मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण १४ आइतबार ०६:५९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

केन्द्रको नयाँ समीकरणले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई राहत

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण १४ आइतबार ०६:५९:००

केन्द्रीय राजनीतिमा फेरिएको समीकरणले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई राहत मिल्ने देखिएको छ । मुख्यमन्त्री नियुक्त भएको दुई साता बित्दा पनि उनले विश्वासको मत पाउने आधार तयार भइसकेको थिएन । तर, राष्ट्रपति निर्वाचनले केन्द्रमा समीकरण बदलिएसँगै मुख्यमन्त्री शाहले विश्वासको मत पाउने करिब निश्चितजस्तै देखिएको छ ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलको नेताको हैसियतले शाह गत २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा ३ को व्यवस्थाअनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । तर, यसअघिको समीकरणअनुसार शाहले विश्वासको मत पाउने आधार नदेखिएपछि उनी केन्द्रको समीकरण फेरबदलको पर्खाइमा थिए ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यकता पर्छ । सत्तापक्षमा कांग्रेसका १९, एकीकृत समाजवादीका चार र एकजना स्वतन्त्र गरी २४ जनाको मात्र समर्थन थियो । यसअघि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका कैदीबन्दीलाई सरकारले रिहा नगरेसम्म विश्वासको मत नदिने अडान लिँदै आएको छ । नागरिक उन्मुक्तिले मत नदिँदा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए । गत २६ माघमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने बैठकमै नागरिक उन्मुक्तिका सांसद उपस्थित भएनन् ।

यसअघिको समीकरणअनुसार सत्तापक्षमा २४ तथा प्रतिपक्षमा माओवादी र एमालेका १०–१० तथा राप्रपाका एक गरी २१ सदस्य थिए । सात सिट रहेको नागरिक उन्मुक्तिले माग पूरा नभएसम्म सरकार गठनको प्रक्रियामै सामेल नहुने अडान लिँदै आएको छ । मुख्यमन्त्री नियुक्त भएपछि शाहले काठमाडौंको डिल्लीबजार कारागार पुगेर नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशम चौधरीलाई दुईपटक भेटिसकेका छन्, तर नागरिक उन्मुक्तिबाट सकारात्मक जवाफ नपाएपछि उनी माओवादीलाई मनाउने प्रयासमा जुटेका थिए । माओवादीले पनि समर्थन नदिने स्पष्ट पारेपछि उनी विश्वासको मत लिन राष्ट्रपतिको निर्वाचनमा हुने समीकरण कुरिरहेका थिए । अहिलेको समीकरणअनुसार भने मुख्यमन्त्रीलाई बहुमत जुटाउन सहज देखिएको छ । माओवादी र कांग्रेसमात्र मिल्दा पनि बहुमत पुग्छ ।

कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य मेघराज खड्काले केन्द्रमा समीकरण फेरबदल भएसँगै मुख्यमन्त्रीले विश्वासको मत पाउने निश्चित भएको बताए । ‘केन्द्रमा राष्ट्रपतिको चुनावमा समीकरण फेरबदल भएर विश्वासको मत पाउनेमा आशावादी थियौँ,’ खड्काले भने, ‘समीकरण फेरिएपछि अब विश्वासको मत पाउनेमा ढुक्क छौँ ।’ शाहले २५ फागुनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । 

माओवादी संसदीय दलका नेता खगराज भट्टले प्रदेशको विषयमा केन्द्रले नै निर्णय गर्ने बताए । ‘सबै प्रदेश र संघीय सरकारको विषयमा केन्द्रमै गठबन्धनमा निर्णय होला,’ उनले भने, ‘नेतृत्वले माथि जे निर्णय गर्छ, हामीले यहाँ त्यही लागू गर्छौँ ।’