
धादिङको बेनीघाट रोराङ गाउँपालिका– ५ स्थित बेनीघाट स्वास्थ्य चौकीको नयाँ भवन शिलान्यास भएको दुई वर्ष बित्यो । न अस्पताल बन्यो न शिलान्यास गरेको ठाउँको पहिचान रह्यो । अस्पताल बन्नुपर्ने जग्गा पार्किङस्थल बनेको छ ।एकातिर अस्पताल कहिले बन्ने अन्याेल छ भने अर्काेतिर शिलान्यास गरिएको ठाउँ चिन्नै मुस्किल छ ।
देशैभरका सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले १५ मंसिर ०७७ मा भर्चुअल माध्यमबाट शिलान्यास गरेको थियो । शिलान्यासपछि पालिकाहरूमा जनप्रतिनिधि फेरिए, केन्द्र र प्रदेशमा सरकार फेरिए । तर, शिलान्यास गरिएको अस्पतालको निर्माणकार्यले गति लिन सकेको छैन । दुई वर्षभन्दा लामो समय बितिसक्दा पनि बेनीघाट स्वास्थ्य चौकीको भवन निर्माणकार्य शिलान्यासमै सीमित बनेको छ ।
जग्गा अभावले भवन निर्माणको काम रोकिएको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया बताउँछन् । शिलान्यास गरिएको ठाउँ भिरालो भएकाले अस्पतालका लागि योग्य नभएको प्राविधिकको ठहर छ । ‘शिलान्यास भयो, तर काम अगाडि बढाउन मापदण्डविपरीत हुन जान्छ,’ थपलियाले भने । योग्य जमिन र तयारी अभावजस्ता कारणले अस्पतालको भवन निर्माण कार्यले पूर्णता पाउन नसकेको उनको भनाइ छ ।
सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले एकैसाथ अस्पतालको शिलान्यास गरिए पनि धादिङमा अहिले कामको प्रगति भने शून्यजस्तै छ । शिलान्यास गरिएका अधिकांश स्वास्थ्य संस्थाका भवन निर्माण शिलान्यासमै सीमित छन् । थोरै मात्र निर्माणाधीन अवस्थामा छन् ।
जिल्लाकै त्रिपुरासुन्दरी गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणाधीन चरणमा छ । फाउन्डेसनका कार्यहरू भइरहेको स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले बताए । १५ शय्याको अस्पताल १८ करोड लागतमा निर्माण गर्न लागिएको हो । ‘लामो समय जग्गा विवादको कारण स्वास्थ्य केन्द्रको भवन निर्माण हुन सकेन । व्यक्तिगत जग्गा परेको र पछिल्लो समय जग्गा किनेर भवन निर्माणको काम द्रुत गतिमा अघि बढेको छ,’ श्रेष्ठले भने ।
ज्वालामुखी गाउँपालिका– २ सातदोबाटोमा शिलान्यास गरिएको अस्पताल पनि निर्माणाधीन अवस्थामा छ । १५ शय्याको उक्त अस्पताल भवनको जग निर्माणकार्य भइरहेको छ । टेन्डर र जग्गाकै कारण अस्पताल निर्माण कार्यमा ढिलाइ भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठको भनाइ छ ।
उनले भने, ‘त्यतिखेर फिलिङ गरेको ठाउँमा तत्काल जग हाल्ने कुरा भएन । फेरि जग्गा पनि पुगेन, किन्नुपर्याे । सबै चिजको व्यवस्थापन गर्दा ढिलाइ भयो । भवन त मापदण्डअनुरूप नै बनाउनुपर्याे ।’ यद्यपि, तोकिएको समय आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न भने नहुने उनले बताए ।