१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नवीन के‍सी अर्घाखाँची
२o८१ बैशाख २४ सोमबार o९:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मालारानी गाउँपालिकामा दीर्घरोगीहरूलाई नि:शुल्क औषधि वितरण सुरु

Read Time : > 1 मिनेट
नवीन के‍सी, अर्घाखाँची
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:४२:oo

पालिकाभित्र रहेका सुगर, प्रेसर र छारे रोगका बिरामीहरूलाई नाैवटै वडामा रहेका स्वास्थ्य संस्थामार्फत नि:शुल्क औषधि वितरण कार्य सुरु

अर्घाखाँचीको मालारानी गाउँपालिकाले दीर्घरोगीहरूका लागि नि:शुल्क औषधि वितरण कार्य सुरुवात गरेको छ । स्थानीय तहको निर्वाचनको समयमा पालिका अध्यक्ष दलबहादुर भट्टराईले पदवहाली गर्दा घोषणा गरेको कार्यक्रम अहिले कार्यान्वयनमा आएको हाे । अध्यक्ष भट्टराईले पदवहाली गर्दा पालिकाभित्रका दीर्घरोगीलाई नि:शुल्क औषधाेपचार गरिने घोषणा गरेका थिए । 

पालिकाभित्र रहेका सुगर, प्रेसर र छारे रोगका बिरामीहरूलाई नाैवटै वडामा रहेका स्वास्थ्य संस्थामार्फत नि:शुल्क औषधि वितरणको कार्य सुरु गरिएको पालिका अध्यक्ष दलबहादुर भट्टराईले जानकारी दिए । 

अध्यक्ष भट्टराईले भने, ‘पछिल्लो समय दीर्घरोगका बिरामीहरू बढ्दै गएका छन् । आर्थिक अवस्था कमजोर भएर बिरामीले औषधि किन्न समस्या नहोस् भन्ने हिसाबले पद बहाली हुँदा यो निर्णय भएको थियो । यो निर्वाचित भएपछिको पहिलो निर्णय हो । अहिले कार्यान्वयनसमेत भयो । संघ र प्रदेशको निर्वाचनलगायत विभिन्न प्रक्रियाका कारण केही ढिलो भयो । अब यो कार्यक्रम निरन्तर जान्छ ।’

दीर्घरोगीको संख्या एक हजार तीन सय  ६० 
पालिकाभित्र अहिले सुगर, प्रेसर र छारे रोगका दीर्घरोगीहरूको संख्या एक हजार तीन सय ६० रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख भविश्वर खनालले जानकारी दिए । 

उनले भने, ‘हामीले महिला स्वास्थ्य स्वयंसेविकामार्फत पालिकाभित्रका प्रत्येक घरधुरी सर्वेक्षण गरेका छाैँ । पालिकाभित्र नियमित रूपमा सुगर, प्रेसर र छारे रोगको औषधि सेवन गर्नेको संख्या एक हजार तीन सय  ६०  भएको पाएका छाैँ । उहाँहरूले प्रयोग गर्नुभएको औषधिको कम्पोजिसनका आधारमा औषधि खरिद गरी वितरणका लागि वडाका स्वास्थ्य संस्थामा पठाएको छौँ ।’ प्रत्येक महिनाको १० र २५ गते नाैवटै वडाका स्वास्थ्य संस्थाबाट दीर्घरोगीहरूका लागि औषधि वितरण गर्ने गरी पालिकाले व्यवस्था मिलाएको छ । 

नि:शुल्क औषधि पाउँदा बिरामी खुसी

पालिकाले प्रेसरको औषधि नि:शुल्क रूपमा दिन्छ भन्ने सुनेर मालारानी– ३ को खनदह स्वास्थ्य चौकीमा पुगेकी ५५ वर्षीया माया चौहानले आफूले खाइरहेको औषधि नि:शुल्क पाएपछि खुसी लागेको बताइन् । 

उनले भनिन्, ‘प्रेसरको औषधि लिन सन्धिखर्क जानुपर्थ्यो, अहिले त गाउँकै स्वास्थ्य चौकीमा नि:शुल्क पाइयो । पालिकाको यो कार्य मलाई अत्यन्तै खुसी लागेको छ ।’ चौहानजस्तै पालिकाभित्र रहेका सबै दीर्घरोगीको मुहारमा यति वेला खुसी छाएको छ । 

चिकित्सकसहितको घुम्ती सेवा

दीर्घरोगीहरूलाई नि:शुल्क औषधि वितरणसँगै पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूमा डाक्टरसहितको टिमले नि:शुल्क स्वास्थ्य परीक्षणसमेत गर्ने गरेको छ । पालिकाले चिकित्सक, स्टाफ नर्स र ल्याब टेक्निसियनलाई करारमा नियुक्ति गरी उक्त सेवालाई निरन्तरता दिएको छ । पालिकावासीहरूलाई स्वास्थ्य समस्या नहोस् भनेर घुम्ती शिविरसमेत सञ्चालन गरिएको पालिका उपाध्यक्ष दीपा पोखरेलले बताइन् । 

उनले भनिन्, ‘पालिकावासीलाई सहज तरिकाले स्वास्थ्य सेवा दिन सकियोस् भनेर स्वास्थ्यकर्मीको टोलीसहित नियमित रूपमा घुम्ती सेवाको रूपमा बिरामीको चेकजाँच गर्ने र औषधि वितरण गर्ने गरेका छौँ ।’ 

पालिकाले ग्रामीण अल्ट्रा साउन्ड कार्यक्रम कार्यान्वय गरी घुम्ती सेवाको रूपमा सुनौला हजार दिनका आमाहरूको गर्भ परीक्षणको कार्यसमेत गर्दै आएको छ । स्वास्थ्य चौकीमा कार्यरत अनमिलाई तालिम दिएर गर्भवती आमा र बच्चाको अवस्थाबारे जानकारी दिने उद्देश्यले उक्त सेवाको सुरुवात गरिएको पालिकाका प्रवक्ता तथा मालारानी– ५ का अध्यक्ष तिलक मिश्रले बताए ।  

उनले भने, ‘गर्भवती आमाहरूलाई भिडियो एक्स–रे गर्न सदरमुकाम धाउनुपर्ने बाध्यतालाई कम गर्न स्वास्थ्य संस्थामै जाँच गराउने व्यवस्था मिलाएका छाैँ । पालिकावासीलाई सहज स्वास्थ्य सेवा पुर्‍याउन हामी निरन्तर प्रतिबद्ध छौँ ।’ 

ad
ad