबन काटेर जनयुद्धकालीन माओवादी हेडक्वार्टरलाई उज्यालो गाउँ घोषणा गरेका हुन् ।
स्थानीय सरकारको समन्वय र पूर्वकानुनमन्त्री भण्डारीको पहलमा ५० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान भएको हो । बिजुलीले गाउँ झिलिमिली बनेपछि स्थानीयवासी हर्षित छन् । गाउँपालिकाको ३० लाखसहित तीन करोड एक लाख ८८ हजार रुपैयाँमा सौर्य ऊर्जा जडान गरिएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए ।
विद्युत् सेवा नहुँदा यहाँका स्थानीय सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य थिए । अब बिजुली आएपछि सबै खुसी भएका पोखरी सौर्य ऊर्जा उपझोक्ता समितिका सचिव गोविन्द रोकायाले बताए । पोखरी र गोठी गरी एक सय २० घरधुरीमा बिजुली बालिएको छ ।