मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण १७ बुधबार ०८:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता आजदेखि लागू हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण १७ बुधबार ०८:४३:००

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता लागू हुने बताए । निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारलाई बोलाएर आचारसंहिताबारे जानकारी दिँदै छ । 

आचारसंहितामा मतदानको ४८ घन्टाअघिदेखि सभा, जुलुस, नाराबाजीलगायत प्रचारप्रसार गर्न नपाउने व्यवस्था छ । साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल तथा अन्य कुनै साधन प्रयोग गर्न नपाउने पनि उल्लेख छ । बाजा, सार्वजनिक भोज, हुलहुज्जत गर्न नपाइने, मादक पदार्थ निषेध र हातहतियार लिएर हिँड्न नपाइने व्यवस्था गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान केन्द्र तोकेको छ । केन्द्रको लोत्से हलमा केन्द्र तोकेर मतदान गर्ने तय भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । सुरुमा संसद्को क्यान्टिनको हलमा गर्ने भनिए पनि संसद् सचिवालयको परामर्शमै लोत्से हलमा राख्ने तय भएको हो । 

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यक्रमअनुसार मंगलबार १०–४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय थियो । शनिबार मनोनयन दर्ता गराएका रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले निर्धारित समयमा उम्मेदवारी फिर्ता नलिएपछि २५ फागुनमा दुवैबीच प्रतिस्पर्धा हुने भएको हो ।

अहिलेको समीकरण हेर्दा आठदलीय गठबन्धनका उम्मेदवार पौडेलको जित सुनिश्चित छ । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले तोकिएको समयभित्र कुनै पनि उम्मेदवारले नाम फिर्ता नलिएको जानकारी दिँदै पौडेल र नेम्वाङको नाम समेटेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिइन् ।