Skip This
च्छोरोल्पा अस्पतालको १७औँ वार्षिकाेत्सव, दोलखामै पहिलोपटक इन्डोस्कोपी सेवा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ५ शुक्रबार
  • Tuesday, 13 May, 2025
२o७९ फाल्गुण ५ शुक्रबार १४:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

च्छोरोल्पा अस्पतालको १७औँ वार्षिकाेत्सव, दोलखामै पहिलोपटक इन्डोस्कोपी सेवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ५ शुक्रबार १४:२२:oo

सय शय्याको दोलखाकै सबैभन्दा ठूलो च्छोरोल्पा जनरल अस्पतालले आफ्नो स्थापनाको १७औँ वार्षिकाेत्सव मनाउँदै थप व्यवस्थित र सुविधासम्पन्न अस्पताल बनाउने तयारी गरेको छ। 

दोलखा सदरमुकाम चरिकोटमा सञ्चालित यो अस्पतालले १७ वर्ष पूरा गर्दैगर्दा जिल्लाकै ठूलो मात्रै नभएर सुविधासम्पन्न बनाई उपचारका लागि राजधानी जानुपर्ने बाध्यताको अन्त्य गर्ने गरी तयारी सुरु गरेको हो। 

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत सहुलियत शुल्कमा उपचार गर्ने, विपन्न असक्त, असहायहरूका लागि निःशुल्क तथा विशेष छुटमा उपचार सेवालगायत आगामी दिनमा विशेषज्ञ सेवा विस्तार गरी घरघरमै पुगेर उपचार सेवा प्रवाह गर्ने तयारी अस्पतालको छ। 

भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले एक भव्य समारोहबीच अस्पतालको १७औँ वार्षिकाेत्सवको उद्घाटन गर्दै च्छोरोल्पा निजी क्षेत्रको जिल्लाकै सबैभन्दा ठूलो अस्पताल रहेको बताए।

उनले न्यून आर्थिक अवस्था भएका बिरामीको पहिचान गरी उनीहरूको उपचारमा थप सहुलियतको व्यवस्था गर्न आग्रहसमेत गरेका छन्।

उनले आर्थिक अभावकै कारण दोलखावासीले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य हुनुपर्ने र यसका लागि स्वास्थ्य क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए ।

अस्पतालका सञ्चालक पृथ्वी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका गतिविधि तथा उपलब्ध सेवाबारे जानकारी गराइएको थियो। 

केही समयअघि मात्रै सेवामा जोडिएका अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विनोद दंगालले गुणस्तरीय सेवा प्रवाहका लागि अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गरी जिल्लामा सबैखाले उपचार दिने अस्पतालको रूपमा स्थापित गर्न प्रयासरत रहेको बताएका छन्।

वार्षिकाेत्सवको अवरमा अस्पताललाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने विभिन्न संघसंस्थालाई सम्मानसमेत गरिएको छ।

कार्यक्रममा भीमेश्वर नगरपालिकाको नगर प्रमुख ईश्वरनारायण मानन्धर, दोलखाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठलगायत सहभागी थिए। 

दोलखामै पहिलोपटक इन्डोस्कोपी सेवा

च्छोरोल्पा जनरल अस्पताल प्रालि चरिकोटले जिल्लामै पहिलोपटक अत्याधुनिक मेसिनबाट इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा दिन सुरु गरेको छ। 
अस्पतालकी प्रशासन प्रमुख शर्मिला बुढाथोकीका अनुसार आफ्नो १७औँ वार्षिकाेत्सवको अवसरमा शल्यक्रियासहित इन्डोस्कोपी शिविर आयोजना गरी सेवा सुरु गरेको र यसलाई निरन्तरता दिइनेछ। 

शिविरमा एमसिएच,जिआई सर्जन डाक्टर रोनी दाहालबाट २६ जनाको इन्डोस्कोपी र एकजनाको कोलोनोस्कोपी सेवा दिएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिए। 

दोलखा जिल्लामै न्यून शुल्कमा इन्डोस्कोपी, कोलोनोस्कोपी सेवाले आमसेवाग्राहीलाई सहज हुने अस्पतालले जनाएको छ। शिविरमा एमसिएच, जिआई सर्जन डाक्टर रोनी दाहाल, जनरल सर्जन डाक्टर अर्चना केसी, एनेस्थियोलोजिस्ट डाक्टर तुलसीराम श्रेष्ठ, हिमाल श्रेष्ठ, इन्डोस्कोपी इक्युपमेन्ट सप्लायर्स अनिल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। 

कर्मचारी सम्मानित

च्छोरोल्पा जनरल अस्पतालमा स्थापना कालदेखि कार्यरत रही उत्कृष्ट काम गर्ने प्रशासन प्रमुखसहित नाैजना सम्मानित भएका छन्। 

विभिन्न विभागमा कार्यरत कर्मचारीको कार्यसम्पादन मूल्यांकनको आधारमा सम्मानित हुनेमा पूर्वकर्मचारी डाक्टर सन्तोषकुमार यादव, रेडियोलोजी विभागका रेडियोग्राफर जीवन दुवाल, रिसेप्सनिस्ट करिश्मा लामा, ल्याब असिस्टेन्ट सुनिता तामाङ, अनमी रविना चौलागाईं, अहेव अनिता थापा, हेल्थ एड विभागका प्रमुख वीरबहादुर थापा, कर्मचारी पम्फा थापा र जितबहादुर दाहाल छन्। 

उत्कृष्ट काम गर्ने र संस्थामा लामो समयसम्म योगदान दिएका कर्मचारीलाई सम्मान गर्दा कर्मचारीको मनोबल बढ्नुका साथै काम गर्न थप प्ररेणा मिल्ने अस्पताल सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले बताए।