... अनि म मरेको खबर आयो

२०७५ पौष १० मंगलबार ०६:००:०० | काठमाडौं

म धरानमा जन्मेको हुँ, मेरो बाल्यकाल धनकुटामा बित्यो । त्यसलगत्तै मलाई पढाउन कालेम्पोङ पठाइयो । कालेम्पोङमा चार कक्षासम्म पढेपछि धरान आएर धरान पब्लिक हाइस्कुल पढ्न थालेँ । र, यहीँबाट २०२३ सालमा एसएलसी पास गरेँ । यसपछि म विराटनगर गएर पढ्न थालेँ । 

म १२ वर्षको हुँदा बुवा बित्नुभएको हो । त्योभन्दा अगाडि उहाँको रुचि संगितमा नै थियो । उहाँ सबैकिसिमका बाजा बजाउनुहुन्थ्यो । यही माहौलकै लागि धरानमा उहाँले एउटा घर बनाउनु भएको थियो । आठ दश वटा ढोका भएको । त्यहाँ मजुरा नचाउने र भारतबाट मान्छे ल्याएर कवाली गाउने गर्नु हुन्थ्यो । त्यतिबेला म सानै थिएँ । केहीकेही त्यसकै पनि मलाई छाप परेको होला । घरीघरी बुवाले यो काम नसिक्नु है भन्नुहुन्थ्यो ।

कान, मनमतिष्कमा त्यहीबाटै पस्यो भन्न सक्दिनँ । त्यसको पनि केही अंश पस्यो होला । सुरुमा म पाश्र्व गायिका रुपमा गीत गाउने गर्थेँ । किनभने, धरानमा त्यो बेला छोरीमान्छेलाई गएर स्टेजमा गीत गाउन दिन हिच्किचाउथँे । अनि मैले केटीको गीत गाउने गर्थेँ । 

मेरो गायकीलाई तिखार्न धरानको वातावरणले पनि मद्धत ग-यो । पहिले म स्कूलमा गाउथेँ । सांस्कृतिक संस्थानको छेउमै घर भएपछि राम्रै गिताङ्गे भएँ । त्यसबेला सत्यनारायण पूजा सकेपछि गीत गाउने ठाउँ राम्रै प्लेटर्फ थियो । पूजासकेपछि हामी रातभर जाग्राम बसेर गीत गाउँथ्यौं । पछि त्यही सांस्कृतिक संस्थानबाटै मैले हार्मोनियम बजाउन सिकेँ । त्यहीँ गाउन सिकेँ । त्यही सांस्कृतिक संस्थानबाटै भिमनिधि तिवारीले लेख्नु भएको ‘शिलन्यास’ नामको नाटक लिएर काठमाडौं आएको थियौं । त्यतिबेला सोझै काठमाडौं आउन पाउँदैनथ्यौं ।  हामी विराटनगरबाट जोगमनी गएर रेलमा समस्तिपुर हुँदै रक्सौल गएका थियौं र त्यहाँबाट वीरगञ्ज हुँदै काठमाडौं आएका थियौं । तीनदिन लाग्थ्यो । 

यसैबेला, २०२५ पुष १ गते, राजा महेन्द्रको अगाडि मैले त्यो गीत गाएको थिएँः म पत्थरको देउता होइन । विजय श्रेष्ठले लेख्नुभएको गीत । संगीत चाहिँ मैले आफैं गरीटोपलेको थिएँ । राम्रै भएछ । त्यसबेला हरेक गीत रेडियोमा  गाइसकेपछि बज्ने पालो आउन डेढदुई महिना लाग्थ्यो । म गीत गाएर धरान आइसकेको थिएँ । त्यसबेला सबैको घरमा रेडियो थिएन । त्यसबेला मेरो एकजना साथी रामानन्दको घरमा रेडियो थियो । उसले भन्यो, ‘तँ त हिरो भइस् ।’

मैले सोधेँ, ‘के हिरो भएँ ?’

