
गण्डकी प्रदेशका प्रदेश प्रमुखले प्रदेश सभाको चालू अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य गरेका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालू अधिवेशन १८ फागुनको राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।
यसअघि बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बैठकलाई सम्बोधन गरेका थिए । प्रदेश प्रमुखको सम्बोधनपछि सभामुख कृष्णप्रसाद धितालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।
४ मंसिरमा सम्पन्न प्रदेश सभाको निर्वाचनपछि निर्वाचित प्रदेश सभा सदस्यहरूले १४ पुसमा आफ्नो पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसपछि १८ पुसमा प्रदेश सभाको अधिवेशन सुरु भएसँगै पहिलो बैठक बसेको थियो ।
ठीक दुई महिना चलेको अधिवेशनमा १७ बैठक बसेका थिए भने विभिन्न चारवटा विधेयक र दुई अध्यादेश पारित भएका प्रदेश सभा सचिवालयका सूचना अधिकरी प्रेम सुवेदीले जानकारी दिए ।