‘तेरो गीत त बजेको बज्यै छ नि रेडियो नेपालमा,’ उसले भन्यो । आफूले एकपटक पनि सुन्न पाएको होइन ।

एकपटक मेरो गीत बज्न सुरु भएपछि रेडियो बोकेर कुद्दैकुद्दै मेरोमा आयो । त्यतिबेला मैले अन्तिमको अन्तरा सुन्न पाएँ। रामचन्द्र बनेपाली दाइ, राधा उदास, चन्द्रशेखर श्रेष्ठहरु मेरा गुरु हुन् । उहाँहरुले यसो गर भन्नुभएन तर बाजा बजाउन मलाई दिनुभयो । यो बाजा धरानमा अन्त कहिँ उपलब्ध थिएन । त्यस्तै, धरानमा एकजना महेन्द्रसर हुनुहुन्थ्यो । यस्तै रामचन्द्र श्रेष्ठ लगायतका गुरुहरु हुनुहुन्थ्यो ।

त्यसबेला दार्जिलिङमा एउटा ग्रुप थियो । म जुन गीतहरु कम्पोज गर्थेँ, वा गाउँथे, त्यो दार्जिलिङमा जान्थ्यो । त्यो समूहमा अगमसिंह गिरीका भाइ माधव गिरी, अर्जुन, मणिकमल, प्रकाश गुरुङ लगायत । जुन गीत म तयारी गर्थेँ, त्यो पहिले उहाँहरुलाई सुनाउँथे । उहाँहरुले जुनजुन अप्रुभ गर्नुहुन्थ्यो, त्यो काठमाडौंमा आएर गाउँथे । यसप्रकार उहाँहरु पनि मेरो गुरु नै हुनुहुन्छ । 

त्यहाँ मणिकमल क्षेत्रीले एउटा ‘संगीत विचारक’ भन्ने पुस्तक दिनुभयो । त्यो पुस्तकलाई म साँच्चिकै गुरु मान्छु । स्वरको गुरु भन्नुहुन्छ भने लता मंगेशकर हुनुहुन्छ । मेरो फिमेल भ्वाइस भएकाले म उहाँलाई औधी सुन्थेँ । 

रेडियो नेपालको विशिष्ट श्रेणीमा पुगेपछि सिधै चौथो वर्षको परीक्षा दिन पाइन्थ्यो । मैले चौथोँ वर्ष तयारी गरेँ, त्यसैबेला रेडियो नेपालमा मेरो बढुवा भयो । त्यसपछि सिधै मैले अल्लाहवाद विश्वविद्यालयमा सिधै छैटौं वर्षको परीक्षा दिएँ । त्यो परीक्षा पास गरेँ । यसले मेरो गायनमा धेरै परिवर्तन गर्‍यो । त्यहाँ मैले गिटार पनि सिकेँ । 

गीत गाउन थालेपछि नारायण गोपाल, गोपाल योञ्जन, बच्चु कैलासहरुको संगतको महशुस गर्न थालेँ । तर, मैले उहाँहरुको कपि गरिनँ । मैले दीप नै भएर गाउने प्रयास गरेँ । 
मैले अरु धेरै संगीतकारसँग काम गरेँ । तर, कसैसँग मैले कम्फर्टेबल फिल गरिनँ । अरु संगीतकारसँग काम गर्नु अगाडि नै मैले आफैं मेरा धेरै गीतमा कम्पोज गरिसकेको थिएँ । मलाई अम्बर गरुङ दाइको संगीतमा गीत गाउन भयो । कहाँ सास फेर्ने भन्ने नै फेला नपर्ने । उहाँको संगीतमा पहिलो गीत अरुणा लामासँग गाएको थिएँ । अरुणा दिदी दार्जिलिङबाटै आएको भएर पनि हुनसक्छ, उहाँ ठ्याकठ्याक गाउनुहुन्थ्यो । तर, मलाई गाह्रो हुन्थ्यो । अनि के चाहिँ पुगेन भनेर अध्ययन गरेपछि बल्ल सास फेर्ने ठाउँ फेला पारेँ । गोपाल योञ्जन दाइको स्टाइल त झन्डैझन्डै मैले कपी पनि गरेको हुँ । उहाँले अल्लारेपन जस्तो गरी गाउने गीत मैले कपी गर्न सकिनँ । साह्रै रमाइलो गरी गाउनु हुन्थ्यो, उहाँ । त्यति साह्रो गहिरिएर बुझेर गीत गाउने मान्छे चाहिँ मैले अहिलेसम्म भेटेको छैन । गोपाल दाइले गीत यसरी सिकाउनु हुन्थ्यो कि नारायण दाइ पनि धेरै बेरसम्म गुन्गुनाउनु हुन्नथ्यो । धेरैबेर सुनिसकेपछि मात्रै गुन्गुनाउनुहुन्थ्यो । गोपाल दाइले हार्मोनियम बजाउने बित्तिकै अर्कै रमाइलो हुन्थ्यो । 

नारायण दाइकोमा पनि यस्तै रमाइलो हुन्थ्यो । उहाँको एउटै मात्र बानी नराम्रो, रक्सी खाएपछि मात्रै गाउने । अरुबेला गाउँदै नगाउने । गाउने इच्छै नगर्ने । गाउनलाई खानै पर्ने । यसको अर्को नलागोस् । 

मैले सोचअनुसार,मेरो प्रयास अनुसार, नेपाली संगीतमा मेरो आफ्नै घराना सुरु गरौं कि भन्ने थियो । दाजुहरुको गीत सुनेँ, तर दाजुहरुले उहाँहरुसँग प¥याप्त मात्रमा गीत गाउन पनि दिनुभएन । मेरो दुखेसो छ अझै पनि । धेरै ढोका ढक्ढक्याएँ । धेरै जुत्ता खियाएँ । अनि नसकेपछि म धरान गएर आफ्नै कम्पोजिसनमा गीत गाउन थालेँ । त्यसपछि नै पत्थरका देउतादेखि कति कम्जोर रहेछ भाग्य जस्ता गीत जन्मिए । 

दुःखको गीत गाउन कुनै कारण नै पर्दैन । जसलाई सोध्नुस्, सबै मान्छे दुखी नै छन् । एकछिन हाँसेर मात्र के हुन्छ, सबै दुःखी छन् । हाँस्नु भनेको शरीर राम्रो हुन्छ । तर, वास्तवमा हरेक घरको हरेक मान्छे दुःखी छ । जबसम्म दुख पुरै अभिव्यक्त हुँदैन, तबसम्म मानिसले सुख अनुभूत गर्न सक्दैन । 

संसारको इतिहासमा पहिले त दुःखकै गीत त थिए । भारतमा पनि त पहिले रक गीत सुनिँदैन थियो । दुःखकै गीत त थियो नि । भारतको संगीत र संगीतकारको प्रस्तुति एकैचोटी सिनेमामा भयो । यसले उनीहरुलाई एकदमै राम्रो टेवा दियो । हामीले जति गीत सुन्यौं, सिक्यौं, सबै सिनेमाका गीत थिए । ती गीतहरु त्यति नै बेला छायांकन भइसकेका थिए । हामीले धेरै वर्षसम्म यो केही गर्न पाएनौं । हामी खाली गीत मात्र गाएर हिड्यौं । हाम्रो हरेक गीतले मानिसको मन छुने बनाउन धेरै गाह्रो थियो । 

रेडियो नेपाल मात्रै हुँदा धेरै सजिलो थियो । तर जब नेपालभरि हजारौँ एफएम रेडियो खुले, तब मानिसको टेस्टअनुसारका गीतहरु आउन थाले । हुँदाहुँदा ‘टिमीलाई ट के भनौं’ भन्ने खालका उच्चारण वा डिक्सनहरु पनि आउन थाले । मान्छे यसमा यति धेरै रमाए, यति धेरै झुमे । हाम्रो समयका गीतहरु ओझेलमा पर्न थाले । जुन गीतलाई हामी आफ्नो गीत भन्छौं, त्यो त ओझेलमा पर्‍यो । 

जति कुरा गर्‍यो दुखको कुरामात्रै छ । राजा विरेन्द्र राजा घोषणा भएपछि पूर्वको पहिलो शिविर धनकुटामा राखिएको थियो । त्यतिबेला मलाई क्षयरोगले च्यापेको रहेछ । मलाई थाहा थिएन । त्यसबेला धरानबाट धनकुटा गएका सबैले राजालाई मेरो उपचारको लागि निवेदन गर्नुभयो । तर, राजा, राजाको स्वकीय सचिव, सचिव कसैले सुनेन । त्यहाँ गायक इन्द्रनारायण पनि जानुभएको रहेछ । उहाँले दीप श्रेष्ठलाई बोलाउनु पर्छ भन्नुभएछ । मलाई लिन धरान मान्छे पठाउनुभयो । मैले म बिरामी छु, हिड्न सक्दिनँ भनेँ । उनीहरुले घोडामा लैजान्छौं भने । म घोडामा चढ्न भनेपछि लाजले भुतुक्क हुन्थेँ । सबैले भनेपछि म गएँ । 

त्यहाँ जाँदा त भ्वाइस टेस्ट रे फेरि । भ्वाइस टेस्ट कसले गर्ने त भनेर सोधेँ । इन्द्रनारायणजीले हतार हतार भन्नुभयो, ‘ए दीपजी, तपाईंको होइन होइन, भ्वाइसटेस्ट पर्दैन । हामी सुन्न आउँछौं ।’ 

म अलि अप्ठ्यारो टाइपको मान्छे थिएँ । मैले सोधेँ, ‘मेरो गीत किन सुन्ने ?यहाँ कस्तो गीत गाउन हुन्छ, कस्तो संगीत गाउन हुन्छ, इन्द्रनाराण जी ?’

उहाँले जिब्रो टोक्नुभयो र रचना हेर्ने भन्नुभयो । उहाँले रचना लिएर जानुभयो । मेरो भ्वाइसटेस्ट पर्‍यो । 

त्यसबेला दुई तीन जना बहिनीहरुलाई सिकाएर ‘भन्थिन् मेरी उनी मेरो पाइला नटेकीदिनु’ भन्ने गीत गाएको थिएँ । शिवशंकर थापाले यो गीत रचना गर्नुभएको थियो । त्यसपछि राजाले धरानमा मान्छे पठाएर उपचारका लागि काठमाडौं आउनु भन्ने खबर पठाएँ । त्यसपछि म काठमाडौं गएँ । त्यहाँ मेरो उपचार सुरु भयो । 

त्यहाँ जति औषधी खाँदै गएँ, त्यति मेरो बिरामी बढ्दै गयो । ठीक नभएपछि म धरान फर्किएँ । धरान आएपछि मेरो धेरै नै ब्लिडिङ सुरु भयो । ब्रिटिस आर्मीको धरान क्याम्पमा हामी कहिलेकाहीँ जाने गथ्र्यौं । त्यहाँको एकजना एडमिन अफिसरले मलाई उपचारका लागि बोलाउनु भयो । बेलायती दुतावासमा पनि केही दाइहरु हुनुहुन्थ्यो । उहाँहरुले पनि भनिदिनुभयो । अनि ब्रिटिस मिलटरी हस्पिटल धरानमा मेरो खास उपचार भयो । त्यति नै बेला म बितेको समाचार पनि आएको थियो । 

क्षयरोगका बिरामीले स्पुटम टेस्ट गर्नुपर्ने रहेछ । तर, यस्तो टेस्ट नेपालमा कहीँ पनि नहुने रहेछ । डाक्टरहरुले अनुमानको भरमा दबाइ दिँदा रहेछन् । म त झन्झन् बिरामी हुन थालेँ । करिब दुई हप्ता मेरो दबाइ रोकियो र लन्डनमा परिक्षण भएर मेरो रिपोर्ट आइपुग्यो । अनि मात्रै यो दबाइ लाग्छ भन्ने थाहा भयो । अनि म जाति हुन थालेँ । 

त्यतिबेला मसहित १६ जना क्षयरोगका बिरामी थियौं । दुई दिन तीन दिन बिराउँदै सबै जना बित्न थाले । किन यस्तो भयो भनेर मलाई पीर पर्‍यो । अनि त्यहाँ यताउता खोज्न थालेँ । त्यहाँ एउटा दबाइ फेला पारेँ । अनि यो दबाइ के हो भनेर सोधेँ । 

मलाई तिमीले कहाँ भेट्यौ भनेर सोधे । मैले फलानो बिरामीको वार्डमा भेटेँ भनेँ । त्यसपछि त्यहाँ मान्छे किन त्यसरी मर्न थाले भन्ने थाहा भयो । 

त्यो दबाइ बिक्रि हुँदो रहेछ, पचाससाठी रुपैंयामा । दिनमा चारवटा दबाइ खानुपर्ने, अरु बिरामी त एउटा खाने र तिनवटा बिक्रि गर्ने गर्दारहेछन् । त्यसैले औषधी नपुगेर बिरामीको मृत्यु हुँदो रहेछ । मैले यो कुरा एडमिन अफिसरलाई भन्दिएँ । 

यसपछि मलाई क्षयरोग उपचारसम्बन्धि एम्बासेडर बनाइयो । 

(पोखरामा भइरहेको साहित्य महोत्वसमा गायक श्रेष्ठ र पत्रकार बसन्त थापाबीच भएको कुराकानीको सम्पादित पाठ ।)

प्रतिकृया दिनुहोस